जहाँ बुद्ध हुन्छन्, त्यहाँ जयजयकार हुँदैन

बुद्धका आँखाहरु अर्धमूदित छन् । ति आँखाहरु शान्त र मौन छन् । लाग्दछ बुद्ध ध्यानको सघन गहिराइमा डुब्नुभएको छ । कुनै अज्ञात प्रदेशमा हराउनुभएको छ । तर बुद्धका नयनहरु जागरुकताका नयनहरु हुन् । ति होसका नयनहरु हुन् । होसका नयनहरु विस्मृत लोकमा हराउँदैनन् । ति स्वयंतिर फर्किन्छन् । स्वयंको वेहोसी प्रति नै जागरुक हुन्छन् । ति नयनहरुले मात्र एक सन्देश दिन्छन् कि स्वयं प्रति नै जागरुक बन । यसैले जहाँ बुद्ध हुन्छन् । त्यहाँ मात्र जागरुकता हुन्छ । स्वयं प्रति नै अन्तरदृष्टि हुन्छ । त्यहाँ शुद्ध जागरुकताको सततु धारा मात्र बहन्छ । त्यहाँ जयन्ती हुँदैन । व्यक्ति विशेषको बेहोसपूर्ण पूजा, जयजयकार हुँदैन । किनकि बुद्धको सम्पूर्ण जीवन यात्रा भन्नु नै असत् वाह्य जयजयकार माथिको जागरुक दृष्टि हो । यो त्यहि जागरुकता हो, जसले बुद्धलाई अन्ततः निर्वाण प्रदान गयो |

बुद्ध राजदरबारका पुत्र हुन् । तिनी राजकुमार हुन् । तिनी जयजयकारको परिवेशमा हुर्किएका छन् । तिनी ति महत्वकांक्षी राजा शुद्धोदनका पुत्र हुनु, जो आफ्नो पुत्रलाई चक्रवर्ती सम्राट बनेको हेर्न चाहन्छन् । टाढा टाढा सम्म फैलिएको साम्राज्य, टाढा टाढा सम्म फैलिएको पुत्रको जयजयकार, पुत्रको पिताको रुपमा स्वयंको प्रसिद्धि, अनि युगौं युग सम्म फैलिरहने शाक्य वंशको किर्तिको अभिलाषी छन् ।

फेरि ऋषि कालदेवल र अष्ट ब्राम्हणहरुको “ दरबारमा रहे चक्रवर्ती सम्राट र प्रजवित जीवन ग्रहण गरे बुद्ध” भन्ने भविष्यवाणी तीनको जयजयकारको तृष्णा मार्गमा अवरोध बनेर उभिएको छ । राजा शुद्धोदनको दृष्टि बाह्य संसारमा छ । ति जीवनको जयजयकार बुझ्दैनन् । बुद्धत्वको स्थितिमा मनुष्य मनमा सृजना हुने आन्तरिक सिमाहीन साम्राज्यको मर्मलाई आँकलन गर्न सक्दैनन् । तिनी स्वयंको पुत्रलाई बाह्य जयजयकारको असत् संसारमा धकेल्न उद्धत् छन् । प्रपञ्चहरु रच्दछन् ।

तिनले बुझेका छन् कि वैराग्य, सन्यास, प्रजवित जीवन, मोक्ष आदि प्रतिको मानिसको चेतनालाई जगतका विषयहरुले नै समाप्त पारिदिन सक्दछन् । विनास गरिदिन सक्दछन् । चेतनामा मायाको एक आवरण सृजना गरेर मानिसलाई बन्धनमा पारिदिन सक्दछन् । किनकि यो जगत नै यो सत्यको साक्षी छ । यहाँ प्रत्येक मानिस नै यो सत्यको ज्यूँदो प्रमाण छ ।

अन्ततः वाह्य जयजयकारका अभिलाषी राजा शुद्धोदनले शाश्वत जीवन प्रति पुत्रमा विचार नै उत्पन्न॒ नहोस् । वैराग्य, प्रजवित जीवन, सत्य, निर्वाण आदि क्षेत्रहरु तर्फ उहाँको चेतना नै प्रवाहित नहोस् । राजकुमार संसारको परिधि बाहिर कहिल्यै नपुगुनु आदि ध्येयहरुले बुद्धको वरिपरि प्रत्येक सांसारिक मानिसले कल्पना गर्ने वा प्राप्त गर्न मरीमेटी लागिरहेको अत्यन्त सुन्दर सांसारिक जगतको निर्माण गरिदिए ।

राजकुमारको लागि ऋतुकालीन दरवारहरु बनाइए । दरबारको वरिपरि अत्यन्त सुन्दर बगैंचाहरु र फूलबारीहरु निर्माण गरिए । मुर्झाएको फूलहरुले राजकुमारको मनमा कतै वैराग्यका भावहरु उत्पन्न गरिदिन्छ कि भन्ने भयले फूलहरु मुर्झाउनु पूर्व नै टिपिए । राज्यबाट छानी छानी सुन्दरी सेविकाहरु, विशिष्ट नृत्याङ्गनाहरु, गायिकाहरु, वाद्यवादिकाहरु दरबारमा ल्याइए । राजकुमारलाई गीत, संगीत, नृत्य, विशिष्ट भोजनहरु, सुमधुर संगीतको आवाज सँगै सुत्ने आदि अनेकन विशिष्ट व्यवस्थाहरु पनि गरिए ।

दरबार भित्र प्रत्येक पाइला पाइलामा राजकुमारलाई सम्मान, प्रशंसा र जयजयकारको स्थिति सृजना गरियो । जब राजकुमारलाई दरबार बाहिर जानु पर्दथ्यो ति क्षणहरुमा वृद्ध वृद्धाहरुलाई सवारी मार्गबाट हटाइयो । हातमा माला, फूल आदि सहित साधारण नरनारीलाई अत्यन्त कृतज्ञभावमा लामवद्ध रु पमा राजकुमारको जयजयकार गर्न सिकाइयो ।

फेरि राजकुमारको वरिपरि यि अनेकन विशिष्ट सांसारिक विषय परिधिहरु सृजना गरेर पनि राजा शुद्धोदन निश्चिन्त बन्न सकेनन् । अन्ततः तिनले बुद्धलाई संसारमा बाँध्न सक्ने अन्तिम अस्त्र पनि प्र योग गरे । वयस्क हुनुपूर्व नै राजकुमारको विवाह रचियो । शीघ्र तिनी एक पुत्रका पिता पनि बने ।

