जब तँपाई अझै गहिरिएर आनापानसतिलाई अवलोकन गर्नुहुन्छ तब देख्नुहुनेछ कि प्रज्ञापक्ष (संवेदनाका उदय र व्ययका बोध) अनुपस्थित रहे पनि श्वासप्रश्वासमाथि गरिने यो ध्यान साधना स्वयंमा एक गहन साधना हो । आनापानसति साधनाकै कारण सातौँ, आठौँ ध्यानको स्थिति प्राप्त गर्नुभएका भगवान् बुद्धका गुरु आलार कालम र उद्धक रामपुत्तले मृत्युपश्चात् अरूप ब्रम्हलोक प्राप्त गर्नुभएबाट पनि आनापानसति साधना कति गहन साधना हो भन्ने स्पष्ट हुन्छ । भगवान् बुद्ध यही आनापानसतिको अभ्यासबाट प्राप्त गर्नुभएको चित्तको उच्च जागरुकता र सूक्ष्मताकै कारण मध्यमार्गी आर्य अष्टाङ्ग साधनाविधिको मार्ग पहिल्याउन सफल हुनुभएको थियो ।
तपाईँ चित्त शुद्धि वा निर्वाणको जुन लक्ष्य लिएर आर्य अष्टाङ्गमार्ग साधनामा प्रवेश गर्नुभएको छ त्यस साधनाको मूल लक्ष्य निर्वाण प्राप्त गर्न आनापानसतिको कति महत्व छ भन्ने तथ्यलाई तल दिइएका बुँदाहरूबाट पनि बुझ्न सकिन्छ । त्यसैले ती बुँदाहरूप्रति स्पष्ट हुनुहोस् ।
१. धर्मचक्र प्रवर्तन वा आर्य अष्टाङ्ग साधना भनेकै चित्तको संवेदनाहरूलाई भोग गर्ने स्वभावलाई नाश गर्नु हो । चित्तलाई सुखद र दुःखद संवेदनाहरूप्रति समभावी बन्न प्रशिक्षण दिनु हो । जबसम्म तपार्इँ संवेदनाहरूमाथि साधना गरी चित्तमा संवेदनालाई भोग नगर्ने स्वभाव विकास गर्न सक्नुहुन्न तबसम्म तपाईँले निर्वाण साधनाका नाममा जेजस्ता साधना गरे पनि निर्वाण लक्ष्य प्राप्त गर्न सक्नुहुन्न । संवेदनाहरूमाथि साधना गर्न तपाईँले देहसत्ता (काय र चित्त) मा संवेदना उत्पन्न गर्न सक्नुपर्छ ।
जब आनापानसति साधनाका कारण तपाईँको नासिका तलको त्रिकोणात्मक क्षेत्रमा संवेदना उत्पन्न हुन थाल्छन् तब तपाईँ आनापानसति वा श्वासप्रश्वास प्रक्रियालाई आधार बनाएर शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म संवेदना उत्पन्न गर्दै यिनै संवेदनाप्रति समभावी रहन चित्तलाई प्रशिक्षण दिन प्रारम्भ गर्नुहुन्छ । यसरी विपश्यना साधनाको मूल आधार संवेदनाहरू उत्पन्न गर्न आनापानसति साधनाको महत्वपूर्ण भूमिका छ । आनापानसति साधनाको अनुपस्थितिमा तपाईँ सहजरूपमा संवेदनालाई उत्पत्ति गरी आफैँमा धर्मचक्र प्रवर्तन गर्न असमर्थ रहनुहुन्छ ।
२. जब तपाईँ धर्मचक्र साधना प्रारम्भ गर्नुहुन्छ, जब तपाईँ संवेदनाहरू उत्पन्न गर्दै शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ तब पूर्व संस्कारका कारण साधनाकालमा पनि तपाईँको मन भड्किरहन्छ । यसरी साधनाकालमा भड्किएको मनलाई एकाग्रत बनाई पुनः विपश्यना साधनालाई निरन्तरता दिन तपाईँलाई आनापानसति साधना वा श्वासप्रश्वासकै सहयोग चाहिन्छ । आनापानसति वा श्वासप्रश्वासमाथि गरिने ध्यान नै त्यस्तो विधि हो, जसको सहयोगमा तपाईँ साधनाकालमा साधनाबाट भड्किएको चित्तलाई पुनः सहजातापूर्वक फर्काएर साधनामा ल्याउन सक्नुहुन्छ । आनापानसति साधनाको अनुपस्थितिमा तपाईँ सहजतापूर्वक साधनाबाट भड्किएको चित्तलाई साधनामा फर्काएर ल्याउन असमर्थ रहनुहुनेछ ।
