भगवान् बुद्धले निर्वाण प्राप्त गुरु खोजको क्रममा जतिजति तत्कालीन भारतवर्षको आध्यात्मिक जगतलाई सूक्ष्मतमरूपले नियाल्दै जानुभयो त्यतित्यति उहाँको दृष्टिमा आध्यात्मिक जगतका कटु दृश्य उद्भासित हुँदै आए । प्रजवित जीवन ग्रहण गर्नुपूर्व यस आध्यात्मिक जगत जति सुन्दर, आध्यात्मिक र आकर्षक देखिन्थ्यो, यथार्थमा त्यहाँ त्यस्तो सुन्दरता, आकर्षण, आध्यात्मिकता केही देखिएन । सांसारिक वृत्तिलाई नाश गरी निर्वाणको पवित्र लक्ष्य प्राप्त गर्न सम्प्रदाय वा आश्रममा साधनारत गुरु र साधकहरूका पनि सांसारिक वृत्ति नाश भएको थिएन । एउटै सम्प्रदाय वा आश्रमका सदस्यहरू पनि एक सुन्दर परिवारझैँ प्रेम, सौहार्दता, सहयोग, मेलमिलाप, शान्तिका भावले ओतप्रोत भएर बस्न सकिरहेका थिएनन् ।
प्रत्येक सम्प्रदाय वा आश्रममा शिष्यहरू र गुरुहरूमाझ स्पष्ट सांसारिक वृत्ति उपस्थित थियो । परिव्राजकको जीवन ग्रहण गरेर पनि यी गुरु वा साधक खुसी, हाँसो, आनन्द आदिले ओतपोत आध्यात्मिक किरणले दिप्त, स्वतन्त्र, उन्मुक्त जीवन बाँच्न सकिरहेका थिएनन् । आश्रममा हाँसो, खुसी, आनन्द आदिको नामोनिसान थिएन । उल्टै गुरु र शिष्यहरूबीच बेमेल, वैमनष्यता, अस्वस्थ प्रतिस्पर्धा, आन्तरिक अशान्ति प्रष्ट देखिन्थ्यो । यस्तो आवरणीय आध्यात्मिक संसारमा फैलिरहेका सांसारिक वृत्तिहरूका माझमा ‘म’ आध्यात्मिक हुँ । ‘म’ गुरु हुँ । ‘म’ साधक हुँ । ‘म’ जान्ने हुँ भन्ने जस्ता अहङ्कारका बोझ थपिएर आध्यात्मिक परिवेशलाई झन्झन् बोझिलो बनाइरहेको थियो । प्रतिदिन सम्पन्न गरिने कर्मकाण्डीय साधनाहरू, बाह्य वस्त्र आभूषणहरू, आन्तरिक रूपान्तरण गर्न असमर्थ व्यर्थ ज्ञानका चर्चाहरूले सांसारिक वृत्तिलाई नै गहिराइमा पुगेर पोषण गरिरहेका थिए । अध्यात्मको नाममा बोझिलो सांसारिक परिवेश सम्पूर्ण सम्प्रदाय वा आश्रममा उपस्थित थियो । सबैभन्दा बढी डरलाग्दो पक्ष त के थियो भने यी सम्पूर्ण भ्रमलाई देख्ने अन्तरदृष्टि गुमाइसकेका यी गुरु र साधकहरू यिनै अनेक आध्यात्मिक भ्रमलाई नै सत्य मानेर बाँचिरहेका थिए ।
कैयौँ वर्ष (जन्म) देखि भगवान्को सत्य खोजको यात्रा एक विद्रोहको यात्रा थियो । जब भगवान्को जागरुक दृष्टिमा कुनै विषय असत प्रतीत हुन्थ्यो उहाँले त्यसलाई तत्काल छोडिदिनुहुन्थ्यो । यही क्रममा भगवान्ले सत्य खोजको मार्गमा आजसम्म देखा परेका अनेक गुरु, मिथ्या मोक्ष निर्वाण विद्या र साधनाविधिलाई त्याग गर्दै आइरहनुभएको थियो । भगवान्ले सत्य खोजको यही मर्मअनुरूप एकपछि अर्को गर्दै विभिन्न आश्रम, गुरु आदिलाई त्याग गर्दै सत्य गुरु खोजको यात्रालाई निरन्तरता दिइरहनुभयो तर लामो समय बितिसक्दा पनि उहाँले मोक्ष प्राप्त गुरु, मोक्ष प्रदान गर्ने विद्या प्राप्त गर्न सक्नुभएन । निर्वाण प्राप्त गुरु खोजको यस क्रममा भगवान् गुरु आलार कालमको आश्रममा आइपुग्नुभयो ।