फेरि, प्रत्येक मानिसको जीवनको गहिराइमा एक रहस्यमय जीवन्त जीवन चेतना छिपेको थियो । यो जीवन्त चेतनाको असाधारण प्रकृति यो थियो कि यो चेतना संसारको असत् परिधि भित्र बाँधिएर बस्न सक्दैनथ्यो । यो चेतना जीवनको पूर्ण मुक्तिको अभिलाषा राख्दथ्यो । बुद्धमा यो चेतना अत्यन्त जाग्रत अवस्थामा थियो ।

शनैः शनै बुद्धको जीवनको गहिराइबाट उठिरहेका जिवन्त चेतनामा राजा शुद्धोधनले सिर्जना गरेका मायाका असत् आवरणहरु कमजोर सावित हुँदै गए । बुद्धको मनमा उठिरहेका जीवन सम्बन्धि प्रश्नहरु ले यि मायाका पर्खालहरुलाई एक पछि अर्को गर्दै भेदन गर्दै गए ।

प्रारम्भिक आध्यात्मिक संघर्ष र प्रस्फुटनका यि दिनहरुमा भगवान बुद्ध (तत्कालीन युवराज) ऋतुकालिन दरबार, सुन्दर बगैंचा र फूलबारीहरु, सुन्दरी सेविकाहरुको सेवा, राजसभामा सम्माननीय पद, सर्वत्र जयजयकार, प्रशंसा, अतूल भोग, वैभव आदिको माझमा स्वयंको अतृप्त जीवनलाई नियाल्दै स्वयंलाई अनेकन प्रश्नहरु गरिरहनुहुन्थ्यो ।

उहाँ स्वयंलाई सोधिरहुनुहुन्थ्यो कि के यि बस्तुहरुको प्राप्ति नै जीवन हो ? के जीवन भन्नु नै मात्र यति हो ? के जीवनमा केहि सार वस्तुको प्राप्ति सम्भव छ ? जति जति उहाँका मनमा यि प्रश्नहरु सघन हुँदै गए । उहाँमा यी सारहीन अनि जीवनको आन्तरिक प्यास मेटाउन पूर्ण असमर्थ भोगहरु र प्राप्तिहरु प्रति वितुष्णाहरु उत्पन्न हुँदै गयो । स्वयंको जीवन साधारण सांसारिक प्राप्तिहरुको लागि व्यर्थ खेर गइरहेको बोध झन् झन् घना हुँदै गयो ।

एक दिन जब उहाँको दृष्टि एक रोगी, एक वृद्ध र एक मृतकमा पन्यो । अनि जब उहाँको जागरुक दृष्टिमा मेरो जीवनको भविष्य पनि यहि हो भन्ने यथार्थताको स्पष्ट बोध भयो । उहाँको जाग्रत चेतनाहरुले राजा शुद्धोधनले सृजना गरेका सुन्दर सांसारिक पर्खालहरुलाई भत्काइदिए ।

त्यो पर्खाल जहाँ जगतका सम्पूर्ण मानिसहरु कैद थिए । अनेकन तृष्णाहरुमा घुमिरहेको थियो । एक मध्य रातमा उहाँ संसारको त्यो दुरुह किल्लालाई तोडेर निर्वाणको खोजीको निम्ति निस्कनु भयो ।

उहाँ निर्वाण खोजको त्यो जगतमा प्रवेश गर्नुभयो । जुन अदृष्य थियो । जटिल थियो । रहस्यमय थियो । त्यो संसारका प्रत्येक पाइलामा भासहरु थिए । यो त्यो मार्ग थियो जुन करोडौंमा मात्र एक अत्यन्त जागरुक यात्रीले पार गर्न सक्दथ्यो ।

यो निर्वाण यात्राको प्रथम आवश्यकता थियो एक मोक्ष प्राप्त सद्गुरुको प्राप्ति । वा, त्यो मोक्ष पुरु षको प्रत्यक्ष मार्गनिर्देशन जसलाई यथार्थमा नै मोक्ष अनुभूति प्राप्त भएको थियो । अनि जो यो रहस्यमय, जटिल, अस्पष्ट र भासपूर्ण मार्गमा साधकहरुलाई लक्ष्य सम्म पुयाउन इच्छुक र समर्थ थियो

दरवार त्याग पश्चातका कैयन महिनाहरु सम्म भगवान तत्कालिन भारतवर्षका अनेकन धर्म, ईश्वर आदिसँग सम्बन्धित गुरुहरु, आश्रमहरु र सम्प्रदायहरुमा मोक्ष प्राप्त गुरु कोहि छ कि भनी सोध्दै खोज्दै हिडिरहनुभयो । जाडो, वर्षा, हिउँद, गर्मी, थकाई आदि नभनी मोक्ष गुरु खोजको यात्रालाई निरन्तरता दिइरहनुभयो । फेरि मोक्षको संसारमा सत्य मोक्ष प्राप्त गुरु प्राप्ति सहज थिएन ।

जति जति भगवान सद्गुरु खोजको यात्रालाई निरन्तरता दिइरहनु भयो । उहाँको जागरुक दृष्टिमा आध्यात्मिक संसारका अनेकन मिथ्या दृश्यहरु एक पछि अर्को गर्दै खुल्दै गए । आध्यात्मिक संसार अत्यन्त रहस्यमय संसार थियो । यो संसारमा असंख्य साधकहरु मोक्षको खोजमा समाहीत भएका थिए । घर गृहस्थ त्यागेर परिव्राजकको जीवन पनि ग्रहण गरेका थिए । फेरि यि सम्पूर्ण साधकहरु पृथक पृथक गुरु, सम्प्रदाय, दर्शन, मत आदिमा विभक्त थिए । यिनिहरुको बाह्य भेषभूषा, जीवनशैली, साधना विधिहरु पनि पृथक पृथक थिए ।

कोहि लामो कपाल पाल्दथे । कोहि शीर मुण्डन गर्दथे । कोहि राता, पहेँला वस्त्र धारण गर्दथे । कोहि निर्वस्त्र थिए । कोहि मौनी थिए एक शब्द पनि उच्चारण गर्दैनथे । फेरि कोहि अविरल मन्त्र मात्र उच्चारण गरिरहन्थे । कोहि शीर देखि नाकको टुप्पासम्म सेता टिकाहरु लगाउँथे । कोहि अल्पहारी थिए फेरि कोहि मासु, मादक पदार्थ पनि सेवन गर्दथे ।