३. जब तपाईँ विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ तब शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म चक्कर लगाउन थाल्नुहुन्छ । यस्तो अवस्थामा तपार्इँ कायमा स्थूलता वा जडताको उपस्थिति बोध गर्नुहुन्छ । कायको यस स्थूलता तथा जडता यति स्थूल प्रकृतिको हुन्छ कि तँपाई एकएक इन्च गरेर कायमा कायानुपश्यना साधना गर्न असमर्थ हुन पुग्नुहुन्छ । त्यस क्षणमा तपार्इँको साधनाको क्रमबद्धता खण्डित भइरहन्छ । साधना सही दिशामा प्रवाहित हुन असमर्थ भइरहन्छ । त्यस्तो अवस्थामा साधनाको क्रमबद्धतालाई लय प्रदान गर्न तपाईँले पुनः आनापानसति साधनामा प्रवेश गर्नुपर्छ, श्वासप्रश्वासको लयलाई समात्नुपर्छ ।
तपाईँले आनापानसति साधना र विपश्यना (संवेदनामाथि गरिने समभावी) साधनालाई समानान्तररूपमा लैजान सक्नुपर्छ । यस्तो अवस्थामा तपाईँका चित्त सूक्ष्म हुन पुगी कायको स्थूलता वा जडतालाई नष्ट गर्न थाल्छ । अन्ततः तपाईँ कायका सम्पूर्ण स्थूलतालार्ई नष्ट गर्दै कायलाई सूक्ष्म, सूक्ष्मतर, सूक्ष्मतम एकाइमा टुक्र्याउँदै कायको भित्र, बाहिर, सर्वत्र कायानुपश्यना साधना गर्न सक्षम हुनुहुन्छ । आनापानसति वा श्वासप्रश्वासलाई आलम्बन वा आधार नबनाई तपाईँ कायको स्थूलता वा जडतालाई नाश गर्न असमर्थ हुनुुहुनेछ । यदि तपाईँले कायको जडतालाई नष्ट गर्न सक्नुभएन भने विपश्यना साधनामा कस्तो अवरोध खडा हुन पुग्छ भन्ने कुरा विपश्यना साधनाका अनुभवी साधक परिचित नै हुनुपर्छ ।
४. जब तपाईँ विपश्यना साधना भन्नुहुन्छ यो साधनाले चित्तको गहिराइ वा अवचेतन क्षेत्रसम्म पुगेर चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्ने साधनालाई बुझाउँछ । जबसम्म तपाईँ चित्तको अन्तिम गहिराइसम्म पुगेर अवचेतन चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न असमर्थ रहनुहुन्छ तबसम्म तपाईँ पञ्चस्कन्धको क्षेत्रभित्रै फसिरहनुहुन्छ । तपाईँको अवचेतन मनले संवेदनालाई नै भोगी रहन्छ, संस्कारहरूकै निर्माण र विस्तार गरिरहन्छ ।
यस्तो स्थितिमा तपाईँ पञ्चस्कन्धको क्षेत्रभन्दा बाहिरको अमृत वा निर्वाणको क्षेत्रमा प्रवेश गर्न असमर्थ रहनुहुन्छ । चित्तको अन्तिम गहिराइसम्म पुगेर संवेदनालाई भोग गर्ने स्वभावलाई नष्ट गर्न तपाईँलाई विपश्यना साधनालाई गहिराइसम्म लैजान एक शक्तिशाली आधारको आवश्यकता पर्छ । यस्तो स्थितिमा आनापानसति साधना त्यो आलम्बन (आधार) हो, जसलाई आधार बनाएर तपाईँ संवेदनामाथि समभावी साधना गर्दै अवचेतन वा अत्यन्त गहिराइसम्म पुगेर चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न सक्नुहुन्छ ।
५. आनापानसति साधनामा श्वासप्रश्वास प्रक्रियालाई जागरुकतापूर्वक यथाभूतरूपमा दर्शन गर्दा कुनै क्षणमा चित्त यति एकाग्र र सूक्ष्म हुन्छ कि श्वासप्रश्वास अत्यन्त गहिरो क्षेत्रमा प्रवेश गर्छ । त्यस क्षणमा चित्तमा सङ्गह भएका विकारहरू र निर्मल भएको चित्त एकअर्काको सम्पर्कमा आइपुग्छन् । परिणामस्वरूप दुई विपरीत विद्युतीय ध्रुवबीच विपरीत प्रतिक्रिया भएजस्तै संवेदना भोग गर्ने र नगर्ने दुई विपरीत स्वभावबीच विपरीत प्रतिक्रिया उत्पन्न हुन पुग्दा चित्तका विकार उखेलिन थाल्छन् । सूक्ष्म परिणाममा भए पनि यस क्षणमा चित्त शुद्ध वा निर्मल हुन पुग्छ । स्मरणरहोस चित्तमा सङग्रहित विकारलाई नष्ट गर्ने साधनामा मूल साधना विपश्यना नै साधना हो, विपश्यनाको प्रज्ञा क्षेत्रको साधना नै हो तर आनापानसति साधनाले सूक्ष्म परिणाममा भए पनि चित्तका विकारलाई नष्ट गर्छ र तपाईलाई निर्वाण लक्ष्यतर्फ बढ्न सहयोग गर्छ ।
