सर्वप्रथम, गुणहरुले कर्म गराउने यो जीवन संरचनामा (३–५,३–३३) कर्म त्याग नै असम्भव छ । गीताको प्रथम अध्यायमा अर्जुनको युद्ध (कर्म) त्यागको जुन दृश्य छ, त्यो कर्म त्याग स्वयंमा पनि कर्म नै हो । किनकि कर्म नगर्नु पनि ‘कर्म’ नै हो । कर्म त्याग गर्दाको क्षणमा पनि कर्म प्रति द्वेष भाव उत्पन्न हुनपुग्दछ । संसार उत्पन्न हुन पुग्दछ । कर्मको परिणाम कर्म बन्धन हुन पुग्दछ । यसैले गीतामा शास्त्र निषेधित निकृष्ट कर्महरु बाहेकका अन्य कुनै कर्म त्याग गर्न नहुने बताइएको छ । गीतामा मानिस स्वयं जुन भूमिकामा स्थित छ । त्यहि भूमिकामा स्थित रहेर कर्म गर्नुपर्ने बताइएको छ । भगवान भन्नुहुन्छः
नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः ।
शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मणः ।।३–८।।
(यसैले) तिमी शास्त्र विधिले नियत गरिएको कर्तव्य कर्म गर किन भने कर्म नगर्नुको अपेक्षा कर्म गर्नु नै श्रेष्ठ छ, तथा कर्म नगर्नाले तिम्रो शरीर निर्वाह पनि सिद्ध हुँदैन ।
कर्मणैव हि संसिद्धिमास्थिता जनकादयः ।
लोकसङ्ग्रहमेवापि सम्पश्यन्कर्तुमर्हसि ।।३–२०।।
जनक आदि ज्ञानिजन पनि आशक्तिरहित कर्मद्वारा नै परम सिद्धिलाई प्राप्त भएका थिए । यसैले लोक संग्रहलाई हेरेर पनि तिमी कर्म गर्नु नै उचित छ ।
फेरि कर्मयोग भन्दा सांख्ययोग (वा कर्म त्यागरुपी सन्यास मार्ग प्रति आकर्षित अर्जुनले गीतामा वारम्वार कर्मयोग कि सांख्ययोग ? भन्ने प्रश्न उठाएका छन् । यो प्रश्न पुनः गीताको अन्तिम अठार अध्यायमा पनि आएको छ । यो प्रश्नको उत्तर दिदै भगवान भन्नुहुन्छः
अर्जुन उवाच ।
संन्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् ।
त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन ।।१८–१।।
अर्जुन सोध्दछन् – हे महावाहु ! हे हृषिकेश ! हे केशरी नन्दन ! म सन्यास र त्यागका तत्वको पृथक पृथक जान्न चाहन्छु ।
श्रीभगवानुवाच ।
काम्यानां कर्मणां न्यासं संन्यासं कवयो विदुः ।
सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणाः ।।१८–२।।
भगवान भन्नुहुन्छ – हे अर्जुन ! कोही विद्वानहरु काम्य कर्महरुको त्यागलाई सन्यास सम्झन्छन् । कोही विद्वानहरु (विचार कुशल पुरुषहरु) सम्पूर्ण कर्महरुको फलको त्यागलाई त्याग भन्दछन् ।
त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषिणः ।
यज्ञदानतपःकर्म न त्याज्यमिति चापरे ।।१८–३।।
कोही एक विद्वान भन्दछन् कि सम्पूर्ण कर्महरु दोषयुक्त छन्, यसैले त्याग गर्न योग्य छन् । र दोस्रो विद्वानहरु भन्दछन् कि यज्ञ, दान र तपरुप कर्म त्याग्न योग्य छैनन् ।
यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत् ।
यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम् ।।१८–५।।
यज्ञ, दान र तपरुप कर्म त्याग गर्न योग्य छैनन् । यि कर्महरु त अवश्य गर्नु पर्दछ । किनभने यज्ञ, दान र तप (यि तीन) कर्म नै बुद्धिमान पुरुषलाई पवित्र गर्दछन् ।
एतान्यपि तु कर्माणि सङ्गं त्यक्त्वा फलानि च ।
कर्तव्यानीति मे पार्थ निश्चितं मतमुत्तमम् ।।१८–६।।
हे पार्थ ! यि दान, यज्ञ र तप रुप कर्म तथा अन्य पनि सम्पूर्ण कर्तव्य कर्मलाई आशक्ति र फल इच्छा त्यागेर गर्नु पर्दछ । यो निश्चित गरिएको मेरो उत्तम मत हो ।