कोहि एउटा खुट्टामा दीर्घकालसम्म उभिएर शरिरलाई यातना दिइरहन्थे । फेरि कोहि एक हात आकाशमा उठाइरहुन्थे । कोहि काँडामा सुत्दथे । गाई, कुकुर वा अन्य जनावर झैँ हिँड्ने साधकहरु पनि थिए । यि सम्पूर्णको खोज उहाँको झैँ सत्यको नै थियो । निर्वाणको थियो । अभिलाषा मोक्षको नै थियो ।

भगवान आध्यात्मिक संसारका यि अनेकन दृश्यहरुलाई हेर्दै, प्रत्येक आश्रममा एक देखि तीन महिना सम्म बस्दै, प्रत्येक गुरु, सम्प्रदायका विधा, साधना विधिहरु अध्ययन, प्रयोग र परिक्षण गदे हिडिरहनुभयो । फेरि उहाँको जागरुक दृष्टिमा यि विद्याहरु, साधना विधिहरु पनि टिक्न सकेननु भगवान निराश हुनुभएन । उहाँले होसपूर्ण दृष्टिले सद्गुरु खोजको यात्रालाई जारी राख्नुभयो । उहाँ एक पछि अर्को आश्रमको भ्रमण गरिरहनुभयो ।

भगवान अत्यन्त सुन्दर हुनुहुन्थ्यो । उहाँ देवी लक्षणहरुले युक्त हुनुहुन्थ्यो । राजपरिवारमा पोषित, शिक्षित हुनुभएकाले उहाँको व्यक्तित्व ओजपूर्ण थियो । यसरी सद्गुरु खोज्दै आश्रम भ्रमण गर्ने क्रममा जब उहाँ कुनै नयाँ आश्रममा पुग्नुहुन्थ्यो । कुनै संभ्रान्त परिवारबाट आएको झैँ देखिने सम्भाव्य शिष्य प्रति गुरुहरु आकर्षित हुनुहुन्थ्यो । स्वयंले जानेका विद्याहरु, साधना विधिहरु प्रेमपूर्वक सिकाइदिनुहुन्थ्यो

फेरि गुरुहरुको यो उदारता र स्नेहको पछाडि पनि मूलतः सांसारिक तृष्णा नै छिपेको हुन्थ्यो । एक समुद्ध परिवारको सदस्यले आश्रमको शिष्यत्व ग्रहण गर्नुको अर्थ गुरुहरुले बुझ्नुभएको थियो । यो क्रममा भगवानलाई कैयन आश्रमका गुरुहरुले स्तरिय पदहरु पनि प्रदान गर्नुभएको थियो । शिष्यत्व ग्रहणको लागि अनुरोध पनि गर्नुभएको थियो । फेरि जागरुक भगवान सहजै अन्धश्रद्धा, अन्धभक्ति वा अनुरोधको कारण नै कुनै गुरुको शिष्यत्व ग्रहण गर्न सक्नुहुन्नथ्यो ।

यसरी एक पछि अर्को गुरु, आश्रम, सम्प्रदायमा केहि दिन वा हप्ताहरु बिताउँदै जाँदा भगवानको होसपूर्ण दृष्टिमा आध्यात्मिक जगतका नयाँ नयाँ सांसारिक दृश्यहरु उदुभाशित हुँदै गए । आध्यात्मिक संसार झुटो झैं प्रतित हुन्थ्यो । यो जगतमा आध्यात्मिकता नै शून्य थियो । आध्यात्मिक रु पान्तरण विपरित दिशामा प्रवाहित थियो । मात्र आवरणीय आध्यात्मिकता शेष थियो । आध्यात्मिक आवरणको पर्दाभित्र सांसारिक वृत्ति नै फस्टाइरहेका थिए ।

विभिन्न प्रकारका वस्त्रहरु, मालाहरु, टीकाहरु आदि लगाएका विभिन्न गुरुहरु, सम्प्रदायहरुमा आवद्ध साधक साधिकाहरु जो जगतको रागपूर्ण र द्वेषपूर्ण बन्धनहरु नष्ट गरी निर्वाण प्राप्त गर्ने अभिलाषाले आध्यात्मिक संसारमा आएका थिए । तिनीहरु स्वयंको गुरु, सम्प्रदाय, वस्त्र, साधना विधिहरु प्रति अत्यन्त रागपूर्ण दृष्टि र जयजयकारको भावमा डुबिरहेका थिए । यी बस्तुहरुबाट नै बन्धन प्राप्त गरिरहेका थिए ।

कैयनु साधक साधिकाहरु गुरुलाई सर्वस्व पनि मान्दथे । अनि यिनीहरु अन्य गुरु, सम्प्रदाय र साधना विधिहरु प्रति द्वेषपूर्ण दृष्टि राख्दथे । यी साधक साधिकाहरुमा गुरु, सम्प्रदाय, धर्मरूपी रागहरु पनि बन्धन नै हुन् भनेर चिन्ने जागरुक दृष्टि नष्ट भइसकेको थियो । सबै जना होस र जागरुकता के चर्चा गर्दथे । फेरि स्वयंको बेहोसी स्थिति प्रति जागरुकता शुन्य थियो । सर्वत्र बेहोसी के राज्य थियो ।

कैयन साधक साधिकाहरुमा दीर्घकालसम्मको गलत साधना विधिको कारण मानसिक विच्छिप्तता, एकोहोरापना, चिटचिटाहटपूर्णता अनि जड भावना आदिको विकास भएको थियो । आध्यात्मिक आनन्दको शान्त महासागरमा कोहि तृप्त भई डुबेको थिएन । कसैको नयनमा जीवनप्रति तृप्त, मुग्ध

भाव, संगीत, सुगन्ध, र नृत्य उपस्थित थिएन । आध्यात्मिक संसारमा जे प्राप्त हुन्छ भनिएको थियो, त्यो सम्पूर्ण झुटो थियो । आध्यात्मिक भासमा अडकिएका यि साधक साधिकाहरु न त स्वयंले ग्रहण गरेको व्यर्थ बोझपूर्ण शिष्यत्व त्याग गरी स्वतन्त्र संसारमा फर्किन सक्दथे । न त मोक्ष मार्गमा कुनै प्रगति नै गरिरहेका थिए ।

