(वासना त्याग नष्ट भएको अहंकार कसरी पुनर्जीवित हुन्छ वर्णन गरिन्छ ।)
कार्यप्रवर्धनाद्वीजप्रवृद्धिः परिदृश्यते ।
कार्यनाशाद्वीजनाशः तस्मात्कार्यं निरोधयेत् ।।३१३।।
कार्य बढ्दा उसको बीजको वृद्धि भएको देखिएको छ । र कार्यको नाश भएपछि बीजको नाश हुन्छ । यसैले कार्यलाई नै नाश गर । ।।३१३।।
अंकुर (बीज फुट्नु) विउको कार्य हो । जब अंकुरलाई मल, जल प्राप्त हुँदै जान्छ उ हाँगा, विँगा, पुष्प, फलको रूपमा वृद्धि हुँदै जान्छ । जब अंकुरलाई मल, जल प्राप्त हुँदैन, उसको वृद्धि विकास रोकिन गई अनन्तः नष्ट हुनपुग्छ । त्यस्तै विषय चिन्तनरूपी अंकुर पनि अहंकाररूपी बीजको कारणले गर्दा प्रारम्भ हुन्छ । जब विषयरूपी चिन्तनको वृद्धि हुन्छ विषयरूपी अंकुर विस्तारै विस्तारै झाँगिदै गई वृक्षमा परिणत हुन्छ ।
हे शिष्य ! समस्त अनर्थको मूल, अहंकार(बीज) जसको कारण तिमीलाई विषय चिन्तन, भोग र यो संसार बन्धन प्राप्त भएको छ । यो बन्धन वा अहंकाररूपी बीजलाई नष्ट गर्न विषय चिन्तनरूपी कार्यको निषेध गर । जबसम्म विषय चिन्तन चलिरहन्छ । अहंकार झन झन झाँगिँदै जान्छ । तिमी जगत्को दल–दलमा नष्ट हुँदै जान्छौ ।
वासनावृद्धितः कार्यं कार्यवृद्ध्या च वासना ।
वर्धते सर्वथा पुंसः संसारो न निवर्तते ।।३१४।।
वासना बढ्दा कार्य बढ्दछ । कार्य बढ्दा वासना बढ्दछ । यसरी संसार बन्धन कहिल्यै छुट्न सक्दैन । ।।३१४।।
जब कुनै विषयप्रतिको चिन्तन (कार्य) बढ्दछ । स्वभावत त्यो विषयप्रतिको वासना झन झाङ्गिन पुग्दछ । विषय चिन्तन प्रक्रियाले वासनाहरू झन् शक्तिशाली बनि अन्ततः वासना आसक्तिमा परिणत हुन्छन् । यो अवस्थामा मनुष्यहरू स्वभावतः यी वासनाहरूप्रति आकृष्ट भई यी वासनाहरूको चिन्तन र भोगमा लागिरहन्छन् । ज्ञानको अभावमा यो क्रिया जीवनपर्यन्त चलिरहन्छ । विषय चिन्तन झन् तीव्र हुन थाल्दछ ।
यसरी वासना शक्तिशाली हुँदा विषय चिन्तनरूपी कार्यबढ्ने अनि विषय चिन्तन झाँगिदा वासना झाँगिने कारणले गर्दा मुनष्य यो विषय बन्धनबाट कहिल्यै मुक्त हुन सक्दैन ।
संसारबन्धविच्छित्त्यै तद्द्वयं प्रदहेद्यतिः ।
वासनाबुद्धिरेताभ्यां चिन्तया क्रियया बहिः ।।३१५।।
वासना आन्तरिक चिन्ता र बाह्यक्रियाद्वारा प्रेरित (प्रोत्साहित) हुन्छ । अतः यतिले (सन्यासी) संसारबन्धनको कारणको लागि यी दुवै( चिन्ता र क्रिया) लाई त्याग्नु पर्दछ । ।।३१५।।
