विपश्यना शिविरमा आसनमा बसेर गरिने दश दिवसीय विपश्यना साधना होस् वा तत्पश्चात् बिहान बेलुका गरिने १—१ घण्टाको विपश्यना साधना होस् ती साधनाको ध्येय चित्तलाई संवेदनाप्रति जागरुक र समभावी रहन सघन प्रशिक्षण दिनु हो ।
प्रकृतिका शाश्वत नियमहरूका कारण चौवीसै घण्टा संस्कारहरू उत्पत्ति र विस्तार भइरहेको तपाईंको जीवनसत्तामा बिहान बेलुका एकएक घण्टा विपश्यना साधना गरेको भरमा वर्षौँ त के कल्पौँसम्म साधना गरे पनि निर्वाण प्राप्त गर्न असमर्थ रहनुहुन्छ । यसर्थ आसनमा बसेर गरिने विपश्यना साधनाको समाप्तिपश्चात् पनि तपाईंको विपश्यना साधना (काय र चित्तमा उत्पन्न संवेदनाप्रति जागरुकता र समभाव) निरन्तर रहिरहनुपर्छ । तपाईंले वाणी, कर्म र आजीविकाका सम्पूर्ण क्षणमा सम्यक वा न राग न द्वेषको स्थितिमा रहेर विपश्यना साधनालाई निरन्तरता दिइरहनुपर्छ । मूलतः यही कारण भगवान्ले विपश्यना साधनामा सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविकाको साधना जोड्नुभएको हो ।