तपाईंमा छिपेका चार सत्य (दुःख छ, दुःखको कारण छ, दुःख निरोध निर्वाण अवस्था छ, दुःख निरोध अवस्था प्राप्त गर्ने साधनाविधि वा मार्ग छ) परस्परमा जोडिएका छन् । जब तँपाई यी चार सत्यमध्ये कुनै पनि सत्यमा विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ त्यस स्थितिमा चारै सत्य समानान्तररूपमा साधनामा उत्रिन थाल्छन् वा प्रवेश गर्न थाल्छन् ।
उदाहरणका लागि मानौँ तँपाईले दुःख सत्यमाथि विपश्यना साधना प्रारम्भ गर्नुभयो । दुःखसत्यमाथि गरिने यस साधनामा तपाईं दुःख (संवेदना) प्रति जागरुक र समभावी बन्नुहुन्छ । जब तपाईं संवेदनामाथि जागरुक र समभावी बन्नुहुन्छ यही साधना नै विपश्यना (मार्ग सत्य) भएकाले मार्ग सत्य स्वतः साधनामा प्रवेश गर्छ । दुःख सत्यमाथि गरिने यस साधना प्रक्रियामा तपाईं चित्तको संवेदना भोग गर्ने स्वभाव (समुदय सत्य) माथि नै समभावी साधना गर्नुहुन्छ । जब तपाईं चित्तको संवेदना भोग गर्ने स्वभावमाथि साधना गर्नुहुन्छ त्यस क्षणमा ‘समुदय सत्य’ पनि स्वत विपश्यना साधनामा प्रवेश गर्छ ।
जब तँपाई यो साधना प्रक्रियाबाट निर्वाण प्राप्त गर्नुहुन्छ त्यस स्थितिमा निरोध निर्वाण सत्य पनि साधनामा प्रवेश गर्छ । यसरी तपाईंले जुनसुकै आर्य सत्यमाथि साधना गरे पनि यी चार सत्य साधनामा समानान्तररूपमा उत्रिन थाल्छन् वा जोडिन आइपुग्छन् । यसरी चार आर्य सत्य परस्परमा जोडिएका छन् ।