अज्ञानको कारणले जब मनुष्य कुनै वासनाप्रति आकृष्ट हुन्छ । त्यो क्षणमा विषयप्रतिको आन्तरिक चिन्तन र चिन्ता मनमा चल्दछ । यही आन्तरिक चिन्तन (विचार) अन्ततः बाह्यक्रिया (विषयभोग) को रूपमा परिणत हुन्छ । यसरी विषय चिन्तन र भोग क्रिया दुवैले वासनालाई झन्–झन् शक्तिशाली बनाउँदछ ।
मुक्तिकामी साधकहरूले वासनाको यो बन्धनलाई काट्न
सर्वप्रथम विषय चिन्तन त्याग्नु पर्दछ । विषय चिन्तन मनमा उठिहाल्यो भने अत्यन्त संयमीत भएर वासना कर्ममा प्रवृत्ति हुनुहुँदैन ।
ताभ्यां प्रवर्धमाना सा सूते संसृतिमात्मनः ।
त्रयाणाञ्च क्षयोपायः सर्वावस्थासु सर्वदा ।।३१६।।
सर्वत्र सर्वतः सर्वं ब्रह्ममात्रावलोकनम् ।
सद्भाववासनादाढ्र्ये तत्त्रयं लयमश्नुते ।।३१७।।
(चिन्ता र क्रिया) यी दुवैको वृद्धिबाट प्राप्त विषय वासना (तेस्रो) जीवलाई संसारमा (संसार बन्धन) उत्पन्न गर्दछ । अतः यी तीनलाई क्षीण गर्न सम्पूर्ण जगत््मा सबैमा सर्वत्र ब्रह्म दर्शन गर्नु पर्दछ । यो सद्भावरूपी ब्रह्म वासना दृढ भएपछि ती तीनै लय (नष्ट) हुन जान्छन् । ।।३१६,३१७।।
विषय चिन्तन (प्रथम), भोग–क्रियाद्वारा (दोस्रो) विषयवासना वृद्धि (तेस्रो) भई मनुष्यलाई यो संसार बन्धन उत्पन्न गर्दछन् । अघिल्लो श्लोकमा गुरूदेवले वासनालाई नष्ट गर्न विषय चिन्ता र क्रियालाई त्याग्नु पर्ने उपदेश दिनु भएको थियो । यो श्लोकमा यी तीनै (विषय चिन्ता, भोग क्रिया, विषय वासना) लाई नष्ट गर्ने उपायको रूपमा सर्वत्र सर्वदा, सम्पूर्ण जगत्मा, सम्पूर्ण जीव, वस्तुलाई ब्रह्म देख्नुपर्ने विधि सुझाउनु हुन्छ । जब ब्रह्मरूपी चिन्तन दृढ भई साधक ब्रह्ममा विलय हुन सुरू गर्दछ । स्वभावतः वासना, चिन्ता तथा क्रिया तीनैको लय (नाश) प्राप्त हुन्छ ।
क्रियानाशे भवेच्चिन्तानाशोऽस्माद्वासनाक्षयः ।
वासनाप्रक्षयो मोक्षः सा जीवन्मुक्तिरिष्यते ।।३१८।।
क्रिया नष्ट भएपछि चिन्ता नाश हुन्छ । यसबाट वासना क्षीण (नष्ट) हुन्छ । वासनाको नाश हुनु नै मोक्ष हो । यसैलाई जीवन मुक्ति भनिन्छ । ।।३१८।
श्लोक ३१३, ३१४ मा विषय चिन्तन (कार्य) र अहंकार (वीज) श्लोक ३१५ मा वासनाको प्रारम्भीक सम्बन्धको बारेमा व्याख्या गरि सकिएको छ । श्लोक ३१५, ३१६, ३१७ मा वासना कसरी वृद्धि हुन्छ ? संसारबन्धन कसरी प्राप्त हुन्छ । कसरी सम्पूर्णलाई क्षय गर्न सकिन्छ भनि व्याख्या गरिएको छ । यो श्लोकमा अझै व्याख्या गर्दै भनिएको छ भोग प्रेरित बाह्य क्रियामा प्रवृत्त नभएपछि
