कर्मको प्रारम्भिक स्वरुपलाई चिन्न वा बुझ्न नसकी कर्मको रागपूर्ण वा द्वेषपूर्ण स्वरुपलाई भोग नगर्दा अनेकन् बन्धनहरु प्राप्त भई यो जीवन मात्र नभई भविष्यका जीवनहरुमा पनि मात्र दुःख र पतन आदि प्राप्त हुने, अनि त्यस्तै कर्मको स्वरुपलाई बुझी त्यो स्वरुप प्रति जागरुक हुन सकेमा मोक्ष प्राप्त भई वर्तमान जीवनमा परम जीवन अनि मृत्यू पश्चात पनि प्रभुको परमधाम प्राप्त हुने हुनाले कर्मको गति अत्यन्त गहन छ । कर्म अकर्म, कर्मको स्वरुप, कर्मको परिणाम आदिको ……………..
किं कर्म किमकर्मेति कवयोऽप्यत्र मोहिताः ।
तत्ते कर्म प्रवक्ष्यामि यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात् ।।४–१६।।
कर्म के हो ? अकर्म के हो ? भन्ने विषयमा बुद्धिमान पुरुषहरु पनि मोहित हुन्छन् । यसैले म त्यो कर्म वा कर्म तत्व तिम्रो लागी राम्रो सँग भन्नेछु । जसलाई जानेर तिमी अशुभ वा कर्म बन्धनबाट छुट्नेछौ ।
कर्मणो ह्यपि बोद्धव्यं बोद्धव्यं च विकर्मणः ।
अकर्मणश्च बोद्धव्यं गहना कर्मणो गतिः ।।४–१७।।
कर्मको स्वरुप पनि जान्नु पर्दछ । र अकर्मको स्वरुप पनि जान्नु पर्दछ । अनि विकर्म (निषिद्ध कर्म) को स्वरुप पनि जान्नु पर्दछ । किनभने कर्मको गति गहन छ ।
कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः ।
स बुद्धिमान्मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।।४–१८।।
जुन पुरुष कर्ममा अकर्म देख्दछ, अनि अकर्ममा कर्म देख्दछ, त्यो पुरुष मनुष्यहरुमा बुद्धिमान छ । त्यो योगी सम्पुर्ण कर्म गर्ने (वा गर्न जान्ने) हो ।
यस्य सर्वे समारम्भाः कामसङ्कल्पवर्जिताः ।
ज्ञानाग्निदग्धकर्माणं तमाहुः पण्डितं बुधाः ।।४–१९।।
हे अर्जुन, जसको सम्पूर्ण कार्य कामना र संकल्पले रहित छन् । जसको सम्पूर्ण कर्म ज्ञानरुप अग्नीद्वारा भष्म भएको छ, त्यो महापुरुषलाई ज्ञानीजन पनि पण्डित भन्दछन् ।
त्यक्त्वा कर्मफलासङ्गं नित्यतृप्तो निराश्रयः ।
कर्मण्यभिप्रवृत्तोऽपि नैव किञ्चित्करोति सः ।।४–२०।।
जो कर्म र फलको आशक्तिलाई पूर्णरुपमा त्यागेर संसारमा (आश्रय निराश्रय रहित) भई परमात्मा तत्वमा नित्य तृप्त छ, उ कर्ममा राम्रोसँग लागे पनि केहि गर्दैन ।
निराशीर्यतचित्तात्मा त्यक्तसर्वपरिग्रहः ।
शारीरं केवलं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ।।४–२१।।
जसले शरिर र अन्तःकरणलाई राम्रोसँग वशमा गरेको छ, जसले सम्पूर्ण प्रकारका बस्तु संग्रह त्यागिदिएको छ, यस्तो इच्छारहित पुरुष केवल शरिर सम्बन्धि कर्म गर्दा पनि पाप (विकार, संस्कार) लाई प्राप्त हँुदैन ।
यदृच्छालाभसन्तुष्टो द्वन्द्वातीतो विमत्सरः ।
समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ।।४–२२।।
जो विना इच्छा वा आफै जे प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट रहन्छ, जसमा ईष्र्याको भाव सर्वथा अभाव भएको छ । जो राग – द्वेष र हर्ष – शोकादी द्वन्द्वहरुबाट अतित भएको छ । सिद्धि र असिद्धिमा समभाव भएको कर्मयोगी, कर्म गरेर पनि बाँधिदैन । वा कर्म संस्कार प्रापत गर्दैन ।
गतसङ्गस्य मुक्तस्य ज्ञानावस्थितचेतसः ।
यज्ञायाचरतः कर्म समग्रं प्रविलीयते ।।४–२३।।
जसको आशक्ति सर्वथा नष्ट भएको छ, जो देहभिमान तथा ममताबाट रहित भएको छ । वा मुक्त भएको छ । जो निरन्तर स्वरुप ज्ञान (बोध)मा स्थित छ । यज्ञ कर्म (निष्काम कर्म) गर्ने यि पुरुषको सम्पूर्ण कर्म नष्ट हुुन्छ ।
ब्रह्मार्पणं ब्रह्म हविर्ब्रह्माग्नौ ब्रह्मणा हुतम् ।
ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना ।।४–२४।।
(त्यो निष्काम यज्ञ जहाँ) अर्पण ब्रम्हा (शुद्धरुप) छ । हवी वा हवन गर्ने पदार्थ पनि ब्रम्ह छ । ब्रम्हारुप कर्ताद्वारा ब्रम्हारुप अग्नीमा आहुति दिने क्रिया पनि ब्रम्हा हो । त्यो ब्र्रम्हाकर्ममा स्थित रहने योगीद्वारा प्राप्त गर्ने फल पनि ब्रम्हा नै हो ।