भगवान्ले चार आर्य सत्यको व्याख्या समाप्त गर्नुभएको छ । साधकले यी चार आर्य सत्यलाई अझ राम्रोसँग बुझुन् र साधनामा सहजतापूर्वक उतार्न सकुन् भन्ने ध्येयले भगवान्ले पुनः प्रत्येक आर्य सत्यलाई तीनतीन चरण (भाग) मा विभाजित गर्नुभएको छ । चार आर्य सत्यलाई साधनामा उतार्ने साधकले प्रत्येक आर्य सत्यको तीनतीन आवृत्ति (चरण) माथि साधना गर्नुपर्छ । चार आर्य सत्यका बाह्र आवृत्तिलाई पार गर्नुपर्छ । सर्वप्रथम प्रश्न उठ्छ कि कुनकुन हुन् चार आर्य सत्यका बाह्र आवृति ? जून उत्तर निम्न प्रकार छन्–
दुःख आर्य सत्य
प्रथमआवृति :– दुःख आर्य सत्य वा यो दुःख आर्य सत्य हो ।
दोस्रोआवृति :– यो दुःख आर्य सत्य परिज्ञेय छ ।
तेस्रोआवृति :– यो दुःख आर्य सत्य परिज्ञान भयो ।
दुःख समुदय आर्य सत्य
प्रथमआवृति :– यो दुःख समुुदय आर्य सत्य हो ।
दोस्रोआवृति :– यो दुःख समुदय आर्य सत्य प्रहाण गर्नुपर्छ ।
तेस्रो आवृति :– यो दुःख समुदय आर्य सत्य प्रहाण भयो ।
दुखः निरोध आर्य सत्य
प्रथमआवृति :– यो दुःख निरोध आर्य सत्य हो ।
दोस्रोआवृति :– यो दुःख निरोध आर्य सत्य साक्षात्कार गर्नु पर्छ ।
तेस्रोआवृति :– यो दुःख निरोध आर्य सत्य साक्षात्कार भयो ।
दुःख निरोध गामिनी प्रतिपदा
प्रथमआवृति :– यो दुःख निरोध गामिनी प्रतिपदा आर्यसत्य हो ।
दोस्रोआवृति :– यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यलाई भावना गर्नुपर्छ ।
तेस्रोआवृति :– यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य भावित भयो ।
यी चार आर्य सत्यका तीनतीन आवृत्तिमा प्रथम आवृत्तिलाई ‘श्रुतज्ञान’, दोस्रो आवृत्तिलाई ‘चिन्तन ज्ञान’, तेस्रो आवृत्तिलाई ‘प्रत्यक्ष ज्ञान’ पनि भन्न सकिन्छ । प्रथम आवृत्ति (चरण) मा साधकले यी आर्य सत्यका बारेमा श्रुत ज्ञान प्राप्त गर्छ । यस श्रुत ज्ञानलाई सत्य मानेर स्वीकार गर्छ । यस श्रुत ज्ञान वा प्रथम आवृत्ति (चरण) मा साधकले यी आर्य सत्यलाई स्व–अनुभूतिमा उतारेको हुँदैन ।
मात्र श्रुत ज्ञानले कुनै साधक आर्य बन्दैन, निर्वाण प्राप्त गर्न सक्दैन । यसैले निर्वाण अभिलाषी साधक साधनाको दोस्रो आवृत्ति ‘चिन्तन ज्ञान’ मा प्रवेश गर्छ । साधनाको यस चरणमा साधकले यी आर्य सत्यमाथि पुनः बौद्धिक चिन्तन, मनन् गर्छ । जुन श्रुतज्ञान उसले प्राप्त गरेको छ त्यस श्रुतज्ञान माथि चिन्तन, मनन गर्छ । बुद्धिको स्तरमा यी आर्य सत्यलाई अनुभूतिमा उतार्नुपर्ने तथ्य स्वीकार गर्छ ।