साधना (मूलतः ध्यान साधना) मा एकाग्रताको कारण प्राप्त हुने विनासी वा क्षणिक शान्ति र आनन्दको अनुभूतिहरुलाई मोक्ष मार्गको अनुभूति मानेर व्यर्थ समय र जीवनलाई बर्बाद गरिरहेका थिए । भगवानलाई करोडौँमा आखिर किन मात्र एक-दुई साधुकले यो मार्गलाई छिचोलेर लक्ष्यमा पुग्न सक्दछ भन्ने यथार्थताको बोध भइरहेको थियो ।

आध्यात्मिक जगत यो राग र द्वेषको बन्धनबाट साधक साधिकाहरु मात्र नभई स्वयं गुरुहरु पनि मुक्त हुनुहुन्थेन । गुरुहरुको प्रथम र जटिल बन्धन थियो – गहिराइमा ‘म गुरु हूँ’ भन्ने अहं भाव । अनि त्यो भावको कारण मनमा जन्मने सम्मान, जयजयकार प्रतिको तृष्णा । जुन गुरुहरु मोक्षको चर्चा गर्नुहुन्थ्यो । ‘म’ रुपी भाव नष्ट गर्नुपर्ने आवश्यकता औँल्याउनुहुन्थ्यो । यो केन्द्रीय बन्धनले उहाँहरुलाई नै आन्तरिकतामा दुःख दिइरहेको थियो । बाँधिरहेको थियो ।

प्रत्येक आश्रमहरुमा गुरु-शिष्य प्रेम वा गुरुको शिष्यहरु प्रतिको समप्रेम, समभाव एक झुटो शब्द थियो । प्रत्येक आश्रममा गुरुहरुका प्रिय अप्रिय शिष्यहरु हुन्थे । कैयन आश्रममा गुरुहरु कमजोर शिष्य प्रति क्रोधित मात्र नभई दण्ड दिन समेत उत हुनुहुन्थ्यो ।

फेरि गुरुहरु विच शिष्यहरुको संख्या, आश्रमहरुको संख्या, प्रसिद्धि, भौतिक प्रगति आदिहरुको कारण जन्मने आन्तरिक राग द्वेषपूर्ण बन्त्रबाट कुनै पनि गुरु मुक्त हुनुहुन्थेन । आध्यात्मिक सांसारिक अको एउटा जटिलता के थियो भने यहाँ नजानेको कोही थिएन । फेरि जानेको कसैले थिएन । यो संसारमा प्रत्येक गुरु दोश्रो गुरु प्रति इर्ष्यापूर्ण, आलोचनापूर्ण र म नै ऊ भन्दा बढि जान्ने (ज्ञानी) हुँ भन्ने भावबाट ग्रसित हुनुहुन्थ्यो । सांसारिकताबाट कहिँ कोहि मुक्त थिएन । यी सम्पूर्ण बस्तु वा स्थिति प्रति जागरुक दृष्टि स्वयं गुरुहरुमा नै थिएन ।

झण्डै तीन वर्षसम्म अनेकन गुरुहरु, आश्रमहरु, सम्प्रदायहरुको भ्रमण पश्चात पनि भगवानको जागरुक दृष्टिले कुनै गुरुलाई स्वीकार गर्न सकेन । कुनै गुरुलाई जयजयकार गर्न अस्वीकार गयो । यो अवधिसम्म उहाँले कुनै शिष्यत्व ग्रहण गर्नुभएन ।

यहि क्रममा उहाँ गुरु आलार कालम कहाँ आइपुग्नुभयो । गुरु आधुनिक विचारको हुनुहुन्थ्यो । जब भगवान गुरु कालमका आधुनिक झैँ प्रतित हुने शब्दहरु सुनिरहनुभएको थियो । उहाँ यि आधुनिक गुरु प्रति झन् झन् होसपूर्ण हुनुभयो । उहाँको तिक्ष्ण दृष्टिले गुरु कालमका प्रत्येक शब्दहरु सत् हुन कि असत् भनी गहिराइमा जाँचिरहेका थिए । भगवान स्वयंलाई सोधिरहनु भएको थियो कि के उहाँ मोक्ष प्र प्त गुरु हुनुहुन्छ भन्ने प्रमाण के छ ? के उहाँका शब्दहरु साँच्चै नै स्व-अनुभूतिका शब्दहरु हुन् ? आदि

भगवानमा गुरु कालम प्रतिको यो शंशय दृष्टि मूलतः उहाँको सद्गुरु खोजको अनुभवमा नै आधारित थियो । आध्यात्मिक संसारको एउटा जटिलता के थियो भने यो जगतमा प्रत्येक गुरु स्वयंलाई अन्य गुरु वा सम्प्रदायबाट पृथक, मौलिक विचारयुक्त र विशिष्ट देखाउन केहि न केहि नयाँ विचार, विद्या, साधना विधिहरुको सृजना गर्नुहुन्थ्यो ।

गुरुहरुलाई यो एक बाध्यता पनि थियो । विलाकि आध्यात्मिकताको बजारमा तिब्र प्रतिस्पर्धा थियो । अनि स्वयंलाई यो बजारमा स्थापित गर्न केहि नयाँ दिनु पर्दथ्यो । फेरि गहिराइमा यथार्थता के थियो भने यि नवीन झैँ प्रतित हुने विचार, विद्या, साधना विधिहरु कुनै पनि यथार्थमा नवीन वा मौलिक हँुदैनथे । यि सम्पूर्ण अन्य गुरु वा शास्त्रहरुबाट ल्याइएका परिवर्तित जलपपूर्ण रुप मात्र हुने गर्दथे । गहिराई अपभ्रंशीत हुने गर्दथे ।

एउटा मात्र पनि मोक्ष साधना विधिको सिद्धि नभएको गुरुले अन्य गुरुहरु वा सम्प्रदायहरु आकर्षण वा लोकप्रिय साधना विधिहरुलाई संग्रह गरेर धेरै साधना विधिहरुको सतही ज्ञान दिनु, परम्परागत पण्डित, शास्त्र, बाह्य भेष र कर्मकाण्डीय साधना विधिको धज्जी, खिल्ली उडाएर स्वयंलाई आधुनिक देखाउनु आध्यात्मिक विषयवस्तुहरुलाई सम्भव भएसम्म सुन्दर शब्दहरुमा प्रस्तुत गरेर स्वयंलाई बौद्धिक प्र भावकारी गुरुको रुपमा स्थापना गर्न खोज्नु आदि आदि जस्ता आध्यात्मिक जगतका मीथ्या दृश्यहरुसँग भगवान परिचित हुनुहुन्थ्यो ।

सद्गुरु खोजको असफल यात्रामा यि सम्पूर्ण अनुभवहरु उहाँ स्वयंले भोग्नु भएको थियो वा देख्नु भएको थियो । यसैले पछिल्ला दिनहरुमा जब भगवान कुनै नयाँ गुरुलाई भेट्नुहुन्थ्यो । वा नयाँ गुरुको बारेमा सुन्नुहुन्थ्यो । उहाँको जागरुकता झन तिब्र हुने गर्दथ्यो । शंशय झन् विस्तारित हुन्थ्यो । मात्र एक प्रश्न मनमा उठ्थ्यो कि के यथार्थतामा उहाँलाई मूल तत्व प्राप्त छ त ?

