विपश्यना साधनामा कायलाई शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म सूक्ष्मरूपमा टुक्र्याउँदै संवेदनामा साधना गरिन्छ तर विश्वप्रसिद्ध विपश्यना गुरु सत्यनारायण गोयन्काका अनुसार यसरी विपश्यना साधना क्रमबद्धरूपमा कायलाई शिरदेखि पैतला र पैतलादेखि शिरसम्म टुक्र्याउदै गर्नुपर्छ भन्ने निश्चित नियम छैन ।
उहाँका अनुसार विपश्यना साधनामा कायलाई शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इन्च गर्दै सूक्ष्मतम एकाइहरूमा टुक्र्याउनु पर्ने मुख्य कारण चित्तलाई संवेदनाप्रति समभावी प्रशिक्षण दिनु र कायको तरङ्गरूप यथार्थ स्वरूप प्राप्त गरी निर्वाण प्राप्त गर्नु हो । यसरी शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म क्रमबद्धरूपमा कायलाई टुक्र्याउनु नै चित्तलाई संवेदनाप्रति समभावी प्रशिक्षण दिने र कायको तरङ्गरूप यथार्थ स्वरूप प्राप्त गरी ‘म’ भाव नाश गर्ने सबैभन्दा “प्रभावकारी साधना प्रक्रिया” हो तर यदि तपाईं कायानुपश्यनाको अन्य कुनै क्रमबद्ध विधिद्वारा माथिका उद्देश्यलार्ई प्राप्त गर्न सक्नुहुन्छ भने तपाईंले कायलाई यसरी शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इन्च गर्दै टुक्र्याउँदै साधना गर्नुपर्छ भन्ने कुनै निश्चित नियम छैन ।
कायानुपश्यना साधनामा शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्मको साधना गर्न कति समय लाग्छ ?
शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म कायलाई सूक्ष्मतम एकाइमा टुक्र्याउने यस साधनालाई कति समय लाग्छ भन्ने तथ्य मूलतः तपाईंको चित्तको स्थितिमा निर्भर गर्छ । विपश्यना साधनाको प्रारम्भिक चरणको स्थिति वा अन्य कुनै कारण यदि तपाईंको चित्त अत्यन्त चञ्चल छ वा एकाग्र वा सूक्ष्म हुन सकिरहेको छैन भने तपाईंलाई कायको एकएक इन्च क्षेत्रको बोध गरी विपश्यना साधनालाई क्रमबद्धता दिन अत्यन्त कठिन हुन पुग्छ । कायानुपश्यनामा मन एकाग्र नभएको वा साधनाको लय नष्ट भएको स्थितिमा तपाईंलाई शिरदेखि पैतलाको चक्रलाई पूरा गर्न लामो समय (आधा घण्टा वा एक घण्टा) लाग्न सक्छ ।
तर जब तपाईं विपश्यना साधनालाई निरन्तरता दिइहरनुहुन्छ, जब साधनाका कारण तपाईंको चित्त सूक्ष्म हुँदै जान्छ शनैःशनैः तपाईं कायमा एकएक इन्चको बोध गर्दै गरिने यस साधनालाई लघु समयमा नै सम्पन्न गर्न सक्षम हुनुहुन्छ । वर्षौँको साधनापश्चात् जब तपाईं उच्चस्तरको विपश्यी योगी बन्नुुहुन्छ यस्तो स्थितिमा यो साधना एकै श्वासमा गर्न पनि समर्थ हुनुहुन्छ । एक श्वासमा तपाईं शिरदेखि पैतलासम्म भङ्ग वा सम्पूर्ण काय मात्र परमाणुको पुञ्जको रूपमा बोध गर्न समर्थ हुनुहुन्छ ।