बौद्धिक चिन्तन वा चिन्तन ज्ञानकै कारण कोही पनि साधक आर्य बन्न सक्दैन, निर्वाण प्राप्त गर्न सक्दैन । यसैले मोक्ष अभिलाषी साधक साधनाको तेस्रो आवृत्तिमा प्रवेश गर्छ । साधनाको यस तेस्रो चरणमा साधक, आर्य अष्टाङ्गमार्ग साधनामा प्रवेश गरेर यी चार आर्यसत्यलाई साधनामा उतार्ने प्रारम्भ गर्छ र अन्ततः साधना प्रक्रियाद्वारा सत्य साक्षात्कार वा निर्वाण प्राप्त गर्छ ।
प्रत्येक आर्य सत्यका ती तीन आवृत्तिले कुनै पनि मोक्ष अभिलाषी साधकले साधनामा प्रत्यक्ष प्रवेश गर्नुपूर्व ‘श्रुतज्ञान’ सर्वप्रथम स्विकार गर्नुपर्ने, त्यस श्रुतज्ञानमाथि गहन चिन्तन, मनन, गर्नुपर्ने वा चिन्तन ज्ञान प्राप्त गर्नुपर्ने र श्रुतज्ञानमाथि चिन्तन ज्ञान प्राप्त गरेर साधनाको सैद्धान्तिक पक्षप्रति सम्पूर्णरूपमा स्पष्ट भएपछि मात्र साधनामा प्रवेश गर्नुपर्ने आवश्यकतालाई दर्शाउँछ । हाल साधना भन्ने बित्तिकै साधनाको सैद्धान्तिक पक्षप्रति नै स्पष्ट नभई आसन ग्रहण गरिहाल्ने, आँखा चिम्लिहाल्ने, ध्यानमा प्रवेश गरिहाल्ने जुन प्रचलन छ यस्तो साधना प्रक्रिया भगवानका यी शब्दका पृष्ठभूमिमा त्रुटीपूर्ण देखिन्छ ।
यस्तो स्थितिमा के प्रश्न उठ्छ भने साधकहरू कतै साधनाको सम्पूर्ण सैद्धान्तिक पक्षप्रति स्पष्ट नभइकनै साधना भन्ने बित्तिकै आखा चिम्लिएर ध्यान प्रारम्भ गर्ने कारणले गर्दा साधनामा असफल त भइरहेका छैनन् ? जेहोस् चार आर्य सत्यका बाह्र आवृत्ति निम्न प्रकार छन्–
दुख आर्य सत्य
प्रथमआवृत्ति– यो दुःख आर्य सत्य हो ।
दुःख आर्य सत्यको प्रथम आवृत्ति हो जीवनमा दुःखको यथार्थ अवस्थालाई स्वीकार गर्नु । जीवनमा दुःख छ भन्ने तथ्यलाई स्वीकार गर्नु । वृद्धावस्थाको दुःख, रोगको दुःख, मृत्युको दुःख, अप्रियसँग संयोगको दुःख, प्रियसँग बिछोडको दुःख आदि स्पष्टरूपमा प्रतीत हुने दुःख भएकाले यसलाई दुःखको रूपमा जुनसुकै मानिसले पनि सहज तरिकाले स्वीकार गर्छ तर दुःखझैँ प्रतीत नहुने वा सुखझँै प्रतीत हुने वैभव, समृद्धि, शक्ति, मृत्युपश्चात् स्वर्गलोक, देवलोक आदिका प्राप्ति पनि अनित्य भएकाले दुःख नै हुन् भन्ने यथार्थलाई धेरै सहजरूपमा स्वीकार गर्न सक्दैनन् ।
जो मानिस वैभव, समृद्धि, शक्ति आदिलाई सफलता मान्छन् उसले यी वस्तु अनित्य भएकाले दुःख हुन् भन्ने यथार्थलाई अस्वीकार गर्छ । यस्तो स्थितिमा त्यस्ता मानिस साधनामा प्रवेश नै गर्दैनन् । त्यस्तै कुनै सम्प्रदाय, दर्शन, धर्म आदिसँग सम्बन्धित मानिस, जो स्वर्गलोक, देवलोक आदिका प्राप्तिलाई अत्यन्त महत्वपूर्ण प्राप्ति ठानिरहेका छन् त्यस्ता मानिस पनि ती लोक