प्रारम्भमा भगवान गुरु कालमका शब्दहरुबाट प्रभावित हुनुभएन । जब गुरुले भन्नुभयो कि कुनैपनि तृक्ष्ण र लगनशील साधकले उहाँको ध्यान साधना विधिद्वारा मृत्य पश्चात नभइकन वर्तमान जीवनमा नै, अनु शिघ्र समयमा नै निर्वाणको अमृत अनुभूति प्राप्त गर्न सक्दछ । भगवान गुरु कालमका यि शब्दहरुबाट प्रभावित हुनुभयो ।

किनकि आज सम्म वर्तमान जीवनमा नै अझ शिघ्र समयमा नै मोक्ष प्रदान गर्ने साधना विद्या प्रदान गर्न सक्दछ भनी दावी गर्ने कुनै गुरु उहाँले फेला पार्नुभएको थिएन । सद्गुरु खोजको एक लामो यात्रामा धेरै गुरुहरुलाई अस्वीकार गर्नुभएको भगवानले अन्ततः गुरु कालमको शिष्यत्वलाई ग्रहण गर्नुभयो ।

उहाँकै निर्देशनमा साधना प्रारम्भ गर्नुभयो । अनि शिघ्र समयमा नै गुरु कालमको ध्यान साधना विधिले प्रदान गर्न सक्ने शिखर स्थिति रूपी सातौं ध्यान वा समाधी स्थितिमा उहाँ सहजै पुग्नुभयो । गुरु कालमले यहि समाधी स्थिति नै मोक्ष स्थिति हो भनी भन्नुभएको थियो ।

आध्यात्मिक संसारमा एउटा मीध्या के थियो भने नव साधक साधिकाहरु साधनामा जब कुनै नवीन अनुभूति प्राप्त गर्दथे । तिनिहरु त्यहि नवीन अनुभूतिलाई नै मोक्ष अनुभूति मानी त्यो विधि प्रदान गर्नुहुने गुरुप्रति कृतज्ञ बनी गुरुको जयजयकार गर्दथे । यो प्रचलन सर्वत्र थियो । यो बेहोसीबाट मुक्त कोहि थिएन । भगवान गुरुहरुको यो बेहोसपूर्ण जयजयकार स्वीकार्न सक्नुहुन्नथ्यो । प्रत्येक साधना अनुभूति सत् हो कि असत् उहाँ जागरुक दृष्टिले हेर्नुहुन्थ्यो ।

भगवानले गुरु कालमको यो साधना विधिबाट प्राप्त समाधी स्थितिलाई जागरुक दृष्टिले निष्पक्ष मूल्याङ्कन गर्नुभयो । स्पष्ट थियो जुन समाधी स्थिति उहाँले प्राप्त गर्नुभएको थियो । त्यो अनुभूति स्थायी अनुभूति थिएन । अविनाशी मोक्ष स्थिति त्यो थिएन । ध्यानबाट बाहिर आएको लघु समयमा नै त्यो समाधी अनुभूति बिलाएर जान्थ्यो ।

अझ मूल प्रश्न त आन्तरिक रुपान्तरको थियो । ध्यानबाट गहन समाधी अनुभूति त प्राप्त भएको थियो । तर मनको आन्तरिक अवस्था परिवर्तन भएको थिएन । चित्तका विकारहरु (अहं, काम, क्रोध आदि) ज्यूँ का त्यूँ उपस्थित थिए । चित्त निर्मल भएको थिएन । कुनै मोक्ष स्थिति प्राप्त भएको थिएन । मात्र एक भ्रमित साधना अनुभूति प्राप्त भएको थियो ।

स्पष्ट थियो गुरु कालम स्वयंमा मोक्ष प्राप्त गुरु हुनुहुन्थेन । उहाँको ध्यान साधना आंशिक, अपूर्ण, विकार नष्ट गर्न असमर्थ र मोक्ष प्रदान गर्न असमर्थ थियो । भगवान यो असत् क्षणिक आध्यात्मिक अनुभूतिलाई स्वीकारेर गुरु कालमको शिष्यत्वको बोझ र बन्धनमा बाँधिन सक्नुहुन्नथ्यो । भगवानले गुरु कालमको शिष्यत्वलाई त्याग्ने निर्णय गर्नुभयो ।

जब भगवानले आफ्नो यो निर्णय गुरु कालमलाई सुनाउनु भयो । बृद्ध गुरु कालम हताश अनि निरास हुनुभयो । स्वयंको एक योग्य, समकक्षी प्रतिभाशाली, तरुण शिष्यलाई आफ्नो सम्प्रदायको जिम्मा लगाएर स्वयंको किर्ति वा जयजयकारलाई दीर्घकाल सम्म जिवित राख्ने उहाँको तृष्णामाथि कुठाराघात भइरहेको थियो ।

वृद्ध गुरुले भगवानलाई तत्क्षण आश्रमको प्रमुख पद प्रदान गर्नुभयो । भगवानले विनम्रतापूर्वक गुरु लाई स्वयंको आध्यात्मिक खोजको लक्ष्य गुरुत्व नभई बुद्धत्व रहेको स्पष्ट गर्दै आश्रमलाई त्याग्नु भयो । वृद्ध गुरु कालम स्वयंलाई त्यागेर कुनै अनिश्चित दिशातर्फ बढिरहनु भएको बुद्धलाई क्रोधित दृष्टिले लामो समयसम्म हेरिरहुनुभयो । संसारमा तृष्णाको साम्राज्य थियो । स्वयं प्रति होसपूर्ण दृष्टि सहज थिएन । के गुरु, के शिष्य सम्पूर्ण बेहोसीमा नै डुबिरहेका थिए ।

