अविद्याको अर्थ हो जीवनसत्तामा उत्पन्न हुने दुःखद, सुखद संवेदनालाई भोग गर्दा धम्मको नियमले केकस्तो परिणाम दिन्छ भन्ने ज्ञान नभएका कारण यी संवेदनाप्रति रागपूर्ण वा द्वेषपूर्ण अन्ध प्रतिक्रिया गर्नु वा संवेदनाको भोग गर्नु नै अज्ञान हो । अविद्या हो ‘म’ भाव वा स्वयंलाई देह मान्नु । अविद्या वा संवेदनाको भोेग खासगरी ‘म’ ‘म देह हुँ’ भन्ने भावबाट नै जन्मन्छ । त्यसैले स्वयंलाई ‘म’ मानेर संवेदनाहरू भोग्नु नै अविद्या हो । जव अविद्याका कारण मानिसमा संवेदनाप्रति राग वा द्वेषपूर्ण प्रतिक्रिया उत्पन्न हुन्छ यसैको प्रतिक्रियाका कारण चित्तमा संस्कारहरूको जन्म हुन्छ ।
जब चित्तमा यसरी विषय (संवेदना) प्रति राग, द्वेषरूपी संस्कार उत्पन्न हुन्छ तब प्रतित्यसमुत्पादको नियमले यस संस्कार (फल वा परिणाम) लाई बीज (कारण) मा परिवर्तन गरिदिन्छ । यसैको परिणाम स्वरूप नयाँ फल उत्पन्न हुनपुग्छ ।
संस्कारका कारण विज्ञान अर्थात् संस्कार बीजका कारण विज्ञानरूप फल
बुद्धको समयको भाषामा विज्ञानको अर्थ हुन्थ्यो चित्तको आधार वा आहार । चित्तमा सङ्ग्रहित संस्कार नै चित्तको आहार हो । चित्तको प्रकृति नै यस्तो छ कि ऊ कुनै न कुनै आधारलाई ग्रहण गरेर मात्र प्रवाहित हुन सक्छ । उदाहरणका लागि मानौँ यस क्षणमा क्रोध उत्पन्न भयो । चित्त क्रोधलाई ग्रहण गरेर अगाडि बढ्छ । मानौँ अर्को क्षण मोह उत्पन्न भयो । चित्त मोहलाई ग्रहण गरेर प्रवाहित हुन्छ । कुनै न कुनै आधार (संस्कार) लाई ग्रहण नगरी चित्त प्रवाहित हुन सक्दैन । यसरी सतत बगिरहने चित्तको यस प्रकृतिलाई चित्तधारा भनिन्छ । चित्तधारा नै जीवनधारा हो ।
यही चित्तधाराका कारण मानिसको जीवन एक जन्मबाट अर्को जन्ममा प्रवाहित हुन्छ । अनि मानिसले बारम्बार पुनर्जन्म प्राप्त गरिरहन्छ । जब संस्कार बन्छ तब यस संस्कारले चित्तलाई अगाडि बढ्ने आधार प्रदान गर्छ । यसरी संस्कार (बीज) का कारण विज्ञानरूपी (फल वा परिणाम) प्राप्त हुन्छ ।
अब प्रतित्यसमुत्पादको नियमले यस विज्ञानरूप (फल) लाई बीज वा कारणमा परिवर्तन गर्छ र नयाँ परिणाम प्रदान गर्छ ।
विज्ञानका कारण नामरूप (चित्त र शरीर)
मानिसको मृत्यु हुँदा पनि चित्त र चित्तमा जमेर रहेका संस्कार नष्ट हुँदैनन् । मृत्युपश्चात् चित्तमा सङ्ग्रह भएर रहेका यिनै संस्कारबाट उत्पन्न हुने विज्ञान (आहार वा आधार) लाई लिएर चित्त प्रवाहित हुन थाल्छ र यही चित्तले मृत्युपश्चात् प्राप्त गरेको विज्ञान वा आहारका कारण मानिसले पुनर्जन्म प्राप्त गर्छ । नयाँ देहसत्ता प्राप्त गर्छ । देहसत्ता नाम (देह) र रूप (चित्त) को संयोजनबाट निर्मित हुने हुनाले विज्ञान (बीज) का कारण नामरूप (फल) प्राप्त हुन्छ ।
अब प्रतित्यसमुत्पादको नियमले यो नामरूप (फल) लाई बीजमा परिवर्तन गरिदिन्छ, जसको परिणाम स्वरूप छ इन्द्रिय (फल) उत्पन्न हुन्छन् ।