पनि अनित्य भएकाले दुःख हुन् भनेर कतै सुन्यो (श्रुतज्ञान) भयो भने पनि यस तथ्यलाई अस्वीकार गर्छ । यस्तो स्थितिमा त्यस्ता मानिस पनि प्रथम आवृत्तिमै साधनाबाट बाहिरिन्छन् तर जुन मानिसले जीवनमा दुःख छ, वैभव समृद्धि, सफलता, स्वर्गलोक आदि पनि अनित्य भएकाले दुःख हो भन्ने श्रुतज्ञानलाई स्वीकार गर्छ ऊ साधनामा प्रवेश गर्छ र साधक बन्छ ।
दोस्रोआवृत्ति :– यो दुःख आर्य सत्य परिज्ञेय छ ।
श्रुतज्ञानलाई सत्य मानेर स्वीकार गर्दैमा वा साधनाको प्रथम आवृत्ति (चरण) मा प्रवेश गर्दैमा कुनै पनि साधकले निर्वाण प्राप्त गर्न सक्दैन । त्यसैले जो साधक श्रुतज्ञानलाई सत्य मान्छ ऊ भने साधनाको दोस्रो आवृत्ति (चरण) चिन्तन ज्ञानमा प्रवेश गर्छ ।
दुःख आर्य सत्यको दोस्रो आवृत्ति हो– परिञ्ञेयं । अर्थात् यस आवृत्तिमा साधकले बुद्धिको स्तरमा यस्तो स्वीकार गर्छ कि निर्वाण प्राप्तिका लागि स्वअनुभूतिद्वारा दुःखक्षेत्रको सम्पूर्ण परिधिको परिपूर्ण ज्ञान प्राप्त गर्नुपर्छ, दुःखको क्षेत्र कहाँसम्म छ ? दुःखको अनुभूति कहाँसम्म फैलिएको छ ? आदि प्रश्नहरु गर्छ । यस चरणमा साधक जुन श्रुतज्ञान प्राप्त भएको छ त्यस श्रुत ज्ञानमाथि गहन चिन्तन, मनन गर्छ । दुःखको क्षेत्रका बारेमा अनेक जानकारी सङ्ग्रह गर्छ, साधनाको सैद्धान्तिक पक्षलाई बलियो बनाउँछ । फेरि चिन्तन, मनन वा ज्ञानलाई बुद्धिको स्तरमा बुझेर पनि साधकले दुःखको परिधिलाई बुझ्न सक्दैन र निर्वाण प्राप्त गर्न सक्दैन । यसैले साधनाको तेस्रोचरणमा साधक अनुभूति ज्ञान (वा प्रत्यक्ष आर्य अष्टाङ्गमार्ग साधना) मा प्रवेश गर्छ र दुःख आर्य सत्य हो भन्ने प्रामाणिक ज्ञान प्राप्त गर्छ ।
तेस्रोआवृत्ति :– यो दुःख आर्य सत्य परिज्ञान भयो ।
दुःख आर्य सत्यको तेस्रो आवृत्ति हो– अनुभूतिको स्तरमै दुःखको परिधिको परिपूर्ण ज्ञान । यस आवृत्तिमा साधक आर्य अष्टाङ्गमार्ग साधनामा प्रवेश गर्छ । नाम (चित्त) र रूप (देह) को क्षेत्रमा सम्पूर्ण उदय र व्यय भइरहेका संवेदनाका गुण, स्वभाव र धर्मको यथाभूत अनुसन्धान गर्छ र दीर्घसाधनाद्वारा नाम र रूपको सम्पूर्ण क्षेत्र वा दुःखको क्षेत्रलाई अतिक्रमण गरेर रूपातीत, नामातीत, इन्द्रियतीत, अमृतमय निर्वाणको स्थितिलाई स्वयं साक्षत्कार गर्छ, प्रामाणिक निर्वाण अनुभूति प्राप्त गर्छ । जबसम्म इन्द्रियातीत ‘निर्वाण सुख’ को अनुभूति प्राप्त हुँदैन तबसम्म साधकले दुःखको परिधिलाई पार गरेको मानिँदैन वा साधकले दुःखको परिधिको परिपूर्ण ज्ञान प्राप्त गरेको मानिँदैन ।