अब तपाईँ आनापानसति साधनालाई निरन्तरता दिइरहनुहोस् । यस क्रममा आसन ग्रहणपश्चात् जब तपाईँ आनापानसति साधना प्रारम्भ गर्नुहुन्छ तब यस साधनालाई ४–५ मिनेटसम्म निरन्तरता दिइरहनुहनुहोस् । (स्मरणरहोस् विपश्यनाको १० दिवसीय साधना शिविरमा आनापानसति साधना लगातार तीन दिनसम्म गरिन्छ । तत्पश्चात् साधक विपश्यना साधनामा प्रवेश गर्छ )।
तँपाई जागरुक भएर श्वास लिनुहोस् र जागरुक भएर श्वास छोड्नुहोस् । लामो श्वास आउँदा मात्र लामो श्वास आइरहेकोे छ भनेर जान्नुहोस् । लामो श्वास जाँदा लामो श्वास गइरहेको छ भनेर यथाभूतरूपमा जान्नुहोस् । छोटो श्वास भित्र आउँदा छोटो श्वास आइरहेको छ भनेर जान्नुहोस् । छोटो श्वास बाहिर जाँदा छोटो श्वास गइरहेको छ भनेर जान्नुहोस् । दाँया नासिकाबाट श्वास आउँदा वा जाँदा दाया नासिकाबाट श्वास आइरहेको छ, गइरहेको छ भनेर राम्रोसँग जान्नुहोस् ।
बाँया नासिकाबाट श्वास आउँदा वा जाँदा बायाँ नासिकाबाट श्वास आइरहेको छ र गइरहेको छ भनेर जान्नुहोस् । नासिकाबाट तातो वा चिसो श्वास आउँदा वा जाँदा तातो वा चिसो श्वास आइरहेको वा गइरहेको छ भनेर जान्नुहोस् । श्वासप्रश्वासका यी सम्पूर्ण प्रक्रियालाई जस्तो छ त्यस्तैरूपमा अवलोकन गर्नुहोस् । श्वासप्रश्वासका यी स्थितिमा कुुनै पनि किसिमको हस्तक्षेप नगर्नुहोस् ।
जब श्वासले लय समात्छ तब श्वासले लय समातिरहेको छ भनेर जान्नुहोस् । जब श्वासको लय नष्ट हुन्छ तब श्वासको लय नष्ट भएको छ भनेर जान्नुहोस् । नदी किनाराका यात्रीले नदीको प्रवाहलाई अवलोकन गरे जस्तै तटस्थ भावले अवलोकन गर्नुहोस् । जब आनापानसतिमा मन चञ्चल भई ध्यान भङ्ग हुन्छ तब मेरो साधना भङ्ग भएको छ भनेर यथाभूतरूपमा जान्नुहोस् तर त्यस्तो क्षणमा निराश, व्याकुल आदि नबन्नुहोस् । अपितु चञ्चल मनलाई पुनः श्वासप्रश्वासमा केन्द्रित गराउनुहोस् । श्वासप्रश्वासका सम्पूर्ण स्थितिमा बोधपूर्ण बन्नुहोस् । कुनै प्रतिक्रिया नगरी मात्र बोध गर्नुहोस् ।
आनापानसति साधनालाई निरन्तरता दिइरहनुहोस्
जब तँपाई यसरी श्वासप्रश्वासप्रति जागरुक र समभावी बनिरहनुहुन्छ त्यतिबेला धम्मका शाश्वत नियमहरूका कारण तँपाईको चित्तमा जागरुक, समभाव आदि साधनाबीज सङ्ग्रहित र विस्तारित भइरहेका हुन्छन् । त्यसैले तपाईँको बेहोश भई विषयहरूमा डुलिरहने मनको स्वभाव शनैःशनैः क्षय भइरहेको छ भन्ने तथ्यप्रति सचेत हुनुहोस् र आनापानसति साधनालाई निरन्तरता दिइरहनुहोस् ।
जब तपाईँ यसरी आनापानसति साधनालाई निरन्तरता दिइरहनुहुन्छ तब पेट, छाती वा कायका अङ्गहरू फुल्दै र खुमचिँदै गएको जस्ता अनुभूति प्राप्त गर्नुहुन्छ । काय र चित्त शान्त हुँदै गएको अनुभूति प्राप्त गर्नुहुन्छ । यतिबेला कायका अनेक भागमा अनेक प्रकार संवेदना (चिलाएझैँ, पोलेझैँ, शीतल भएझैँ आदि) उत्पन्न भइरहेको अनुभूति पनि प्राप्त गर्नुहुन्छ तर काय क्षेत्रका यी अनुभूतिप्रति कुनै किसिमको प्रतिक्रिया नजनाउनुहोस् । राम्रो वा नराम्रो भनेर विभाजन नगर्नुहोस् । खुसी र दुखी हुने पनि नगर्नुहोस् । मात्र प्राकृतिकरूपमा आइरहेको र गइरहेको श्वासप्रति साक्षीभावपूर्ण भइरहनुहोस् । धम्म (प्रकृति) का शाश्वत नियमहरूले जब कुनै साधनाबीज प्राप्त गर्छन् त्यस बीजलाई कसरी सङ्ग्रह गर्छन्, कसरी विस्तार गर्छन् आदि तथ्यप्रति स्पष्ट हुनुहोस् ।