नाम र रूपको कारण छ आयतन वा ६ इन्द्रिय
जब नाम (चित्त) रूप (शरीर) को संयोजनबाट निर्मित देहसत्ता प्राप्त हुन्छ त्यसमा सृष्टिको नियमअनुसार नाक, कान, आँखा, छाला, जिब्रो र मन गरी ६ (फल) इन्द्रिय उत्पन्न हुन्छन् । यसरी रूप र नामका कारण ६ वटा इन्द्रिय उत्पन्न हुन्छन् वा प्राप्त हुन्छन् ।
अब प्रतित्यसमुत्पादको नियमले यी ६ इन्द्रियलाई बीज वा कारणमा परिवर्तन गरिदिन्छ । फलतः स्पर्शरूप फल वा परिणाम प्राप्त हुन पुग्छ ।
६ इन्द्रियको कारण स्पर्श
जब ६ वटा इन्द्रिय उपस्थित भएको देह प्राप्त हुन्छ तब यी इन्द्रियसँग प्रत्यक्ष सम्बन्ध भएका गन्ध, शब्द, दृष्य, स्वाद, स्पर्श, धर्म (मनले धारण गर्ने विचार, विषय आदि) जस्ता असङ्ख्य विषय उपस्थित हुन्छन् । यस्तो स्थितिमा इन्द्रिय र विषयहरूका मिलन (स्पर्श) उत्पन्न हुन पुग्छ । यसरी इन्द्रियहरू (बीज) का कारण विषय स्पर्शरूपी (फल) प्राप्त हुन्छ ।
अब प्रतित्यसमुत्पादको नियमले स्पर्श (फल) लाई कारण वा बीजमा परिणत गरिदिन्छ र पुनः एक नयाँ फल संवेदना उत्पन्न हुन पुग्छ ।
स्पर्शका कारण वेदना वा संवेदना अर्थात् स्पर्शरूप बीजका कारण संवेदनारूप फल
जब ६ इन्द्रिय र तिनका विषयहरूका बीचमा मिलन हुन्छ वा स्पर्श हुन्छ तब मानिसको चित्तमा छिपेका ती विषयप्रतिको संस्कारअनुरूप चित्तमा रागपूर्ण वा द्वेषपूर्ण स्वतः प्रतिक्रिया घटित हुन पुग्छ र परिणाम स्वरूप मानिसको चित्त र देहको क्षेत्रमा वेदना वा संवेदनाहरू उत्पन्न हुन्छन् । यी संवेदना मूलतः दुखद वा सुखद प्रकृतिका हुन्छन् । यसरी स्पर्श बीजका कारण सुखद र दुखद संवेदना रूप फल उत्पन्न हुन्छ । प्रतित्यसमुत्पादको नियमले यस संवेदनारूपी फललाई बीजमा परिवर्तन गरी यस चक्रलाई निरन्तरता दिराख्छ र यसैका कारण अर्को रूप वा फल उत्पन्न हुन्छ ।
वेदनाका कारण तृष्णा अर्थात् संवेदनारूप बीजका कारण तृष्णारूप फल
जब विषय र इन्द्रियहरूको मिलन (बीज) बाट जीवनसत्तामा सुखद वा दुखद संवेदना (फल) उत्पन्न हुन्छ तब अविद्याका कारण मानिस सुखद संवेदनाहरूप्रति रागपूर्ण र दुःखद संवेदनाहरूप्रति द्वेषपूर्ण प्रतिक्रिया गर्न थाल्छ, जसका कारण संवेदनाहरूको भोग इच्छा (तृष्णा) रूप फल उत्पन्न हुन्छ । स्मरणरहोस् गहिराइमा द्वेषपूर्ण प्रतिक्रिया पनि तृष्णा नै हो । अनि यही तृष्णा (फल) लाई प्रतित्यसमुत्पादको नियमले पुनः बीजमा परिवर्तन गरी अर्को फल प्रदान गर्छ ।
तृष्णाका कारण आशक्ति अर्थात् तृष्णा बीजका कारण आशक्तिरूप फल
