जब भगवान् पञ्चवर्गीय भिक्षुहरूलाई खोज्दै वनारसतर्फ गइरहनु भएको थियो यात्राको क्रममा भगवान्को भेट एक जना नग्न (नागा) साधुसँग भयो । ती नग्न साधुको खोज पनि सत्य कै खोज थियो । उनी पनि निर्वाण प्राप्तिकै लागि प्रजवित बनेका थिए, घर परिवार त्यागेर सन्यासी जीवन ग्रहण गरेका थिए ।
मोक्ष खोजकै कारण अनेक समूह र सम्प्रदायमा विभाजित तत्कालीन भारतवर्षका विभिन्न समूहमध्ये नागा साधु समुदाय एक थियो । यी नग्न साधुहरु जाडो, गर्मी, वर्षा केही नभनी प्रायः नग्न रहन्थे र शरीरलाई अनेक किसिमका यातना दिन्थे । मोक्ष साधनाकै नाममा शरीरलाई अनेक यातना दिने गरेकाले उनीहरू शारीरिकरूपमा अत्यन्त दुर्बल, रोगी, कान्तिहीन र आकर्षणहीन थिए ।
जब ती नग्न साधुले अत्यन्त सुन्दर, स्वस्थ, शान्त, शौम्य, शुद्ध चित्त र निर्वाणको तेजले दिप्त मुहार भएका भगवान् बुद्धलाई देखे तब उनी भगवान्को सौन्दर्यबाट प्रभावित भए । तत्पश्चात् तिनले भगवान् कुन सम्प्रदायसँग सम्बन्धित हुनुहुन्छ ? भगवान्को गुरु को हुनुहुन्छ ? भन्नेजस्ता कुरा जान्न चाहे । त्यस समयको भारत वर्षमा धर्म, ईश्वर, गुरु, सम्प्रदाय विना मोक्ष प्राप्त हुन सक्छ भन्ने विचार कल्पना बाहिरको थियो । यस्तो धारणा वर्तमान समयमा पनि व्याप्त छ । तिनले भगवान्लाई सोधे– ‘आयुष्मान् ! तपाईका इन्द्रियहरू निर्मल छन्, प्रशन्न छन्, अनुहारको वर्ण पनि कान्तिमय छ, शुद्ध, दिव्य र उज्वल छ । तँपाई कसलाई गुरु मानेर प्रजवित हुनुभएको हो ? तपाईँको गुरु को हो ?’
भगवान्ले नागा साधुलाई प्रत्युत्तर दिँदै भन्नुभयो– ‘मेरो गुरु कोही छैन, संसारमा अरहत हुँ, अपूर्व शास्ता (गुरु) हुँ, एक सम्यक सम्बुद्ध, शीतल, तथा निर्वाण प्राप्त पुरुष हुँ र धर्मचक्र प्रवर्तनका लागि ब्राह्मणहरूका नगरी काशीतर्फ जाँदैछु ।