कुन मानिस ईश्वर प्रति आकर्षित हुन्छ ? कुन मानिस ईश्वर प्रति श्रद्धा, भक्ति आदि भावहरु स्वतः उत्पन्न हुन्छ ? कुन प्रकृतिको मानिस ईश्वर प्रति आकर्षित हुँदैन ? कुन मानिसमा ईश्वर प्रति अश्रद्धा, उपेक्षा, अस्वीकारका भावहरु रहन्छन् ? ईश्वर प्रतिको श्रद्धा–अश्रद्धा, आस्था–अनास्थाको पछाडि मूलतः मानिसको त्रिगुण (तम, रज, सत) तत्वका परिमाणहरुले नै भूमिका खेलेका हुन्छन् । किनकि मानिसको जीवनमा गुण नै प्रकट हुन्छ । स्वयंमा जुन गुण प्रधान छ, उ मूलतः तिनै व्यक्ति, वस्तु, कर्म तर्फ नै आकर्षित हुन्छ । यो प्रश्नलाई किन मानिसहरु ‘अवतारहरु’ को जीवन तर्फ आकर्षित हुँदैन ? भन्ने प्रथम अध्यायको व्याख्याबाट पनि बुझ्न सकिन्छ । भगवान भन्नुहुन्छः
सदृशं चेष्टते स्वस्याः प्रकृतेर्ज्ञानवानपि ।
प्रकृतिं यान्ति भूतानि निग्रहः किं करिष्यति ।।३–३३।।
सम्पूर्ण प्राणी प्रकृतिलाई प्राप्त हुन्छन् । ज्ञानी पुरुष पनि स्वप्रकृति अनुसार नै चेष्टा गर्दछन् । फेरि यो (नियम) मा कसैको हठले के गर्दछ ?
जब मानिस तमगुण, रजगुण प्रधान हुन्छ । त्यो अवस्थामा उ शाश्वत ईश्वरीय नियमहरुको कारण नै स्वतः त्रिगुणी विषय प्रति आकर्षित हुन्छ । अनि यि विषयहरु प्राप्त गर्न उ सकाम कर्म तर्फ आकर्षित हुन पुग्दछ । जसको कारण मानिसहरु स्वतः ईश्वर तर्फ आकर्षित हुँदैनन् । ईश्वर प्रति एक लक्ष्य भएको हुँदैन । यो स्थितिको व्याख्या गर्दै भगवान भन्नुहुन्छः
व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन ।
बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ।।२–४१।।
हे अर्जुन ! यो कर्मयोगमा (साधकको) निश्चयात्मक बुद्धि एउटै हुन्छ । तर एक निश्चय नभएको सकामी मनुष्यहरुको बुद्धि निश्चय पनि अनन्त र धेरै भेदहरु भएको हुन्छ ।
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः ।
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः ।।२–४२।।
कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।
क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति ।।२–४३।।
भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते ।। २–४४।।
हे अर्जुन ! जो कामनामा तन्मय छन् । वेदका व्याख्या गरिएका सकाम वाक्य वा कर्ममा प्रिति राख्दछन् । जसको बुद्धिमा स्वर्ग नै परम प्राप्य बस्तु छ । जो स्वर्गभोग भन्दा दोस्रो वस्तु केहि छैन भन्दछन् । यि अविवेकि मनुष्यहरु जुन पुष्पित (देखावटी शोभायुक्त) वाणीहरु बोल्दछन्, ति जन्मरुपी कर्मफल दिने अनि भोग र ऐश्वर्य प्राप्तीको लागी धेरै कृयाहरुको वर्णन गर्ने हुन्छन् । ती पुुष्पीत वाणीहरुले जसको अन्तकरणलाई हरण गरेको छ, जो भोग तथा ऐश्वर्यमा आशक्त छ । त्यो मनुष्यको परमात्मा एक निश्चयपूर्ण बुद्धि हुँदैन ।
न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ।
माययापहृतज्ञाना आसुरं भावमाश्रिताः ।।७–१५।।
मायाद्वारा ज्ञान (चेतना) अपहरित, आसुरी स्वभाव धारण गरेका, मनुष्यमा नीच र दूषित कर्म गर्ने, मूढ मनुष्यहरु मलाई भज्दैनन् ।