गुरु कालम पश्चात भगवानले उबक रामपुत्तको शिष्यत्वलाई ग्रहण गर्नुभयो । फेरि उक रापपुत्तबाट पनि उहाँले सत्य मोक्ष साधना विधि पाउन असमर्थ हुनुभयो । गुरु रामपुत्तले पनि अन्ततः उहाँसँग गुरु कालम के व्यवहार दोहोऱ्याउनुभयो ।

गुरु कालम उबक रामपुत्तको शिष्यत्व त्याग पश्चात भगवानको मनमा पुनः सद्गुरु खोज्ने आकांक्षा नै मरेर गयो । उहाँको अनुभवले नै यो बतायो कि पुनः गुरु खोज्नुको अर्थ थियो – पुनः मात्र समयको बर्बादी |

अन्ततः भगवान आध्यात्मिक संसारको जटिल अँध्यारो, भास र बोझपूर्ण परिवेश मुक्त भएर एक स्वतन्त्र संसारमा आइपुग्नुभयो । यि चार वर्षको अवधिमा उहाँ स्वयंले न मोक्ष, न सद्गुरु, न कुनै आध्यात्मिकता नै प्राप्त गर्नुभयो । यदि उहाँले केहि प्राप्त गर्नुभएको थियो भने त्यो थियो- सुन्दर प्र तित हुने आध्यात्मिक जगतका मीथ्या दृश्यहरु देख्न वा चिन्न सक्ने दृष्टि अनि ति भासहरुबाट बच्न सक्ने जागरुकता ।

भगवान यहि जागरुक दृष्टिकै कारण असंख्य साधक साधिकाहरु फसिरहनु भएको अध्यात्मको जटील, अन्धकारपूर्ण संसारबाट एक स्वतन्त्र संसारमा आइपुग्नुभएको थियो । धर्म, ईश्वर, गुरु, वस्त्र, कर्मकाण्डीय साधना विधिहरु, सम्प्रदाय, कुनै अमुक दर्शनको पक्षपोषण मुक्त एक स्वतन्त्र संसारमा आइपुग्नुभएको थियो । जुन स्वयंमा शाश्वत, पूर्ण र आध्यात्मिक झैँ प्रतित हुन्थ्यो ।

अन्ततः भगवानले स्व-साधनाद्वारा नै निर्वाण खोज्ने निश्चय गर्नुभयो ।

यो स्व-साधनाको प्रथम प्रयास उहाँले कठोर देह तपस्याबाट प्रारम्भ गर्नुभयो । यो तपस्याको मूल लक्ष्य कठोर देह तपद्वारा शरिर, इन्द्रिय र मनलाई नियन्त्रणमा लिई निर्वाण प्राप्त गर्नु थियो । यो कठोर ध्यानमा उहाँ झण्डै झण्डै मृत्यूको समीपमा पुग्नुभयो । जब उहाँको जागरुक दृष्टिमा यो स्पष्ट भयो कि यो साधना पनि मोक्ष प्रदान गर्न असमर्थ छ । उहाँले यो साधना पनि त्यागी दिनुभयो ।

यो समयमा उहाँ निरञ्जना नदीको किनारामा आइपुग्नु भएको थियो । कठीन देह तुपको असफलता पश्चात भगवान पुनः एक मार्ग विहीन अवस्थामा आइपुग्नुभयो । यि दिनहरुमा उहाँ स्वयंको आध्यात्मिक यात्रालाई मूल्याङ्कन गरिरहनुहुन्थ्यो ।

मनमा अनेकन कुराहरु खेलिरहेका थिए । मूल तत्व त अवश्य थियो । निर्वाण जीवनको स्थिति कुनै भ्रम वा काल्पनिक कथा थिएन । यो धर्तिमा कैयन मानिसहरुले यो अमृत स्थिति अनुभूति पनि गरेका थिए । फेरि यो मूल तत्वमा पुग्ने मार्ग पहिल्याउन अत्यन्त दुरुह थियो । असम्भव प्रतित हुन्थ्यो ।

फेरि उहाँले आशाका किरणहरुलाई मर्न दिनुभएन ।

यिनै मार्ग विहिन दिनहरुमा जब भगवान एक दिन एक सघन वृक्ष मुनि बसिरहनु भएको थियो । मध्यान्हको समय थियो । आकाशमा पूर्ण सूर्य चम्किरहेको थियो । गृष्मकालीन पवन निर्जना नदीको शीतलतालाई बोकेर बगिरहेको थियो । निलो विस्तृत आकाश क्षितिजसम्म फैलिएको थियो । परिवेश शान्त चकमन्न थियो । लाग्दथ्यो सम्पूर्ण सृष्टि नै ध्यानमय छ ।

मध्यान्हको त्यो ध्यानमय झैँ परिवेशमा भगवानलाई अनायाश लाग्यो कि यो दृष्य, यो घाम, वृक्षको छाया, शान्ति, शीतल हावा अनि यो समग्र परिवेशलाई उहाँले कतै देखेको हुनु पर्दछ । उहाँको संग्रम चेतना भएर त्यो विस्मृत क्षणलाई स्मृतिमा ल्याउन प्रयास गरिरहेको यो समयमा उहाँलाई अनायश नौ वर्षको बालक जीवनमा जामुनाको सघन वृक्षको छायामा स्वतः वा प्राकृतिक रुपमा प्राप्त प्रथम ध्यानको स्मृति उहाँमा उठेर आयो । यो स्मृतिसँगै उहाँमा ध्यान जागृत भयो । उहाँ स्वतः स्फूर्त रुपमा ब्र म्हाण्डीय लयसँग एकाकार हुनुभयो । अन्ततः गहन ध्यानमा प्रवेश गर्नुभयो ।

जब भगवानलाई यो ध्यान अनुभूति प्राप्त भयो । सधैं झैँ उहाँले ध्यानको यो गहन अनुभूतिलाई जागरु क र निष्पक्ष भावले शुद्ध अवलोकन गर्न प्रारम्भ गर्नुभयो । ध्यानको यो स्वघटित प्रकृयामा कुनै हस्तक्षेप नगरिकन, कुनै राग वा द्वेषभाव नजगाइकन, नदि किनारको मानिसले सततु प्रवाहित नदि प्र बाहुलाई अवलोकन गरे झैँ पूर्ण असंग, पूर्ण समभावी, पूर्ण रुपमा प्रतिक्रिया विहीन भई मात्र “जे छ त्यहि हो ” रुपमा अवलोकन गरिरहनु भयो ।

