ईश्वर तत्व स्वयंमा अकर्ता, रुप छ । फेरि यो जिवन्त तत्वमा ६ वटा शाश्वत नियमहरु छिपेका छन् । (प्रथम अध्यायमा यि नियमहरुको विस्तृत व्याख्या गरिएको छ ।) यि शाश्वत नियमहरु नै बन्धन र मोक्षलाई सृजना गर्दछन् । जब कोहि साधक जगतका विषयहरुबाट प्राप्त हुने राग र द्वेष अनुभूतिहरुको भयावह परिणामहरु प्रति सचेत भई ईश्वरको शरण (वा समभाव) मा प्रवेश गर्दछ, त्यो क्षणमा ईश्वरीय नियमहरु यो समभावी साधना विजलाई संग्रह, विस्तारित, अनि यो क्षणमा ईश्वरीय नियमहरु मोक्षको पक्षमा क्रियाशील हुन पुग्दछ ।
जब साधक यो ईश्वर शरण (वा समभाव) स्थितिमा अत्यन्त जागरुकता पूर्वक ‘सतत्’ स्थिर रहन प्रयास गर्दछ । साधना गर्दछ । यो नै यथार्थ ‘ईश्वर भजन’ हुन पुग्दछ । यो भजन वा योग स्थितिमा ‘सतत्’ रहने प्रयास कै कारण साधक अनन्त सम्पूर्ण पूर्वसंस्कारहरु भष्म हुन पुगी मोक्ष प्राप्त गर्दछ ।
ईश्वर भजन हरे राम हरे कृष्ण हरे राम रुपी वाह्य सांगीतिक पुकार, गीत आदि नभइकन आन्तरिक साधना प्रक्रिया हो को व्याख्या गर्दै भगवान भन्नुहुन्छः
सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थितः ।
सर्वथा वर्तमानोऽपि स योगी मयि वर्तते ।।६–३१।।
(ममा) एकीभावमा स्थित योगी सम्पूर्ण भूतहरुमा आत्मारुपले स्थित म परमात्मालाई भज्दछ । त्यो योगी सम्पूर्ण प्रकारले आचरण गर्दै ममा नै व्यवहार गर्दछ । अथवा उ नित्य निरन्तर ममा नै रहन्छ ।
ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।
मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।४–११।।
हे अर्जुन ! जो मलाई जसरी भज्दछ, म पनि उसलाई त्यसप्रकार नै भज्दछु । सम्पूर्ण मनुष्य सम्पूर्ण प्रकारले मेरो नै मार्गको अनुशरण गर्दछ ।
दैवी ह्येषा गुणमयी मम माया दुरत्यया ।
मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते ।।७–१४।।
किन कि यो अद्भूत त्रिगुणमयी ‘मेरो माया’ दूरत्यय वा पार पाउन कठिन छ । तर जो केवल मलाई नै निरन्तर भज्दछन् । ति यो मायाबाट पार पाउँदछन् । (संसार मायाबाट तर्दछन् ।)
तेषां सततयुक्तानां भजतां प्रीतिपूर्वकम् ।
ददामि बुद्धियोगं तं येन मामुपयान्ति ते ।।१०–१०।।
सतत म परमात्मामा युक्त (अनि) प्रेमपूर्वक मलाई भज्ने भक्तलाई म बुद्धियोग (समबुद्धि, समभव) दिन्छु । जसबाट ति परमात्मालाई नै प्राप्त हुन्छन् ।
तेषामेवानुकम्पार्थमहमज्ञानजं तमः ।
नाशयाम्यात्मभावस्थो ज्ञानदीपेन भास्वता ।।१०–११।।
त्यो भक्त माथि अनुकम्पा वा अनुग्रह गर्नका लागि म स्वयं नै अन्तकरणमा एकीभावले उदय भई अज्ञान (म भाव) बाट उत्पन्न भएको अन्धकारलाई ज्ञान दिपक (स्वस्वरुप दर्शन) द्वारा नष्ट गर्दछु ।