भगवान्ले निर्वाण पश्चात् बोध गर्नुभएको प्रतित्यसमुत्पादको अनुलोमचक्र र प्रतिलोमचक्र, प्रकृति शाश्वत नियमहरू, चार आर्य सत्य, चार आर्य सत्यका बाह्र आवृत्ति आदिका व्याख्या अघिल्ला अध्यायहरूमा गरिसकिएको छ ।
जब भगवान् प्रकृतिका शाश्वत नियमहरूप्रति स्पष्ट हुनुभयो तत्पश्चात् भगवान् प्रकृतिका शाश्वत नियमहरूका कारण संसारका मानिसमा प्रतिक्षण उत्पन्न भइरहेको दुःखचक्र, लोकचक्र, भवचक्रप्रति स्पष्ट हुनुभयो । यस जगत्को स्थिति भयावह थियो । यस जगत्का प्रत्येक मानिसमा प्रतिक्षण शाश्वत नियमहरूका कारण गुण नै प्रकट भइरहेको थियो । जगत्का प्रत्येक मानिसमा प्रतिक्षण गुणअनुरूप विचार कर्म घटित भइरहेको थियो । विचार कर्मअनुरूप शारीरिक कर्म, वाणी कर्म आदि घटित भइरहेका थिए । यी कर्मका क्षणहरूमा मानिसको काय र चित्तमा सुखद र दुखद संवेदना उत्पत्ति भइरहेका थिए । चित्तको प्राकृतिक स्वभावका कारण मानिस यिनै संवेदनालाई भोग गरी दुःखी वा सुखी भइरहेका थिए । चित्तको संस्कार (चित्तको संवेदना भोग गर्ने स्वभाव) का कारण मानिसमा प्रतित्यसमुत्पादको अनुलोमचक्र उत्पन्न भइरहेको थियो । यहि कारण मानिस वर्तमान जिवनमा दुःख चक्र र मृत्युपश्चात् पनि अनेक लोकचक्र, भवचक्रमा फसिरहेका थिए । प्रकृतिका शाश्वत नियमहरूले मानिसमा उत्पन्न गरिरहेको यो अनुलोम चक्र अन्त्यहीन र भयावह प्रकृतिको थियो ।
प्राकृतिक नियमका कारण चौवीसै घण्टा उत्पन्न भइरहेको यस अनुलोम चक्र वा दुःखचक्रलाई नष्ट गर्न अत्यन्त दुरुह कार्य (साधना) थियो । यस जगत्का मानिसलाई यी दुःखचक्र, भवचक्र, लोकचक्रबाट मुक्त गर्न प्रकृतिका नियमहरूका कारण मानिसमा उत्पन्न भइरहेको यस अनुलोमको चक्रलाई नष्ट गरी प्रतिलोमको चक्र (धर्मचक्र, निर्वाणचक्र) उत्पन्न गर्न सक्नुपथ्र्याे, जुन अत्यन्त दुरुह साधना क्रिया थियो ।
प्रकृतिका नियमहरूले सतत (चौवीसै घण्टा) उत्पन्न गरिरहेको यस भयावह अनुलोम चक्रलाई पूर्णरूपमा उल्टाएर मानिसमा सतत (चौवीसै घण्टा) प्रतिलोम चक्र उत्पन्न गर्न चौवीसै घण्टा साधकलाई साधनारत स्थितिमा राखिरहनुपर्ने आवश्यकता थियो ।
फेरि जगत्को यथार्थ अवस्था पूर्णतः पृथक थियो । वर्षौँदेखिका अनेक धर्म, ईश्वर, गुरु, सम्प्रदाय आदिसँग जोडिएका अनेक भ्रामक सिद्धान्त, धारणा, मतहरूद्वारा ग्रसित साधकहरू बन्धन र मोक्षको केन्द्रमा छिपेको प्रकृतिका शाश्वत नियमहरू, यी नियमका कारण मानिसमा उत्पन्न भइरहेको अनुलोमको चक्र (दुःखचक्र भवचक्र, लोकचक्र), यस अनुलोम