कारण शरीर र स्थितिको व्याख्या यहाँ गरिएको छ ।
अव्यक्तमेतत्त्रिगुणैर्निरूक्तं तत्कारणं नाम शरीरमात्मनः ।
सुषुप्तिरेतस्य विभक्त्यवस्था प्रलीनसर्वेन्द्रियबुद्धिवृत्तिः ।।१२२।।
यसकारण तीनै गुणको निरूपण गरेर जुन अव्यक्त मायाको निरूपण गरियो, त्यो नै आत्माको कारण शरीर हो । यसको अभिव्यक्तिको अवस्था सुषुप्ति हो, जुन अवस्थामा इन्द्रिय र बुद्धिका सम्र्पूण वृत्ति लीन हुन्छन् । ।।१२२।।
माया, अविद्या आदि शब्दबाट प्रख्यात, अव्यक्त तर कार्यद्वारा अनुमान गर्न सकिने, स्थूल र सूक्ष्म शरीरका सम्पूर्ण कार्यहरूको कारण जुन ज्ञान (आत्म साक्षात्कार) बाट नष्ट हुन्छ । त्रिगुण मायाको निरूपण (व्याख्या) माथिको श्लोकमा गरिएको छ । त्यही रज, तम, सत् गुणले युक्त अव्यक्तलाई कारण शरीर भनिन्छ ।
स्थूल शरीर जाग्रत, सूक्ष्म शरीर सपना, सुषुप्ति अवस्था कारण शरीरको अभिव्यक्तिको अवस्था हो । स्थूल शरीर जाग्रत अवस्थामा इन्द्रियका वृत्तिहरू सक्रिय रहन्छन् । सपना अवस्था (सूक्ष्म शरीर) मा बुबुद्धि (अन्तःकरण) का
वृत्तिहरू सक्रिय रहन्छन् । सुषुप्ति (प्रगाढ निद्रावस्था) मा इन्द्रिय र बुद्धिका सम्पूर्ण वृत्तिहरू विलीन हुन्छ । त्यसैले प्रगाढ निद्रामा गहिरो शान्ति अनुभूत हुन्छ । यो शरीरको कारणले प्राप्य हुन्छ । सपना अवस्थामा, सुषुप्ति अवस्थाको जस्तो निद्राको गहिराइमा अनुभूति हुने ‘मैले केही थाह पाइनँ’ प्रतीत हुँदैन ।
सर्वप्रकारप्रमितिप्रशान्तिर्बीजात्मनावस्थितिरेव बुद्धेः ।
सुषुप्तिरत्रास्य किल प्रतीतिः किञ्चिन्न वेद्मीति जगत्प्रसिद्धेः ।।१२३।।
जहाँ सम्पूर्ण प्रकारका प्रमा (ज्ञान) शान्त हुन्छन्, बुद्धि बिजरूपमा स्थिर रहन्छ । यो सुषुप्ति अवस्था हो । यो अवस्थामा पुरुषलाई ‘मैले केही पनि जानिनँ, थाहा पाइनँ’ भन्ने प्रतीत हुन्छ । यो लोकप्रसिद्ध भएकाले निर्विवाद छ । ।।१२३।।
सुषुप्ति अवस्थामा इन्द्रिय र बुद्धिका सम्पूर्ण वृत्तिहरू पूर्णरूपमा शान्त भई बुद्धि विजरूपमा स्थिर रहन्छ । सुषुप्ति (प्रगाढ निद्रा) को यो स्थितिबाट जब मानिस बिउँझिन्छ, ‘ओहो ! मैले त केही थाहा पाइनँ’ भन्ने अनुभूति व्यक्त गर्दछ । यो सुषुप्ति अवस्थाको आनन्दको अनुभूति धेरैले गरेका र भनेकाले यो लोकप्रसिद्ध छ ।