गीताका विभिन्न अध्यायहरु भगवान कृष्णले व्याख्या गर्नुभएको कर्मयोग साधना वा कर्मयोगी साधकका आवश्यकताहरुलाई गहिरिएर अवलोकन गर्दा कर्मयोग साधनाका आवश्यकताहरुलाई मूलरुपमा चार भागहरुमा विभाजन गर्न सकिन्छ ।
कर्म र कर्मफल सम्बन्धि आवश्यकताहरु
कर्मयोग साधनामा जब कर्म सम्पादन गरिन्छ । वा जब साधक कर्मयोग साधना गर्दछ, त्यो अवस्थामा अत्याग (२–४५), कर्तव्य (४–२०) कर्मलाई साधना कर्म झैँ सम्पादन (२–४८), कर्मफलको सम्पूर्ण आशा वा आशक्ति त्याग (२–४८), यज्ञ कर्म रुप कर्म (३–२), कर्म प्रतिका सम्पूर्ण आशक्तिहरुलाई त्याग (३–९), (४–२०) आशक्ति रहित कर्म (३–१९) सकामी मानिस झैँ लगनशील भएर निष्काम कर्मको आचरण (३–२५), कर्मलाई परमात्मा तत्वमा अर्पण वा कर्ममा ‘म’ भाव निरतता (३–३०), आशा रहित, ममता रहित, संताप रहित, कर्म (३–३०), निष्काम भाव कर्म (६–३) कर्ममा कुनै पनि प्रकारका संकल्पहरुको अभाव (६–४), अन्तःकरण शुद्धिको लागि कर्म (५–११) आदि जस्ता कर्मसँग सम्बन्धित पक्षहरु जोडिनु पर्दछ । कर्मयोगमा जब कर्म सम्पादन गरिन्छ, ति कर्महरुमा माथि उल्लेख गरिएका विशेष पक्षहरु उपस्थित हुनु पर्दछ ।
ईश्वर वा परम तत्व सम्बन्धि आवश्यकताहरु
कर्मयोग साधनामा साधनारत कर्मयोगी साधकमा परमात्मा प्राप्तिमा एक निश्चय बुद्धिपूर्ण (२–४०), स्वर्ग, स्वर्गमा प्राप्त भोगहरु प्रति अनाशक्त (२–४२, ४३, ४४), वेदका सकाम यज्ञहरु प्रनि उदासीन (२–४२), योग वा परमात्मामा स्थित (२–४५), अन्तरयामी परमात्मामा एक चित्त (३–३०), परमात्मा तत्व प्रति श्रद्धावान (४–३९), मात्र परमात्मा तत्व चिन्तन (६–२५), प्रभु प्रति अनन्य भाव, परायण भाव (७–१) आदि जस्ता पक्षहरुको आवश्यकता पर्दछ ।
मन, इन्द्रिय, देह आदिसँग सम्बन्धित आवश्यकताहरु
कर्मयोग वा कर्मयोगी साधनामा साधनारत साधकमा स्वाधीन अन्तःकरण (२–४५), इन्द्रिय निग्रह (२–४८), विषय प्रति अनाशक्त इन्द्रिय (३–९), जागरुक वा इन्द्रिय मन, बुद्धि भन्दा उच्च स्थितिमा स्थित (३–४३), जितेन्द्रिय (४–३९), अन्तःकरण वश (४–४१), मन, इन्द्रिय, शरिर वश (६–१०), ब्रम्हचारी ब्रत (६–१४), साधना प्रति धैर्य, उत्साहयुक्त चित्त (६–२३), मनमा वैराग्य भाव (६–३५), सन्यासयुक्त चित्त (९–२७) आदि जस्ता पक्षहरुको उपस्थिति हुन अत्यन्त आवश्यक छ ।
कर्मयोगको परिणामसँग सम्बन्धित आवश्यकता
कर्मयोग साधनामा कर्मफल प्रतिको आशक्ति त्याग त गरिन्छ, तर जब कर्म प्रारम्भ हुन्छ, त्यो अवस्थामा कर्मका परिणामहरु शनैः शनैः प्राप्त हुन थाल्दछन् । जब कर्मका परिणामहरु प्राप्त हुन थाल्दछन्, त्यो अवस्थामा साधक कर्मका परिणामबाट विचलित हुन सक्दछ । तर कर्मयोग साधनामा साधनारत साधकमा कर्मका परिणामहरु प्रति हर्ष–शोक रहित (२–४३), कर्म सिद्धि–असिद्धिमा सम (२–४८), आशा रहित, ममता रहित, संग्रह रहित मनस्थिति (३–३०) आदि युक्त हुन्छ ।



