(गुरुका उत्तरहरू माथि शिष्यका जिज्ञाशाहरू उठिरहेका छन् ।)
मिथ्यात्वेन निषिद्धेषु कोशेष्वेतेषु पञ्चसु ।
सर्वाभावं विना किञ्चिन्न पश्याम्यत्र हे गुरो ।
विज्ञेयं किमु वस्त्वस्ति स्वात्मनात्र विपश्चिता ।।२१४।।
हे गुरु ! मिथ्यारूप यी पाँचकोशलाई निराकरण गरेपछि शून्यता अतीरिक्त म यहाँ केही देख्दिन । (यस्तो अवस्थामा) विचार कुशल पुरुषले कुन वस्तुलाई आफ्नो आत्माको रूपमा जान्नु पर्दछ ? ।।२१४।।
पाँच कोशहरूमध्ये चारकोश (अन्नमय, प्राणमय, मनोमय, बुद्धिमय) लाई आत्मा होइन, भनेर निषेध गरिसकेपछि अन्तिममा जब गुरु शेष रहेको “आनन्दमय कोश” लाई त्यो पनि आत्मा होइन भनेर निषेध गर्नुभयो । आत्माको स्वरूप आनन्द हो भनेर बुझिरहेको अवस्थामा गुरुको यो वाक्यले शिष्यमा नयाँ जिज्ञासाको सिर्जना गर्दछ । स्वभावतः अब कुनै वस्तु केही शेष रहेको नदेखिएकोले शिष्यको मनमा माथिको प्रश्न उठेको छ ।
आत्मा भन्ने तङ्खव सुन्दा सहज झैं सुनिए पनि, बुझिए पनि यथार्थ रूपमा यसको ज्ञान प्राप्त गर्न,बुझ्न कठिन भएकोले विविध जिज्ञासाहरू, प्रश्नहरू अत्यन्त स्वाभाविक छन् । आत्मा साक्षात्कार नभएसम्म साधकमा आत्मा सम्बन्धी विविध प्रश्नहरू उठी रहन्छन् ।