चक्रलाई नष्ट गरी प्रतिलोम चक्र (निर्वाणचक्र) उत्पन्न गर्न आवश्यक पर्ने सत्य साधनाविधि आदिप्रति पूर्णरूपमा अनभिज्ञ थिए । ती साधक निर्वाण प्राप्तिका नाममा बिहान बेलुका एक–दुई घण्टा सम्पन्न गरिने अनेक बाह्य कर्मकाण्डीय साधनामा अलमलिरहेका थिए । यसरी प्रकृतिका शाश्वत नियमहरूले उत्पन्न गरिरहेका दुःखको चक्रलाई नष्ट गरी निर्वाण प्राप्त गर्न लघु समयमा सम्पन्न गरिने साधारण प्रकृतिका साधनाबाट वर्षौँ त के कल्पौँसम्म साधना गरे पनि सम्भव थिएन । प्रकृतिका शाश्वत नियमहरूका कारण चौवीसै घण्टा क्रियाशील र मानिसमा छिपेको जन्म–जन्मान्तरदेखिको संवेदना भोग गर्ने चित्तको स्वभावका कारण भगवान्लाई निर्वाणप्राप्तिको जटिलता झन्झन् स्पष्ट हुँदै गएको थियो ।
मूलतः यही कारण भगवान्ले आठ साधनाहरू (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका, सम्यक स्मृति, सम्यक सङ्कल्प, संम्यक समाधि, सम्यक व्यायाम, सम्यक दृष्टि) लाई जोडेर एक आसाधारण रूपमा शक्तिशाली निर्वाण साधनाविधि निर्वाण गर्नुभयो, जुन निर्वाण साधनाविधि आर्य अष्टाङ्गमार्ग साधनाको नामले विश्व प्रसिद्ध छ । यस आर्य अष्टाङ्गमार्ग साधनालाई विपश्यना साधना, महासतिपट्ठान साधना पनि भनिन्छ । यस जगत्मा यसरी आठ साधनालाई जोडेर निर्माण गरिएका पूर्ण, सत्य, अत्यन्त शक्तिशाली, साधकले सतत वा चौवीसै घण्टा साधनारत (सम्यक स्थिति) रहनुपर्ने सत्य निर्वाण साधना संसारका कुनै पनि मोक्षशास्त्रमा उल्लेख भएको पाइँदैन । यस्तो असाधारण निर्वाण साधनाविधि संसारका कुनै पनि आध्यात्मिक महापुरुषहरूद्वारा प्रतिपादन वा विकास गरिएको पाइँदैन ।
आर्य अष्टाङ्गमार्गका तीन साधना समूह
जब भगवान्ले आठ वटा साधनालाई जोडेर आर्य अष्टाङ्ग मार्ग (विपश्यना) साधनाको विकास गर्नुभयो तत्पश्चात् निर्वाण साधनाको दुरुह अवस्थासँग पूर्णरूपमा परिचित भगवान्ले यस साधनालाई साधकहरूले स्पष्टसँग बुझी सहजतापूर्वक साधनामा उतारेर निर्वाण प्राप्त गर्न सकुन् भन्ने हेतुले आर्य अष्टाङ्गमार्ग साधनाका आठ साधनालाई पुनः शील साधना (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका), समाधि साधना (सम्यक स्मृति, सम्यक सङ्कल्प, सम्यक समाधि), प्रज्ञा साधना (सम्यक व्यायाम, सम्यक दृष्टि) गरी तीन साधना समूहमा विभाजन गर्नुभयो । विपश्यना साधनामा यिनै तीन साधना समूह अन्तर्गतका आठ साधनालाई आफ्नै जीवनमा उतारिन्छ ।
आर्य अष्टाङ्ग साधना मार्गका विशेष पक्ष
