निर्वाण प्राप्त गुरु खोजको यात्रामा सत्य वा मोक्ष प्राप्त गुरु प्राप्त गर्न असमर्थ रहेपनि भगवान्ले तत्कालीन भारत वर्षको आध्यात्मिक जगतलाई नजिकबाट अवलोकन, अध्ययन र चिन्तन गर्ने मौका प्राप्त गर्नुभयो । यस यात्राका क्रममा भगवान्ले के स्पष्ट देख्नुभयो भने यस संसारमा उहाँ मात्र निर्वाणको खोजीमा प्रजवित जीवन ग्रहण गर्ने साधक हुनुहुन्नथ्यो । अपितु असङ्ख्य अन्य साधक पनि थिए, जो भगवान्झैँ निर्वाण प्यासी थिए, भगवान् झैँ निर्वाण प्राप्तिका लागि परिवार, गृहस्थी, श्रीमती त्याग गरी प्रजवित जीवन ग्रहण गरेका थिए, जसले विभिन्न गुरुहरूको शिष्यत्व ग्रहण गरी अनेक गुरुहरूको आश्रममा स्थायी रूपमा रहेर निर्वाण प्राप्तिहेतु साधनाका अनेक क्रिया गरिरहेका थिए ।
यस्ता अनेक आध्यात्मिक समूह वा सम्प्रदायमा विभक्त साधकले पृथक–पृथक साधनाविधि, जीवनपद्धति र बाह्य आवरणलाई ग्रहण गरेका थिए । केही सम्प्रदायका साधकहरूले कपाल खौरिएका थिए । केही सम्प्रदायका साधकहरूले भुईँसम्म छुने गरी कपाल पालिरहेका थिए । केही साधक अनवरत मन्त्र उच्चारण गरिरहन्थे, केही साधक मौनी थिए । केही साधक विभिन्न किसिमका वस्त्र आभूषण धारण गर्थे, केही साधक नग्न थिए । केही साधक अल्पहारी, शाकाहारी थिए, केही साधक मासु, मादक पदार्थ पनि सेवन गर्थे । केही साधक अनेक प्रकारका ध्यान साधनामा समाहित थिए भने केही साधक देहपीडक तपस्यामा संलग्न देखिन्थे ।
अनेक जन्मदेखिको साधनाका कारण विस्तार हुँदै आएको जागरुकताका कारण भगवान् तीक्ष्ण दृष्टियुक्त पुरुष हुनुहुन्थ्यो । यही तीक्ष्ण दृष्टिका कारण उहाँ कुनै पनि विषय वा वस्तुमा छिपेको सत वा असत पक्षलाई सहजै बोध गर्न सक्नुहुन्थ्यो । आफ्ना यही तीक्ष्ण दृष्टिले जगतका विषयहरूमा छिपेको असत पक्ष बोध गरेका कारण भगवान्ले दरबारलाई पनि त्यागी दिनुभएको थियो । जब भगवान्ले यी अनेक प्रकारका बाह्य आध्यात्मिकतामाथि दृष्टि दिनुहुन्थ्यो उहाँको दृष्टिले यस आवरणीय आध्यात्मिकतामा छिपेको मिथ्या पक्षलाई सहजै भेदन गथ्र्याे । मूलतः निर्वाण प्राप्त गर्न असमर्थ, गुरुत्वको भोगमा लिप्त, सत्य मोक्ष साधना विधिसँग अनभिज्ञ गुरुहरूले सिर्जना गरेका अनेक सम्प्रदायहरू र आफ्ना सम्प्रदायलाई अन्य सम्प्रदायबाट पृथक देखाउन सिर्जना गरेका अनेक बाह्य आभूषण र कर्मकाण्डीय साधनाविधिका कारण सत्य निर्वाणाभिलाषी साधकहरू पनि अनेक अनर्थपूर्ण साधनामा फसिरहेका छन् भन्ने तथ्य भगवान्को दृष्टिमा सहजै बोध हुनपुग्थ्यो । जब भगवान् सत्य मोक्ष विद्या लुप्त भएकै कारण जन्मिएका आध्यात्मिक जगतका यी अनर्थपूर्ण बाह्य आध्यात्मिक दृश्यलाई देख्नुहुन्थ्यो त्यस क्षणमा उहाँलाई निर्वाण प्राप्तिमा सत्य गुरु वा सत्य साधनाविधिको महत्व झन् गहन बोध हुन्थ्यो ।
