पानीको प्यासले मरुभूमिमा भौँतारिएको यात्रीजस्तै निर्वाणको तीव्र प्यासमा भौतारिनुभएका भगवान् अन्ततः निर्वाण प्राप्त सद्गुरु खोजको लामो, थकित, निराशापूर्ण र असफल यात्रा पश्चात् उद्धक रामपुत्तको आश्रममा गहिरो आशा बोकेर आइपुग्नुभयो । जब भगवान्ले गुरु उद्धक रामपुत्तलाई भेट्नुभयो सर्वप्रथम भगवान्ले आफ्नो निर्वाण प्राप्त सद्गुरु खोजको असफल यात्राकै कारण झन्झन् तीक्ष्ण बनेको जागरुक दृष्टिले उद्धक रामपुत्तको बाह्य स्वरूपलाई अध्ययन गर्नुभयो । परम्परागत आभूषणहरू अनुपस्थित, दीर्घकालीन ध्यान साधनाको कारण स्निग्ध, शान्त गुरु रामपुत्त सन्त जस्तै देखिनुहुन्थ्यो । शान्तिको मधुर परिवेश उहाँको व्यक्तित्व वरिपरि सिर्जना भएको थियो ।
गुरु रामपुत्तले पनि गुरु आलार कालम जस्तै निर्वाण प्राप्तिका परम्परागत धारणाहरूका बारेमा व्याख्या गर्नुभएन । निर्वाण प्राप्तिका लागि गुरुकृपा, ईश्वरकृपा, ईश्वरभक्ति, गुरुभक्ति, शिष्यत्व ग्रहण, दीक्षा ग्रहण, टीका, माला ग्रहण आदि कुराका आवश्यकताबारे चर्चासम्म गर्नुभएन । गुरु कालमले जस्तै गुरु रामपुुत्तले पनि निर्वाण प्राप्तिकालागि गहन ध्यान साधनाको आवश्यकतामाथि जोडदिनुभयो । कुनै पनि निर्वाण प्यासी, तीक्ष्ण बुद्धि, साधनाप्रति लगनशील साधकले शीघ्र समयमै उहाँको ध्यान साधनाबाट निर्वाणको अमृत पदलाई प्राप्त गर्न सक्ने पनि बताउनुभयो । निर्वाण प्राप्त गुरुको खोजीमा भगवान्को धेरै समय, ऊर्जा, शक्ति खर्च भइसकेको थियो । सत्य गुरु खोजको लामो असफल यात्रा पश्चात् अब भगवान्सँग समय र अन्य विकल्पशेष थिएनन् । अन्ततः भगवान्ले उद्धक रामपुत्तको शिष्यत्वलाई ग्रहण गर्नुभयो । गुरु रामपुत्तबाट नै उहाँले ध्यान विद्याको अझ उच्चतम साधना सिक्नुभयो ।
अन्ततः गुरु रामपुत्तको निर्देशनमा उहाँ शीघ्र समयमा नै आठौँ ध्यानको त्यो उच्च स्थितिमा पुग्नुभयो, जहाँ भाववोध एवं भाववोध विहिनता दुवैअवस्था समाप्त भएर साधक विचारबाट निर्विचारको शून्य अवस्थामा प्रवेश गर्छ । यस स्थितिमा साधकले चेतनाका सम्पूर्ण अवस्थालाई पार गरेर गहन शून्यको अनुभूति गर्छ । भगवान्ले बारम्बार ध्यानको यस गहन शून्यको स्थितिलाई अनुभूति गर्नुभयो ।
तर, गुरु आलार कालमको ध्यान साधना जस्तै गुरु रामपुत्तले प्रदान गर्नुभएको उच्च ध्यान साधनाबाट प्राप्त यस गहन शून्यस्थिति पनि इन्द्रियातीत, अविनाशी अनुभूति थिएन । अर्थात् यो अनुभूति पनि विनाशी वा क्षणिक अनुभूति नै थियो । यो अनुभूति पनि ध्यान साधनाबाट बाहिर आएको केही क्षणपश्चात् नै शनैःशनैः बिलाएर जान्थ्यो । यसबाट के स्पष्ट हुन्थ्यो भने गुरु रामपुत्तले जुन स्थितिलाई निर्वाणस्थिति भनेर व्याख्या गर्नुभएको थियो त्यो स्थिति पनि निर्वाणको स्थिति थिएन । त्यस गहन शून्यको स्थिति सघन एकाग्रताको कारण जन्म भएको साधनास्थिति मात्र थियो । यसरी बिस्तारै भगवान् स्वयंको साधना अनुभूतिमा गुरु कालमको साधनाविधि जस्तै गुरु रामपुत्तको साधनाविधि पनि अपूर्ण, आंशिक, भ्रमपूर्ण, मोक्ष प्रदान गर्न असमर्थ छ भन्ने तथ्यप्रति स्पष्ट हुनुभयो । उद्धक रामपुत्त स्वयं पनि मोक्ष प्राप्त गुरु हुनुहुन्न भन्ने तथ्यमा स्पष्ट हुनुभयो । गुरु कालमले झैँ उहाँले पनि मोक्ष प्रदान गर्न असमर्थ, आंशिक, निर्वाण विद्यालाई सत्य मोक्ष विद्या भनेर प्रचार गरिरहनु भएको थियो भन्ने कुरा बोध गर्नुभयो ।
जब भगवान्लाई यो निश्चय भयो कि गुरु रामपुत्तको यस ध्यानविधि पनि क्लेश नाश, दुःख नाश, अविनाशी शान्ति अन्तर्दृष्टि र निर्वाण प्रदान गर्न असमर्थ छ ।त्यसैले उहाँले उद्धक रामपुत्तको अनुनय विनय पश्चात् पनि गुरु रामपुत्तलाई त्याग गर्नु भयो । यसरी क्रमशः भगवान्को निर्वाण प्राप्त सद्गुरु खोजको यात्रा असफलतातिर लम्किरहेको थियो । यतिबेला उहाँलाई यस्तो प्रतीत हुन्थ्यो कि संसारमा निर्वाण प्राप्त गुरु प्राप्त गर्नु भनेको आफैँले निर्वाण प्राप्त गर्नु जस्तै एक दुरुह प्राप्ति हो ।