निर्वाणको अर्थ हो जन्म–जन्मान्तरदेखि धम्मका शाश्वत नियमहरूका कारण उत्पन्न, सङ्ग्रहित, विस्तार हुँदै आएका चित्तका संस्कारहरू वा संवेदना भोग गर्ने स्वभावलाई नाश गर्नु । निर्वाण अत्यन्त दुरुह साधना हो । यसलाई करोडौँ साधकमा एकदुई असाधारण साधकले मात्र सिद्ध गर्न सकेका छन् । जन्म–जन्मान्तदेखि सञ्चित हुँदै आएको संवेदना भोग गर्ने तपाईंका चित्तको स्वभावका कारण तपाईंका चित्तमा अर्वौँ संस्कार सङ्ग्रहित छन् । यी संस्कारमध्ये कैँयौँ संस्कार अत्यन्त शक्तिशाली छन्, जसले प्रतिदिन प्रकट भएर तपाईंलाई व्याकुल बनाइहेका छन् । चित्तमा यसरी सङ्ग्रह भएर प्रकृतिको शाश्वत नियमका कारण शक्तिशाली बनेका संस्कार साधारण साधनाद्वारा नष्ट हुन सक्दैनन् । चित्तका यस्ता संस्कार नष्ट गर्न असाधारण प्रकृतिका शक्तिशाली साधना चाहिन्छ । चित्तका यिनै संस्कार वा संवेदना भोग गर्ने स्वभावलाई नष्ट गरी निर्वाण प्राप्त गर्न “आठ वटा साधना” लाई जोडेर भगवान्ले निर्माण गर्नुभएको विश्वप्रसिद्ध आर्य अष्टाङ्गमार्ग साधनाका कैँयौँ महत्वपूर्ण विशेषता वा विशेष पक्ष छन् । विपश्यना साधनामा सम्पन्न हुने वा गरिने आर्य अष्टाङ्गमार्गका यी विशेषता वा विशेष पक्ष साधकले जान्न अत्यन्त आवश्यक भएकाले आर्य अष्टाङ्गमार्ग साधनाका केही विशेष पक्षलाई तल बुँदागतरूपमा राखिएको छ ।
१) भगवान्द्वारा आफैँ प्रमाणित साधना
आर्य अष्टाङ्ग मार्ग साधना भगवान्को आफ्नै झण्डै ६ वर्षसम्मको आंशिक, अपूर्ण, भ्रामक प्रकृतिका अनेक मोक्ष साधनाविधिको असफल प्रयोगपश्चात् स्वप्रयास, स्वपरीक्षण, स्वअनुभवबाट जन्मिएको प्रामाणिक साधनाविधि हो । भगवान् आफैँले यही साधनाविधिबाट निर्वाण प्राप्त गर्नुभएको थियो । भगवान् आफैँले अन्य साधनाविधिबाट नभई यही साधना विधिबाट निर्वाण प्राप्त गर्नुभएकाले यस निर्वाण साधना सत्य साधना हो भन्ने कुरा आफैँ स्पष्ट हुन्छ ।
स्मरणरहोस् भगवान् स्वयंले सर्वप्रथम आठ साधनालाई जोडेर आर्य अष्टाङ्गमार्ग साधनाविधिको विकास गरेर विपश्यना साधनामा प्रवेश गर्नुभएको थिएन । भगवान्मा शील साधना र समाधि साधना वर्षौँ वा जन्म–जन्मान्तरको साधनाका कारण पुष्ट भइसकेको थियो । जब भगवान्ले संवेदनामाथि साधना गरेर निर्वाण प्राप्त गर्नुभयो, तत्पश्चात् नै भगवान्ले निर्वाण प्राप्तिको दुरुह अवस्थालाई गहनरूपमा चिन्तन गरेर आर्य अष्टाङ्गमार्ग साधना विकास गर्नुभएको थियो ।
२) साधकको चौवीसै घण्टा साधनारत स्थिति
