प्राकृतिकरूपमा आइरहेको र गइरहेको श्वाशप्रश्वाश प्रक्रियालाई कुनै पनि प्रकारका हस्तक्षेप नगरी जागरुक र समभावी भएर अवलोकन गरिने साधना नै आनापानसति साधना हो ।
आनापानसति साधना कसरी गरिन्छ ?
आनापानसति साधना प्राकृतिकरूपमा आइरहेको र गइरहेको श्वाशप्रश्वाश क्रियालाई यथाभूतरूपमा अवलोकन गरेर गरिन्छ । यस साधनामा साधकले लामो श्वास आउँदा लामो श्वास आइरहेको छ, छोटो श्वास आउँदा छोटो श्वास आइरहेको छ, दायाँ नासिकाबाट श्वास आउँदा दायाँ नासिकाबाट श्वास आइरहेको छ, वायाँ नासिकाबाट श्वास आउँदा वायाँ नासिकाबाट श्वास आइरहेको छ, तातो श्वास आउँदा तातो श्वास आइरहेछ, चिसो श्वास आउँदा चिसो श्वाश आइरहेको छ आदि श्वासप्रश्वाससँग जोडिएका सम्पूर्ण पक्षलाई यथाभूतरूपमा जान्छ ।
नदी किनारका मानिसले नदीको प्रवाहलाई द्रष्टाभावमा अवलोकन गरेझैँ श्वासप्रश्वाससँग जोडिएका सम्पूर्ण पक्षलाई द्रष्टाभावले जान्छ । यस प्रक्रियाद्वारा उसले चित्तको जागरुकता र स्वभावलाई तीक्ष्ण बनाइरहन्छ । यसरी नै आनापनसति साधना गरिन्छ ।