सत्गुरु खोजको यात्रा क्रममा भगवान्ले कैँयौँ सम्प्रदायमा बसेर तिनका साधना विधिलाई पनि अवलोकन, अध्ययन, अनुसन्धान गर्ने अवसरप्राप्त गर्नुभयो । यी सम्प्रदायका गुरु र साधकहरूले निर्वाणको पक्षमा प्राप्त गरेका आध्यात्मिक उपलब्धिलाई समीपबाट अवलोकन गर्ने अवसर पनि प्राप्त गर्नुभयो । अवस्था यति आश्चर्यपूर्ण थियो कि निर्वाण खोजको प्रजवित जीवन ग्रहण गरेका गुरुहरू, साधकहरू, साधना (मूलतः ध्यान साधना) बाट प्राप्त क्षणभङ्गुर शान्ति, आनन्द आदि बाहेक निर्वाणको पक्षमा कुनै यथार्थ आन्तरिक रूपान्तरण प्राप्त गर्न असमर्थ थिए । निर्वाण अनुभूति क्षणभङ्गुर वा विनाशी हुन सक्दैन भन्ने साधारण तथ्यसँग पनि अपरिचित यी गुरु र साधकहरू ध्यान साधनाकाकालमा जन्मने क्षणिक, खुसी, आनन्द आदि अनुभूतिलाई नै निर्वाण अनुभूतिको रूपमा बुझेर रमाइरहेका थिए । ध्यान साधनामा एकाग्रताको कारण जन्म हुने क्षणभङ्गुर आनन्द, शान्ति आदि अनुभूति बाहेक यी गुरु र साधकहरू मोक्षको पक्षमा कुनै गहन आन्तरिक आध्यात्मिक रूपान्तरण प्राप्त गर्न असमर्थ थिए ।
साधनाका यी साधारण उपलब्धिलाई बिर्सने हो भने यी गुरु र साधकहरूमा स्वयंका धर्म, गुरु, दर्शन, सम्प्रदाय आदिप्रति तीव्र राग, एकोहोरो पक्षपोषण, अन्धभक्तपूर्ण दृष्टि, अनुभूति विहीन ज्ञानका व्यर्थ चर्चा आदि मात्र शेष थियो । कैँयौँ गुरु र साधकहरू आध्यात्मिक जडपन र अन्य सम्प्रदायप्रति आलोचनात्मक वा निषेधात्मक दृष्टिबाट पनि ग्रसित देखिन्थे । आध्यात्मिकताको संसारभित्र पनि सर्वत्र राग र द्वेषकै साम्राज्य थियो । जो साधक गृहस्थी जीवनको राग द्वेषबाट मुक्त हुन परिव्राजक जीवन ग्रहण गरी आध्यात्मिक जगतमा प्रवेश गरेका थिए ती साधक पनि आध्यात्मिक जगतको सुन्दर आवरणमा उत्पन्न हुने धर्म, गुरु, सम्प्रदाय आदिका रागरूपी सूक्ष्म डोरीमा बाँधिएका थिए । भगवान्को जागरुक दृष्टिमा निर्वाणको संसारका यी कटु दृश्य छिप्न सकिरहेका थिएनन् । घर, गृहस्थी, परिवार त्याग गरी निर्वाणको महान् लक्ष्य प्राप्तिको यात्रामा प्रवेश गरेका साधकहरू अध्यात्मका विषयबाट बन्धन प्राप्त गरी निर्वाण लक्ष्यबाट टाढा हुँदै गइरहेको दृष्य पनि भगवान्को दृष्टिमा छिप्न सकिरहेको थिएनन् ।