धम्मका शाश्वत नियमहरूका कारण तपाईंको जीवनमा चौवीसै घण्टा सततरूपमा संस्कार उत्पत्ति, र विस्तार भइरहन्छन् । यस स्थितिमा यदि तपाईं निर्वाण चाहनुहुन्छ भने तपाईं साधनारत रहनुभएको निर्वाण साधनाविधिले तपाईंलाई पनि चौवीसै घण्टा सततरूपमा साधनारत राखिरहन सक्नुपर्छ । यदि तपाईं निर्वाण प्राप्तिका लागि साधनारत साधनाले तपाईंलाई चौवीसै घण्टा वा सततरूपमा साधनारत राख्न सक्दैन भने तपाईंले वर्षौँ त के कल्पौँसम्म साधना गरे पनि निर्वाण प्राप्त गर्न असमर्थ रहनुहुन्छ । करोडौँ साधकमा एकदुई साधक, जसले निर्वाण प्राप्त गरे ती साधकले चौवीसै घण्टा सम्यक (साधनारत) स्थितिमा रहेकाले नै निर्वाण प्राप्त गरेका थिए । जब तपाईं आर्य अष्टाङ्गमार्ग साधनालाई सूक्ष्म अवलोकन गर्नुहुन्छ । यस साधनामा सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका जस्ता चौवीसै घण्टा सतत सम्यक वा राग र द्वेषबीचको सम स्थितिमा स्थित रहनुपर्ने साधनाहरू छन् ।
विपश्यना साधनामा तपाईंलाई बिहान बेलुका एकएक घण्टा सघनरूपमा संवेदनाप्रति जागरुक र समभावी रहन चित्तलाई प्रशिक्षण दिइन्छ । तत्पश्चात् तपाईंले दैनिक जीवनका कर्म, वाणी आदिका स्थितिमा सततरूपमा सम्यक स्थितिमा स्थित रहनुपर्ने हुन्छ ।
सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका जस्ता असाधारण साधना उपस्थित आर्य अष्टाङ्गमार्ग साधनाको संरचना नै यस्तो छ कि यदि तपाईंले यस साधनालाई “विधिपूर्वक” साधनामा उतार्नुहुन्छ भने तपाईं पनि सम्पूर्ण कर्म, वाणी, आजीविकाका क्षणमा सम्यक (न राग न द्वेष) को स्थितिमा रहनुहुन्छ अथवा तपाईं पनि चौवीसै घण्टा साधनारत रहनुहुन्छ । तपाईं पनि चौवीसै घण्टा धम्मका नियमहरूले संस्कार उत्पत्ति र विस्तार गर्ने प्रक्रियालाई अवरुद्ध गरी चित्तमा समभावको बीज छरिरहनुहुन्छ ।
३) स्पष्ट सैद्धान्तिक पथ प्रदर्शन
कुनै पनि निर्वाण साधनालाई सफलतापूर्वक साधनामा उतार्न त्यस साधनाको स्पष्ट सैद्धान्तिक पथ प्रदर्शन आवश्यक हुन्छ । स्पष्ट सैद्धान्तिक मार्गको अनुपस्थितिमा निर्वाण जस्तो सूक्ष्म र दुरुह साधनामा साधक वर्र्षौँ मात्र नभई कल्पौँसम्म पनि भड्किरहन्छ । आर्य अष्टाङ्गमार्ग साधना त्यस्तो निर्वाण साधना हो, जहाँ चार आर्य सत्यरूप स्पष्ट सैद्धान्तिक मार्ग उपस्थित छन् । यस साधनामा तपाईं कुनै अमूर्त आत्मा, परमात्मा, परमधाम, परमगति आदि प्राप्त गर्न साधना गइरहनुभएको छैन । अपितु स्वयंको दुःखको कारण (दुःख समुदय सत्य) लाई आर्य अष्टाङ्गमार्ग (मार्ग सत्य) द्वारा नाश गरी दुःख (दुःख सत्य) नाश र निर्वाण (निरोध सत्य) प्राप्त गर्न गइरहनु भएको छ ।