जब मानिसको मनमा दुःखद, सुखद संवेदनाहरूप्रति तृष्णा जाग्छ तब मनमा उत्पन्न सुखद संवेदनामा खुशी हुन थाल्छ, रमाउन थाल्छ र ऊ बढीभन्दा बढी यी सुखद संवेदना प्राप्त गर्न विषयप्रति आकर्षित हुनपुग्छ, अनेक विचारहरू, प्रयासहरू, कर्महरू गर्न प्रारम्भ गर्छ । यी क्षणमा जेजस्ता बीज प्राप्त हुन्छन् त्यसैलाई विस्तार गर्ने धम्मको नियमले यस तृष्णा (बीज) लाई आशक्ति (फल) मा परिणत गरिदिन्छ । दुःखद संवेदनाहरूमा पनि धम्मको यही नियम लागु हुन्छ । जब दुःखद संवेदना मनमा उत्पन्न हुन्छन् तब मानिस यी संवेदनाबाट दुःखी, व्याकुल हुन्छ । जस्तो बीज प्राप्त भएको हुन्छ त्यही बीजलाई विस्तार गर्ने धम्मका नियमले यस दुःख, व्याकुलता आदिलाई झन्झन् विस्तार गरिदिन्छ ।
फलस्वरूप मानिस त्यस विषय वा (संवेदना) प्राप्त नहोस् भनेर अनेक विचारहरू, प्रयासहरू गर्न थाल्छ, जुन पछि गएर आशक्तिमा परिणत हुन पुग्छ । यसरी विषय तृष्णा (बीज) का कारण विषय आशक्ति (फल) उत्पन्न हुन्छ । अब यस विषय आशक्तिरूपी परिणामलाई प्रतित्यसमुत्पादको नियमले कारण (बीज) मा परिणत गरी अर्को परिणाम प्रदान गर्छ ।
आशक्तिका कारण भव अर्थात् आशक्तिबीजका कारण भवरूप फल
जब विषयबाट उत्पन्न सुखद वा दुखद संवेदनाप्रतिको तृष्णा आशक्तिमा परिणत हुन पुग्छ यस्तो क्षणमा मानिस झन्झन् ती विषयप्रति विचार, चिन्तन आदि गर्न थाल्छ । ती विषय प्राप्त गर्न वा नगर्न अनेक कर्म वा प्रयास गर्दछ, जसको कारण झन् धेरै भन्दा धेरै संस्कार उत्पन्न हुन पुग्छ । यिनै संस्कार नै वा संस्कारले नै मृत्युपश्चात् चित्तको प्रवाहलाई आधार वा आहार प्रदान गर्छन् । यसैका कारण भव (नयाँ शरीर उत्पन्न हुने प्रक्रिया) प्रारम्भ हुन्छ । यसरी संस्कारका कारण भव उत्पन्न हुन पुग्छ । अनि प्रतित्यसमुत्पादको नियमले त्यही भवरूपी फललाई पुनः कारण वा बीजमा परिणत गरी अर्को परिणाम प्रदान गर्छ ।
भवका कारण जन्म अर्थात् भव बीजका कारण अर्को जन्मरूपी फल
जब भव (बीज) का कारण नयाँ शरीर (फल) उत्पन्न हुने प्रक्रिया प्रारम्भ हुन्छ तब मृत्युपश्चात् कुनै संस्कारलाई ग्रहण गरेर प्रवाहित भइरहेको चित्तधारा कुनै गर्भमा प्रवेश गर्न पुग्छ, कुनै शरीरसँग जोडिन पुग्छ, जसको कारण मनुष्यले पुनर्जन्म प्राप्त गर्छ अर्थात् नयाँ शरीर प्राप्त गर्छ ।
जन्मका कारण वृद्धावस्था, मृत्यु, शोक, चिन्ता, दुःख
जब जन्म हुन्छ, जब मानिसले जन्मपश्चात् नयाँ शरीर प्राप्त गर्छ तब प्रतित्यसमुत्पादको नियमले पुनः यस कारण–परिणाम–कारण–परिणामको चक्रलाई निरन्तरता दिराख्छ ।
परिणामस्वरूप मनुष्यको जीवनमा वृद्धावस्था, मृत्यु, शोक, दुःख, चित्त विकार, चित्तखेदको चक्र चलिरहन्छ । जबसम्म सत्य मोक्ष साधनाद्वारा निर्वाण प्राप्त भई संस्कार चित्त वा संवेदनालाई भोग्ने स्वभाव पूर्णरूपमा नष्ट हुँदैन, जबसम्म चित्तधारा पूर्णरूपमा शुद्ध हुँदैन तबसम्म प्रतित्यसमुत्पाद नियमका कारण यस्तो भयानक चक्र वा श्रृङ्खला समाप्त हुन सक्दैन । परिणामस्वरूप मनुष्य अविरलरूपमा दुःखचक्र, भवचक्र, लोकचक्रमा घुमिरहन्छ ।