यहि ध्यान अवलोकन क्रममा उहाँले देख्नु भयो कि यो ध्यान सँगै उहाँको देह र चित्तको क्षेत्रमा पनि अनेकन प्रकारका दुखद वा सुखद प्रकृतिका संवेदना (अनुभूति) हरु उत्पन्न भइरहेका छन् । केहि अण स्थिर झैँ अनि विलय भइरहेका छन् । यो भन्दा अगाडिका ध्यान साधनामा श्वास, ईश्वर, प्रकाश, मन्त्र आदिमा ध्यान एकाग्र गरिएकाले भगवानको दृष्टि यि संवेदनाहरुमाथि परेको थिएन ।

उहाँले यि संवेदनाहरुको उदय व्यय प्रकृयालाई गहिरिएर अत्यन्त जागरुक, निष्पक्ष र समभावी दृष्टिले लामो समयसम्म शुद्ध अवलोकन गरिरहनु भयो । यो अवलोकन क्रममा संवेदनाको उदय व्यय सँगै शरिरका जङताहरु पग्लिदै गएको आन्तरिक शान्ति बिस्तारित भइरहेको, चित्तका विकार नष्ट भएझैँ चित्त निर्मल शुद्ध हुँदै गइरहेको आदि अनेकन अनुभूतिहरु प्राप्त गर्नुभयो ।

भगवानले यो भन्दा अगाडिका ध्यान साधनाहरुमा कहिल्यै प्राप्त नगरेको यो आन्तरिक रुपान्तरको अनुभूतिहरु बाट उहाँ अत्यन्त प्रभावित हुनुभयो । यो नै विपश्यना ध्यानको जन्मको क्षण थियो । भगवानले यो विपश्यना ध्यानलाई एक लामो समयसम्म निरन्तरता दिइरहनुभयो ।

अन्ततः यहि ध्यान विधिबाट मोक्ष प्राप्त गर्नुभयो । जब उहाँले निर्वाण स्थिति प्राप्त गर्नुभयो । उहाँले पुनः यो साधना अनुभूति सत् असत् के हो भनी जागरुक दृष्टिले मूल्याङ्कन गर्नुभयो । यो अनुभूति स्थायी थियो । अविनाशी थियो । चित्तका सम्पूर्ण विकारहरु नष्ट भएर चित्त शुद्ध भएको थियो । निर्वाणबाट जुन चरम शान्ति आनन्दको अनुभूति प्राप्त भएको थियो । त्यो पनि स्थायी थियो ।

निर्वाणको केहि सप्ताहसम्म भगवान यहि बोधीको वृक्षको छायाँ मुनी बसेर निर्वाणको विपूल सुखको आनन्द लिइरहनुभयो । ति दिनहरुमा उहाँको मुखारविन्दबाट ओहो सुख, ओहो सुख भन्ने शब्दहरु स्वतः निस्किइरहेका थिए । ति दिनहरुमा उहाँले स्वयंको रुपान्तरित जीवन स्थितिलाई पुनः पुनः हेर्नुभयो । जुन आन्तरिक रुपान्तर, परम शान्ति, परम आनन्द उहाँलाई प्राप्त भएको थियो । त्यो अकल्पनीय थियो अवर्णनीय थियो । मूख्यतः अविनाशी थियो ।

स्वयंको निर्वाण प्राप्तिसँगै भगवानलाई यो पनि स्पष्ट बोध भयो कि मानिसको बन्धन र निर्वाणको पछाडि ईश्वर, आत्मा आदि नभइकन प्रतीत्यसमुत्पाद (कारण – परिणाम – कारण वा फूल – विज-फलरुपी चक्र) नामक एक महानियम नै मूलकारण थियो ।

चित्तमा छिपेको यो महानियमले जब राग वा द्वेषपूर्ण विचार प्राप्त गर्दथ्यो । मानिसको जीवनमा दुःखचक्र, भवचक्रहरुको सृजना हुन पुग्दथ्यो । जब यो महानियमलाई साधना मार्फत समभाव वा शुद्ध चित्त स्थिति दिइन्थ्यो । यहि महानियमले धर्मचक्र उत्पन्न गरी मोक्ष प्रदान गर्दथ्यो ।

निर्वाण पश्चात् भगवानले करुणामय दृष्टिले संसारलाई हेर्नुभयो । संसार दुखमा डुबिरहेको थियो । प्र त्येक मानिस दुखी थियो । आन्तरिक रुपमा बन्नुपूर्ण, अश्रूपूर्ण थियो । अविनाशी शान्ति कसैको मनमा उपस्थित थिएन ।

भगवानको मनमा स्वयंमा प्रमाणित यो सत्य मोक्ष साधना विधिलाई प्रवर्धन गर्ने विचार उठिरहेको थियो । उहाँले पुनः पुनः संसारलाई हेर्नुभयो । फेरि संसारका मानिसहरुको काम भोग र भोगको लागि संग्र हुमा नै लिप्त थिए । संसारको जयजयकारमा नै थिए । जो संसारको जयजयकारमा थिए तिनिहरु यो साधना मार्गमा प्रवेश गर्ने भन्ने सम्भावना नै न्यून थियो ।

अनि जो निर्वाण खोजमा आध्यात्मिक संसारमा आएका थिए । तिनीहरु पनि अनेकन् धर्म, ईश्वर, गुरु, सम्प्रदाय, दर्शन, वस्त्र आभुषण आदिको रागपूर्ण भावले सृजना गरेको वेहोसीमा डुबिरहेका थिए । यिनै वस्तूहरुको जयजयकार गरेर बसेका थिए । वेहोसीमा दृष्टि सम्भव थिएन । दृष्टिविहीनताको स्थितिमा यो सुक्ष्म विधालाई बुझ्न, साधनामा उतार्न र निर्वाण प्राप्त गर्न असम्भव थियो । भगवानको मनमा द्विविधाका भावहरु उठिरहेका थिए ।

बुद्ध साहित्यमा भनिएको छ कि जब भगवान यस्तो द्विविधाबाट गुज्रिरहनु भएको थियो । म्हलोकबाट सहम्पति ब्रम्हा स्वयं आएर भगवानलाई प्रार्थना गर्दै भन्नुभयो कि हे भगवान, धर्म प्रर्वतन गर्नुहोस् किनभने यो जगतमा वेहोसीका पातलो पर्दा भएको साधकहरु पनि छन् । साधनाको उच्च स्थितिमा पुगेका तर सत्य साधना विधि प्राप्त नहुँदा मोक्ष प्राप्त गर्न असमर्थ साधकहरु पनि छन् । यो सत्य विधाले तिनिहरुले मार्ग प्राप्त गर्नेछन् । तिनिहरुको कल्याण हुनेछ ।

