जब तपाईं कायलाई शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म स–साना टुक्रामा टुक्र्याएर विपश्यना साधना सुरू गर्नुहुन्छ त्यतिबेला मूलतः साधनाका प्रारम्भिक चरणमा तपाईंको चित्त सूक्ष्म र एकाग्र नभइसकेको हुनाले कायका कैँयौँ बाह्य क्षेत्रमा पनि संवेदनाहरू उत्पत्ति नभएको बोध प्राप्त गर्नुहुन्छ ।
जब तपाईं कायको कुनै क्षेत्रमा संवेदना उत्पत्ति नभएको बोध प्राप्त गर्नुहुन्छ त्यस्तो स्थितिमा संवेदना उत्पत्ति नभएको स्थानको यथार्थलाई यथाभूतरूपमा जान्नुपर्छ । यसरी यथाभूतरूपमा एक मिनेट जति ध्यान एकाग्र गर्दा पनि संवेदना उत्पन्न भएन भने तपाईंले शान्त चित्तयुक्त हुँदै एक इन्च तलको क्षेत्रतर्फ ध्यानलाई निरन्तरता दिनुपर्ने हुन्छ ।
जब तपाईं दीर्घकालसम्म यसरी कायानुपश्यना साधना गर्नुहुन्छ अवश्य कायका सम्पूर्ण क्षेत्रमा संवेदना उत्पत्ति भएको बोध गर्नुहुन्छ ।