ईश्वर समभावमा स्थित छ (५–१९, ९–२१), यो समभाव वा समत्व नै योग हो । (२–४८), यो ‘योग’ ईश्वरको शरण विन्दू हो । जब कोहि साधना सांख्ययोग, कर्मयोग वा अन्य साधना विधिद्वारा जब योग स्थितिमा रहन्छन् । जब उ सांसारिक विषयहरुको राग द्वेषलाई त्यागेर स्वयंको अन्तर प्रदेशमा उपस्थित प्रभू तत्वसँग एकीभाव स्थित रहन्छ । त्यो साधना प्रकृया नै ईश्वर शरण बन्दछ । किनकि जब साधक समभाव वा ईश्वर शरणमा रहन्छ, यो स्थितिलाई ईश्वरीय नियमहरुले विस्तारित गरिदिदा नै मोक्ष प्राप्त हुन्छ । ईश्वर शरणको वाह्य रुपमा गरिने भावमय प्रार्थना होइन । यो ‘शरण’ रुपी साधना विधि वा प्रक्रियाको व्याख्या गर्दै भगवान भन्नुहुन्छ ।
योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ।।२–४८।।
हे धनन्जय ! तिमी (फल) आशक्तिलाई त्यागेर तथा सिद्धि असिद्धिमा ‘सम’ बुुद्धि योगमा स्थित रहेर कर्म गर । समत्व (समस्थिति) लाई नै योग भनिन्छ ।
दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय ।
बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः ।।२–४९।।
बुद्धियोग (कर्मसिद्धि असिद्धिमा सम) भन्दा सकामकर्म अत्यन्त तुच्छ छ । यसैले हे धनन्जय ! तिमी बुद्धि योगको आश्रय ग्रहण गर । किनभने (कर्म) फलको वासना गर्ने अत्यन्त हीन हुुन्छ ।
बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् ।।२–५०।।
समबुद्धियुक्त पुरुष पुण्य तथा पाप (त्रिगुणी विकार) दुबैलाई यहि लोकमा त्यागिदिन्छ । अर्थात (त्रिगुणी विकार) मुक्त हुन्छ । यसैले तिमी समत्व बुद्धि योगका लागी नै चेष्टा गर । यो समत्वरुप योग नै कर्ममा कुशलता हो । अर्थात् कर्मबन्धनबाट छुट्ने उपाय हो ।
कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः ।
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ।।२–५१।।
किनभने समबुद्धि युक्त ज्ञानीजन कर्मबाट उत्पन्न हुने (कर्म) फल (वा त्रिगुणी संस्कारहरु) लाई त्यागेर जन्मरुप बन्धनबाट मुक्त भएर निर्विकार परम पदलाई प्राप्त गर्दछन् ।
ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति ।
भ्रामयन्सर्वभूतानि यन्त्रारूढानि मायया ।।१८–६१।।
(किनभने) हे अर्जुन ! ईश्वर सम्पूर्ण प्राणीहरुको हृदयमा निवास गर्दछ, (र) आफ्नो मायाले शरिररुपी यन्त्रमा स्थित वा आरुढ सम्पूर्ण प्राणीहरुलाई उसको गुण, स्वभाव अनुसार भ्रमण गराउँदछ । वा कर्म गराउँदछ ।
तमेव शरणं गच्छ सर्वभावेन भारत ।
तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्स्यसि शाश्वतम् ।।१८–६२।।
यसैले हे भारत ! तिमी सम्पूर्ण भावले त्यस परमेश्वरको शरणमा जाऊ । त्यस परमात्माको कृपाबाट तिमी परम शान्ति तथा परम शाश्वत धामलाई प्राप्त गर्नेछौ ।