ईश्वर दर्शन झैँ अप्रभ्रंशित, अतिरन्जित र भ्रमपूर्ण बनाइएका अध्यात्म जगतका शव्दहरु हुन् – ‘ईश्वर शरण’ र ‘ईश्वर भजन’ । ईश्वर निराकार, जिवन्त ‘तत्व’ हो । ईश्वर (वा ईश्वरीय अंश आत्मा) स्वयंभित्र छिपेको छ । ईश्वर शरण, ईश्वर भजन आदि आन्तरिक साधना प्रक्रिया हुन् भन्ने अज्ञानताको कारण नै ईश्वर शरण, ईश्वर भजन जस्ता अध्यात्मका गहन शव्दहरु आज भ्रमपूर्ण बनेका छन् ।
वर्तमान समयमा जब ईश्वर शरण भनिन्छ, असंख्य मानिसहरु ईश्वरको चित्र, मूर्ति वा अन्य कुनै आलम्वनको अगाडि श्रद्धापूर्वक हात जोडेर ‘हे प्रभू मलाई शरणमा लिनुहोस् वा दिनुहोस’ भन्ने भावमा वाह्य रुपमा नै पूजा, प्रार्थना आदि गरिन्छ ।
त्यस्तै, जब ईश्वर भजन भनिन्छ । यसलाई मूलतः सांगीतिक भजन, किर्तन आदिको रुपमा बुझिन्छ । वाह्य क्रियाको रुपमा बुझिन्छ । जसको परिणाम स्वरुप मानिसहरु अनेकन् भजन, किर्तनमा समाहित हुन पुग्दछ । ‘हरे राम हरे राम हरे कृष्ण हरे कृष्ण’ को सांगीतिक धूनमा रम्न थाल्दछन् । मोक्ष साधना दृष्टिले यस्ता प्रकारका ईश्वर शरण, ईश्वर भजन कृपाहरुको न्यून महत्व छ । मोक्ष आन्तरिक रुपान्तरको प्रक्रिया हो । यि कृपाहरु आन्तरिक रुपान्तर गर्न असमर्थ छन् । मोक्ष प्रदान गर्न असमर्थ छन् । अज्ञानताको सघनतामा यि ईश्वर शरण र ईश्वर भजनका वाह्य क्रियाहरु रागरुपी बन्धन सृजना गर्न सक्षम छन् ।