अन्ततः भगवानले आज भन्दा झण्डै छब्बीस सय वर्ष अगाडि यो जगतमा सत्य मोक्ष विधाको प्रवर्तन प्रारम्भ गर्नुभयो । जब भगवानले धर्म प्रवर्तन गर्न प्रारम्भ गर्नुभयो । निर्वाण अभिलाशी अनेक तपस्वीहरु, ब्राम्हणहरु, गुरुहरु, राजाहरु देखि लिएर साधारण मानिसहरु पनि भगवानको शरणमा आए । समाजमा गुरु भन्ने वित्तिकै सम्मान – श्रद्धा गर्नु पर्दछ भन्ने प्रवल धारणाबाट प्रभावित साधक साधिकाहरु भगवान प्रति अन्धश्रद्धा, अन्धभक्ति र जयजयकारको भाव दर्शाउँथे ।

भगवान सांसारिक गुरु हुनुहुन्थेन । मान, सम्मान, जयजयकारको मीथ्या भोगको परिधिबाट माथि उठ्नुभएको एक मुक्त पुरुष हुनुहुन्थ्यो । उहाँ यो अन्ध्र जयकारले साधकको चित्तमा उत्पन्न हुने राग, अनि त्यहि रागबाट प्राप्त हुने बन्धन, अनि साधकलाई हुने क्षति प्रति स्पष्ट हुनुहुन्थ्यो ।

यसैले भगवानले यि सम्पूर्ण अन्धभक्तिबाट सृजना हुने जयजयकारलाई निषेध गर्नुभएको थियो । भगवान मात्र देह र चित्तमा उत्पन्न हुने प्रत्येक संवेदना वा भावलाई शुद्ध समभावी अवलोकन गर्नु पर्ने कुरामा मात्र जोड दिनुहुन्थ्यो । उहाँ स्वयंको जीवनलाई जय स्थितिमा लैजानु पर्ने तथ्यमा जोड दिनुहुन्थ्यो ।

जति जति भगवानको किर्ति फैलिदै गयो । निर्वाणको खोजका साधक साधिकाहरु मात्र नभएर विभिन्न राज्यका राजाहरु, सुन्दर रथहरुमा प्रतिस्पर्धा गर्दै आउने विभिन्न राज्यका राजकुमारहरु, शिष्यहरु सहित विभिन्न सम्प्रदायका गुरुहरु, समाजका विशिष्टजनहरु देखि सर्वसाधारणहरु सम्म समुह समुहमा भगवानको जयजयकार गर्दै आउन थाले । प्रायशः भगवान विहार गर्नुहुने स्थानको वरिपरि मानिसहरुको भिड हुन थाल्यो । यो अविरल कोलाहलले भगवानको अमुल्य समय र साधुक साधिकाहरुको ध्यानमा नै अवरोध सृजना गर्न थाल्यो ।

भगवान मानिसहरुको यो अज्ञानतापूर्ण दृष्यहरुबाट दुखी हुनुहुन्थ्यो । सर्वत्र वेहोसीको नै राज्य थियो । ति क्षणहरुमा स्वयंलाई जयजयकार गर्दै आउने मानिसहरुलाई सम्झाउन भगवान शिष्य आनन्दलाई पठाउनुहुन्थ्यो ।

उहाँ भन्नुहुन्थ्यो – “आनन्द तिमी जाउ । यि सम्पूर्ण जनहरुलाई भन कि कतै कसैको वा कुनै वस्तुको जयजयकारमा जीवनको अमुल्य समय नष्ट गर्नु भन्दा ‘सार’ वस्तुको खोजी गर्नु ।” भगवानको सम्पूर्ण जोड सार वस्तुको खोजमा नै थियो । वेहोसीमा माथिको जागरुक दृष्टिमा नै थियो ।

आज बुद्ध जयन्ति मनाइदैछ । यो अत्यन्त दुखदायी छ कि समयको धारामा बुद्ध जयन्तिले शनैः शनैः एक कर्मकाण्डीय रुप धारण गरिरहेको छ । एक अन्धश्रद्धा, अन्धभक्ति, वेहोसपूर्ण जयजयकारको मार्गमा यो बढिरहेको छ । यस्तो प्रतित हुन्छ कि बुद्धका अनुयायीहरुले बुद्ध, बुद्धको जीवनयात्रा, बुद्धको सम्पूर्ण सन्देशको केन्द्रीय मर्मलाई नै विस्मृत गरेका छन् । बुद्धले देखाउनु भएको भन्दा पूर्णतः विपरित मार्गमा बढिरहेका छन् ।

यो सत्य विस्मृत भएको छ कि संसारका आकर्षण प्राप्ति वा प्रलोभनहरु प्रतिको जागरुकता, आध्यात्मिकताको सुन्दर आवरणमा छिपेका बन्धनहरु प्रतिको जागरुकता, अनि स्वयंका जीवन मूलतः देह र चित्त क्षेत्र प्रतिको जागरुकता नै बुद्धको सम्पूर्ण शिक्षाको मूल मर्मलाई हो ।

बुद्धको अर्थ हो जागरुकता । सम्पूर्ण असत् वस्तु माथिको जागरुकता । स्वयंको असत् वस्तुमाथिको बेहोसी प्रतिको जागरुकता । जब स्वयंको असत् वस्तु प्रतिको बेहोसीमाथि जागरुक दृष्टि जन्मिन्छ । त्यहाँ बुद्ध दृष्टि जन्मिन्छ । जहाँ बुद्ध दृष्टि जन्मिन्छ, त्यही बुद्धको पूजा हुन्छ । बुद्धको जयजयकार हुन्छ । जहाँ बुद्धको जयजयकार हुन्छ, स्वयंको जीवनको जयजयकार हुन पुग्दछ । यसैले जब बुद्ध भनिन्छ ।

बुद्धको पूजा भनिन्छ । जब बुद्धको जयजयकार गरिन्छ । त्यो बाह्य कर्मकाण्डीय बेहोसपूर्ण जयजयकार हुन सक्दैन । त्यो मात्र जीवनमा सत्तु जागरुकताको स्थिति हुन्छ । जहाँ बुद्ध हुन्छन्, त्यहाँ जयजयकार हुँदैन

डा. मुरली अधिकारी

डालस, अमेरिका