स्वतः विषय वासनाको चिन्ता (चिन्तन) क्षीण हुँदै यो नष्ट हुन्छ । जब विषयप्रतिको चिन्तन नष्ट हुन्छ, स्वभावतः पुरुषको जगत् प्रतिको सम्पूर्ण सम्बन्ध नष्ट भई, बन्धन मुक्त हुने हुनाले यसैलाई जीवन मुक्ति पनि भनिन्छ ।
सद्वासनास्फूर्तिविजृम्भणे सति ह्यसौ विलीनाप्यहमादिवासना । अतिप्रकृष्टाप्यरुणप्रभायां विलीयते साधु यथा तमिस्रा ।।३१९।।
जसरी अत्यन्त घोर अँध्यारो रात्री पनि सूर्यको उदय हुने वित्तिकै नष्टहुन्छ । त्यस्तै प्रकार ब्रह्मवासनाको स्फूर्तिको विस्तार भएपछि अहंकार आदि वासनाहरू विलीन हुन्छन् । ।।३१९।।
विवेक, वैराग्य, श्रवण, मनन आदिद्वारा आत्म साक्षात्कार गरेको सुसंस्कृत मनले जब स्व–स्वरूपको नित्य आनन्दरूपी अनुभूति पाउँछ । त्यस्तो अवस्थामा जगत्का क्षणिक अनित्य भोग वस्तुको आनन्द भन्दा आत्माको नित्यआनन्द नै बढी रसदायी र आनन्ददायी हुने हुनाले मन जगत्का वासना भन्दा ब्रह्मवासना प्रति आकर्षित हुन थाल्दछ । त्यो अवस्थामा ब्रह्मवासनाको स्पूmर्ति शक्तिको विस्तार हुन थाल्दछ । ब्रह्मभावनाको वृद्धि भएपछि निश्चय नै देह, इन्द्रिय, विषय वासनाहरूको शक्ति क्षीण हुन पुगि अन्ततः नष्ट हुन्छन् । यस विषयमा दृष्टान्त दिँदै भनिएको छ की जसरी रात्रीको अँध्यारो सूर्यको उदयसँगै नष्ट हुन्छ, त्यस्तै जगत्् वासना ब्रह्मा वासना उदयसँगै विलीन हुन्छ ।
तमस्तमः कार्यमनर्थजालं न दृश्यते सत्युदिते दिनेशे ।
तथाऽद्वयानन्दरसानुभूतौ नैवास्ति बन्धो न च दुःखगन्धः ।।३२०।।
जसरी सूर्यको उदय भएपछि अन्धकार र अन्धकारमा हुने चोरी आदि अनर्थ समूह देखिँदैन । त्यस्तै यो अद्वितीय आनन्दरस स्वरूप ब्रह्मको अनुभूति भएपछि यो संसार बन्धन र दुःखको नामोनिसान रहँदैन । ।।३२०।।
जब विहानीमा सूर्यको उदयसँगै अन्धकार र यो अन्धकारको आवरणमा हुने कार्य चोरी, मार्ग भ्रम आदि नष्ट हुन्छन् । त्यस्तै आत्मज्ञान प्राप्ति पछि अनूभूति हुने अद्वितीय आनन्दस्वरूप परब्रह्मको अनुभूति प्राप्त भएपछि अनात्म जगत् वस्तुमा आत्मबुद्धिरूपी बन्धन रहँदैन । अध्यासरूपी अहंकारसँगै जगत्सँगको सम्बन्ध नष्ट भई नित्य आनन्ददायी ब्रह्मरस प्राप्त हुने हुँदा बन्धन र दुःखको नामोनिसान रहँदैन ।