६. श्वासप्रश्वास प्रक्रिया र तपाईँको मनका विकारहरू एकअर्कोमा सम्बन्धित हुन्छन् । जब तपाईँमा संस्कारहरू उत्पन्न हुन्छन् तब तपाईँको श्वासप्रश्वासको गति परिवर्तन हुन थाल्छ, तीव्र हुन थाल्छ । उदाहरणका लागि जब तपाईँमा क्रोध उत्पन्न हुन्छ, काम भोगको इच्छा उत्पन्न हुन्छ त्यस क्षणमा तपाईँको श्वासप्रश्वासको गति तीव्र हुन थाल्छ । तपाईँको श्वासप्रश्वास गतिको लयबद्धता नष्ट हुन थाल्छ । जब तपाईँ आनापानसति साधनामा प्रवीण हुँदै जानुहुन्छ वा श्वासप्रश्वासको गति झन्झन् जागरुक हुँदै जानुहुन्छ यस्तो स्थितिमा जब तपाईँको मनमा विकार उत्पन्न हुन्छ, जब विकार उत्पन्न भएका कारण तपाईँको श्वासप्रश्वासको गतिमा परिवर्तन आउन थाल्छ, तँपाईँ स्वयंमा विकार उत्पन्न भइरहेको छ भन्ने तथ्य सहजै थाहा पाउनुहुन्छ । एक विपश्वी साधकका रूपमा तपाईँ यथाभूत लय खण्डित भएको श्वासप्रश्वासको प्रक्रियालाई अवलोकन गर्न प्रारम्भ गर्नुहुन्छ । यसरी चित्तमा उत्पन्न विकारहरूले तपार्इँलाई अपहरण गरेर विषयहरूमा प्रवेश गराउनु पूर्व नै तपाईँ आनापानसति साधनामा प्रवीण भएकै कारण आफूलाई नियन्त्रणमा लिन समर्थ हुनुहुन्छ, निर्वाण लक्ष्यबाट च्यूत हुने स्थितिबाट आफूलाई बचाउन सक्नुहुन्छ ।
७. संसारमा प्रचलित जति पनि मोक्ष साधनाका विधि छन् ती सबै साधनाविधिका मूल लक्ष्य चित्तलाई आध्यात्मिक लगायत सबै विषयप्रति राग वा द्वेष भावबाट मुक्त गर्नु हो । मोक्ष साधनाको यस लक्ष्यलाई तपाईँ (परमात्मा, गुरु, प्रतिमा, ध्वनि, मन्त्र, प्रकाश आदिलाई साधनाको आलम्बन बनाएर कहिल्यै प्राप्त गर्न सक्नुहुन्न ।
जब तँपाई यी बाह्य आलम्बनहरूलाई साधनाको आधार बनाउनुहुन्छ तब तपाईँमा यी आलम्ब (ईश्वर, गुरु आदि) प्रति राग उत्पन्न हुने सम्भावनाको जन्म हुन्छ । अध्यात्मका यी विषयबाट बन्धन प्राप्त गर्ने सम्भावनाको जन्म हुन्छ । निर्वाण साधनाबाट च्यूत हुने सम्भावनाको जन्म हुन्छ । जब तपार्इँ श्वासप्रश्वास प्रक्रियालाई साधनाको आधार बनाउनुहुन्छ तब यथाभूतरूपमा श्वासप्रश्वासलाई अवलोेकन गर्नुहुन्छ र यस आलम्बन (श्वासप्रश्वास) प्रति तपाईँमा राग, द्वेष, मोह आदि उत्पन्न हुनै सक्दैनन् । फलतः तपाईँ साधनाका आलम्बबाटै बन्धन प्राप्त गर्ने स्थितिबाट मुक्त हुन सक्नुहुन्छ ।
यसरी आनापानसति साधनाले मनको बहिर्मुखी स्वभाव नाश गरी मनको जागरुकताको विस्तार, विपश्यना साधनाका लागि संवेदनाहरूका उत्पत्ति, साधनाको मनको अवचेतन क्षेत्रसम्ममा प्रवेश, चित्तका विकार नाश, साधनामा राग द्वेष निरत आलम्बन आदि प्रदान गर्दै तपाईँमा धर्मचक्र उत्पत्ति गर्छ । साधनालाई निर्वाणको लक्ष्यतर्फ बढ्ने पृष्ठभूमि तयार पार्छ । निर्वाण साधनाले समाधान गर्नुपर्ने समस्यालाई पूर्णरूपमा समाधान गर्ने पृष्टभूमि तयार पार्छ । स्पष्ट छ आनापानसति साधनाको अनुपस्थितिमा विपश्यना साधनाका साधकलाई निर्वाण लक्ष्य प्रदान गर्न असमर्थ रहन्छ ।