यसरी तपाईँलाई शिरमा संवेदनाहरूको बोध हुन थालेपछि ध्यानलाई शिरको माथिल्लो भागबाट अनुहारतर्फ एक इञ्च तल सार्नुहोस् र सोही क्षेत्रमै ध्यानलाई केन्द्रित गर्नुहोस् । जब तँपाई ध्यानलाई यसरी केन्द्रीत गर्नुहुन्छ, पुनः त्यही सुखद वा दुखद संवेदना उत्पन्न हुन थाल्छ । जब यसरी कायमा संवेदनाहरू उत्पन्न हुन्छन्, यसको अर्थ हुन्छ तपाईँमा चित्तको संवेदना भोग गर्ने स्वभाव परिवर्तन गर्ने क्षणको जन्म भइरहेको छ । जन्म–जन्मान्तरदेखिको चित्तको संवेदना भोग गर्ने स्वभावलाई नाश गर्ने असाधारण अवसर जन्मिरहेको छ । यसरी कायमा संवेदनाहरू उत्पन्न भएका क्षणहरू नै साधकका केन्द्रिय क्षण हुन् । त्यसैले चित्तको स्वभावलाई पल्टाउने यस्तो अमूल्य अवसरलाई खेर जान नदिनुहोस् । यी संवेदनामाथि विपश्यना प्रारम्भ गर्नुहोस् । संवेदनाहरूमाथिको यस विपश्यना साधनाको क्षणमा तपाईँ विपश्यनाको अर्थमाथि पनि पुनः स्पष्ट हुनुहोस् ।
विपश्यनाको अर्थ हो वि अर्थात् विशेष किसिमको पश्यना अर्थात् अवलोकन । प्रश्न उठ्न सक्छ के हो यो विशेष अवलोकन भनेको ? उत्तर हो काय र चित्त क्षेत्रमा उत्पन्न भएका संवेदनालाई स्मृतिवान् (जागरुक) र संप्रज्ञानी (संवेदनाहरूको उदय र व्यय, उदय र व्यय प्रक्रियाको बोध) भएर अवलोकन गर्नु नै विपश्यना हो । काय र चित्तको क्षेत्रमा उत्पन्न भएका सुखद वा दुखद संवेदनालाई नभोगिकनै समभावमा अवलोकन गर्नु नै विशेष अवलोकन हो । यस विशेष अवलोकन वा विपश्यना साधना प्रक्रियालाई “मात्र जान्नु”, “यथाभूतरूपमा जान्नु”, “राम्रोसँग जान्नु”, “तटस्थभावले जान्नु”, “जुन क्षण जे प्रकट हुन्छ त्यसैलाई जान्नु”, “प्रतिक्रियाविहीन भएर बोध गर्नु”, “स्मृतिवान् र संप्रज्ञानी भएर जान्नु”, “समचित्तयुक्त भएर बोध गर्नु,” “राग द्वेष निरत भएर अवलोकन गर्नु, ” “सम्यक दृष्टियुक्त भई जान्नु”, “द्रष्टाभावले जान्नु”, “प्रज्ञापूर्वक जान्नु” आदि भनिन्छ ।
जब तपाईँ यसरी कायमा उत्पन्न भएका संवेदनाहरूमाथि विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ तब तपाईँ निर्वाण साधनाको सम्बोधन गर्नुपर्ने समस्याहरू (मनको चञ्चल स्वभावको नाश, नयाँ संस्कारको उत्पत्तिको नाश, सङ्ग्रहित संस्कारको नाश, अनित्यबोध, अनात्मबोध) लाई समाधान गर्दै निर्वाणको दिशामा पाइला बढाउँदै जानुहुन्छ ।
विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस्
जब तपाईँ यसरी संवेदनाहरूमाथि साधना प्रारम्भ गर्नुहुन्छ तब शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इञ्च गर्दै संवेदनाहरू उत्पन्न गर्दै, ती संवेदनालाई द्रष्टा भावमा अवलोकन गर्दै यस काय क्षेत्रका संवेदनाहरूमाथि गरिने साधनालाई निरन्तरता दिइरहनुहोस् । स्थूल कायलाई सूक्ष्म, सूक्ष्मतर, सूक्ष्मतम् एकाइमा टुक्र्याउँदै कायमा उत्पन्न भएका संवेदनाहरूलाई लगनशील, जागरुक र प्रज्ञायुक्त भएर बोध गरिरहनुहोस् । यस साधनालाई बिहान एक घण्टा र बेलुका एक घण्टा गरी निरन्तरता दिइरहनुहोस् । विपश्यना ध्यान साधनाबाट बाहिर आएपश्चात् पनि कर्म, वाणी, आजिविकाका पक्षमा सम्यकरूपमा रहने प्रयास गरिरहनुहोस् ।