जब तँपाई यसरी कायमा उत्पन्न भएका संवेदनाहरूप्रति विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ, जब तपाईं शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म कायलाई एकएक इञ्च गर्दै टुक्र्याउँदै उत्पन्न भएका संवेदनाहरूमाथि विपश्यना साधना गर्नुहुन्छ तब काय र चित्त अन्योन्याश्रितरूपमा जोडिएका कारण चित्त स्वतः तपार्इँको साधना प्रक्रियामा प्रवेश गर्छ । तपाईंको जीवनको संरचना नै यस्तो छ कि जब कायमा संवेदना उत्पन्न हुन थाल्छ तब चित्तको चारै खण्ड (विज्ञान, संज्ञा, वेदना, संस्कार) स्वतः क्रियाशील हुन थाल्छ । यथार्थमा चित्तका यी चार खण्ड क्रियाशील भएका कारण नै तपाईंले कायमा सुखद वा दुखद संवेदना उत्पन्न भएको बोध गर्नुभएको छ ।
कायानुपश्यना साधनामा चित्त यसरी स्वतः प्रवेश गरे पनि ‘चित्त’ तपाईंको देहसत्ताको एक पृथक क्षेत्र पनि हो । चित्त स्वयंले पनि प्रतिक्षण अनेक प्रकारका धर्म (चित्तले जे धारणा गर्छ त्यसलाई पनि धर्म भनिन्छ) धारण गरिरहन्छ । चित्तले कुनै पनि क्षण कुनै पनि कारण काम, क्रोध, लोभ, मोह, स्नेह, आशा, निराशा आदि कुनै पनि प्रकारका धर्मलाई धारणा गर्न सक्छ । भगवान् बुद्धले महासत्तिपट्ठान सुत्तमा निवरणपर्व, स्कन्धपर्व, आयतनपर्व, बोध्यङ्गपर्व, चार सत्यपर्व, आदिमा चित्तले ग्रहण गर्ने अनेक प्रकारका धर्मको व्याख्या गर्नुभएको छ ।
निर्माण अभिलाषी साधकले चित्तले ग्रहण गर्ने अनेक प्रकारका संवेदनाहरूमा कसरी विपश्यना साधना गरिन्छ भन्ने कुराको जानकारीका लागि महासत्तिपट्ठान सुत्त अध्ययन गर्न सक्नुहुन्छ । यी अनेक प्रकारका धर्म धारण गरेका कारण चित्तको क्षेत्रमा पनि अनेक प्रकारका संवेदना प्रतिक्षण उत्पन्न भइरहेका हुन्छन् । प्रतिक्षण तपाईंको चित्तमा दुःख र सुखसँग जोडिएका अनेक विचार, भाव उत्पन्न भइरहेका हुन्छन्, विलय भइरहेका हुन्छन् ।
जब चित्तको क्षेत्रमा यसरी संवेदना उत्पन्न हुन्छन् तब काय क्षेत्रमा उत्पन्न संवेदनाहरूमाथि गरिएको साधनाझैँ चित्तको क्षेत्रमा उत्पन्न संवेदनाहरूलाई पनि समभाव, शुद्धभाव, द्रष्टाभाव, साक्षीभाव, न राग न द्वेषपूर्ण संप्रज्ञान, जागरुक दृष्टि, आदिका रूपमा अवलोकन गर्न प्रारम्भ गर्नुहोस् । चित्तानुपश्यना (चित्तमा उत्पन्न संवेदनाहरूमाथि गरिने विपश्यना) मा पनि विपश्यनाको त्यही विशेष अवलोकन विधिअनुरूप नै चित्तको क्षेत्रमा उत्पन्न संवेदनाहरूलाई अवलोकन गर्नुहोस् ।
चित्तानुपश्यना साधना भनेको के हो ?
चित्तानुपश्यना साधना कसरी गरिन्छ ?
माथिका प्रश्नहरुको उत्तर अध्याय एघारमा दिइएको छ ।