४) निर्वाण साधनाका प्रत्येक चरणको स्पष्ट व्याख्या
संसारमा प्रचलित जति पनि निर्वाण साधना छन् ती साधनामा जब साधकले प्रवेश गर्छ त्यस अवस्थामा उसले निर्वाण साधनाको कति चरण छन् ? निर्वाण साधनाको कुन चरणमा साधकलाई कस्तो अनुभूति प्राप्त हुन्छ ? साधनाका कालमा स्वयंले प्राप्त गरेका अनुभूति केके हुन् ? म साधनाको कुन चरणमा छु ? म साधनामा सही दिशातर्फ बढिरहेको छु कि छैन ? जस्ता साधनासँग जोडिएका अत्यन्त महत्वपूर्ण प्रश्नहरूको सही उत्तर प्राप्त गर्नै सक्दैन ।
यसैका कारण साधक साधनामा अनेक भ्रम, कल्पना, द्विविधा आदि प्राप्त गरी साधनाबाट च्यूत हुन पुग्छ । यस्तो स्थितिमा आर्य अष्टाङ्गमार्ग साधना संसारको एकमात्र यस्तो निर्वाण साधना हो, जहाँ साधकले माथिका प्रश्नहरूका स्पष्ट उत्तर प्राप्त गर्छ । जसको परिणाम स्वरूप साधक साधनामा सफल हुने सम्भावनाको जन्म हुन्छ । भगवान्को महासतिपट्ठान निर्वाण साधनाका बाह्र वटा चरण र प्रत्येक चरणका व्याख्या यसै पुस्तकमा रााखिएको छ ।
५) जीवनमा सतत सम्यक स्थिति
आर्य अष्टाङ्गमार्गका आठ साधनामा भगवान्ले प्रत्येक साधनामा ‘सम्यक’ शब्दमा जोड दिनुभएको छ । ‘सम्यक’ शब्द नै आर्य अष्टाङ्गमार्ग साधनाको मूल साधना शब्द हो । बुद्ध साहित्यमा ‘सम्यक’ शब्दलाई ठीक, पूर्ण, सही आदिका रूपमा परिभाषित गरिएको पाइन्छ तर यो परिभाषा सतही, आंशिक, भ्रमपूर्ण र सम्यक शब्दको मूल मर्मलाई ग्रहण गर्न असमर्थ देखिन्छ । “सम” शब्दको अर्थ हो– निष्पक्ष, तटस्थ, मध्यमार्ग आदि । ‘सम’ मूलरूपमा रहेर निर्माण भएको “सम्यक” शब्दको मूल अर्र्थ हो– न राग न द्वेष वा समभावी स्थिति । जब तपाईं न राग न द्वेषको स्थितिमा रहनुहुन्छ त्यस क्षणमा मात्र सम्यक स्थितिमा रहनुहुन्छ । साधारण उदाहरणका लागि यदि तपाईं दान जस्तो शुभ कार्य गर्दा पनि सम्यक वा सम स्थितिमा स्थित रहन नसकी खुसी (खुसीले उत्तेजित) भइरहनुभएको छ भने तपाईं सम्यक कर्म साधनामा हुनुहुन्न । तपाईंले संवेदना भोग गरी संस्कारको उत्पत्ति र विकास गरिरहनुभएको छ ।
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा
भगवान्ले प्रतिपादन (विकास) गर्नुभएको आर्य अष्टाङ्गमार्गका आठ साधना निम्न प्रकारका छन्–
१) सम्यक कर्म साधना
२) सम्यक वाणी साधना
३) सम्यक आजीविका साधना
४) सम्यक स्मृति साधना
५) सम्यक समाधि साधना
६) सम्यक व्यायाम साधना
७) सम्यक सङ्कल्प साधना
८) सम्यक दृष्टि साधना



