आनापानसति साधनामा नासिका तलको त्रिकोणात्मक क्षेत्रमा संवेदना उत्पत्ति भएपश्चात् शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इन्च गरेर कायलाई सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतम एकाइमा टुक्र्याउँदै लगिन्छ र यस क्रममा उत्पन्न भएका सम्पूर्ण प्रकारका सुखद र दुःखद संवेदनामा चित्तलाई जागरुक र समभावी रहन प्रशिक्षण दिएर नै कायानुपश्यना साधना गरिन्छ । कायानुपश्यना साधनाविधिको विस्तृत व्याख्या माथिको अध्यायमा गरिसकिएको छ ।
विपश्यना साधनामा किन एकएक इन्च गर्दै कायलाई शिरदेखि पैतलासम्म, पैतलादेखि शिरसम्म टुक्र्याइन्छ ?
पहिलो कुरा काय र चित्तको क्षेत्रमा उत्पन्न भएका सुखद र दुःखद दुवै संवेदनालाई भोग गर्ने तपाईंको चित्तको संस्कारका कारण तपाईंमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) उत्पत्ति, विस्तार आदि भइरहेकोे हुन्छ । यो संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई नष्ट गरी निर्वाण प्राप्त गर्न तपाईंले काय र चित्तको क्षेत्रमा उत्पन्न संवेदनालाई भोग नगर्न वा संवेदनाप्रति समभावी बन्न चित्तलाई प्रशिक्षण दिनुपर्ने हुन्छ । मूलतः यही कारण विपश्यना साधनामा कायलाई शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म टुक्र्याएर संवेदना उत्पन्न गर्दै चित्तलाई संवेदनाप्रति समभावी बन्न प्रशिक्षण दिइन्छ ।
दोस्रो कुरा निर्वाण प्राप्तिका लागि तपाईंले ‘म देह हुँ’ भन्ने मूल अविद्यालाई नष्ट गर्न सक्नुपर्छ । यो ‘म’ रूपी अविद्यालाई नाश गर्न तपाईंले सर्वप्रथम ‘यो देह अनित्य हो’ भन्ने बोध प्रामाणिकरूपमा प्राप्त गर्नुपर्ने हुन्छ । यो देह अनित्य हो भन्ने बोध प्रामाणिकरूपमा प्राप्त गर्न तपाईंले कायलाई सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतम तहसम्म टुक्र्याइरहनुपर्छ । जब तपार्इँ यसरी दीर्घकालसम्म कायलाई टुक्र्याइरहनुहुन्छ त्यस स्थितिमा तपाईं कायको यथार्थ तरङ्गरूप स्वरूपको पनि शनैःशनैः बोध गर्दै जानुहुन्छ । स्मरणरहोस् जब तपाईं यसरी कायलाई सूक्ष्मरूपमा टुक्र्याउँदै जानुहुन्छ त्यस स्थितिमा काय र चित्तको क्षेत्र एक आपसमा जोडिएकाले चित्त पनि स्वत सूक्ष्मरूपमा टुक्रा हुँँदै गइरहेको हुन्छ ।
अन्ततः यसरी काय र चित्तलाई सूक्ष्मरूपमा टुक्र्याउँदै जाँदा तपाईं साधना सिद्धिको यस्तो स्थितिमा आइपुग्नुहुन्छ जुन स्थितिमा प्रामाणिकरूपमा नै यो देह र काय मात्र प्रतिक्षण उदय र व्यय, उदय र व्यय भइरहने तरङ्गको प्रवाह हो भन्नेमा प्रष्ट हुनुहुन्छ । देह र काय तरङ्ग मात्र भएकाले यो अनित्य हो भन्ने भाव स्पष्ट वा प्रामाणिकरूपमा प्राप्त गर्नुहुन्छ । जब तपाईंलाई यस्तो स्थिति प्राप्त हुन्छ त्यतिबेला तपाईंको म भाव पनि पग्लिँदै गएर निर्वाण प्राप्त गर्न समर्थ हुनुुहुन्छ ।
जब तपाईं हिन्दू धर्मग्रन्थहरूमा व्याख्या गरिएका मोक्ष साधनाविधिलाई अवलोकन गर्नुहुन्छ यी साधनाका विधिमा पनि मोक्ष प्राप्तिका लागि ‘यो देह अनित्य हो’ भन्ने भाव पुष्ट हुनुपर्छ भनिएको पाउनुहुन्छ तर यी शास्त्रमा कसरी यो देह अनित्य हो ? भन्ने भाव प्रामाणिकरूपमा बोध प्राप्त गर्न सकिन्छ भन्ने विधिको व्याख्या गर्न असमर्थ रहेकाले प्रायः हिन्दू धर्म शास्त्रमा व्याख्या गरिएको देह अनित्य हो भन्ने भाव कुरामा मात्र सिमित छ ।