आवरणरूपी तमोगुण र त्यसका कार्यहरूको तल व्याख्या गरिन्छ ।
एषाऽऽवृतिर्नाम तमोगुणस्य शक्तिर्यया वस्त्ववभासतेऽन्यथा ।
सैषा निदानं पुरुषस्य संसृतेर्विक्षेपशक्तेः प्रसरस्य हेतुः ।।११५।।
जुन शक्तिबाट एक वस्तु अर्को जस्तो (अन्यथा) प्रतित हुन्छ । यो तमोगुणको आवरण शक्ति हो । यो पुरुषको जन्म–मरणरूपी संसार प्राप्त हुने आदि कारण र विक्षेपशक्तिको विस्तारको कारण यही हो । ।।११५।।
सत् वस्तुलाई अन्य रूपमा प्रतीत गराउने वा एक वस्तुलाई अर्को वस्तुको रूपमा देखाउने शक्तिलाई तमोगुणको आवरण शक्ति भनिन्छ । यही शक्तिको कारण एक वस्तु अर्को जस्तो प्रतीति हुन्छ । तमोगुणको यही आवरण शक्तिले गर्दा मनुष्यले स्वयं ‘आत्मा’ हुँदाहुँदै पनि देह मानेर अनेकन सांसरिक कर्महरूमा प्रवृत्त भई जन्म, बुढ्यौली, मरण आदि रूप भएको संसारलाई प्राप्त गर्दछ । जब तमोगुणको आवरण शक्तिको कारण मनुष्यमा भ्रम सिर्जना हुन्छ, त्यो अवस्थामा प्राकृततः रजोगुणको पनि विस्तार हुन्छ । अथवा जब तमोगुणको आवरण शक्तिको कारण मनुष्य स्वयंलाई देह मान्दछ ।
तब रजोगुणका विक्षेप विकार (काम, क्रोध, लोभ, मोह आदि) मनुष्यमा झन् फैलिन्छन् । स्व–स्वरूपको ज्ञान प्राप्त नभएसम्म तमोगुणको उपस्थिति रहिरहन्छ ।
प्रज्ञावानपि पण्डितोऽपि चतुरोऽप्यत्यन्तसूक्ष्मार्थदृक्
व्यालीढस्तमसा न वेत्ति बहुधा सम्बोधितोऽपि स्फुटम् ।
भ्रान्त्याऽऽरोपितमेव साधु कलयत्यालम्बते तद्गुणान्
हन्तासौ प्रबला दुरन्ततमसः शक्तिर्महत्यावृतिः ।।११६।।
प्रज्ञावान् विद्वान् चतुर तथा शास्त्रको अत्यन्त सूक्ष्म अर्थ जान्ने वा बुझ्ने व्यक्ति भए पनि यदि ऊ तमगुणबाट ग्रस्त छ भने विभिन्न प्रकारकाले सम्झाए पनि आत्मालाई ठीकसँग जान्न वा बुझ्न सक्दैन । भ्रान्तिको कारण आरोपित स्थूल आदि देहलाई नै सत्य सम्झिएर तिनैका गुणहरूको आश्रय लिन्छ । ओहो ! यो अनर्थ परिणाम दिने तमोगुणको आवारण नामक महान्् शक्ति अत्यन्त प्रबल छ । ।।११६।।
तीनै कालमा निश्चल बुद्धि भएकोलाई प्रज्ञावान, शास्त्रको परोक्ष ज्ञानवानलाई पण्डित वा विद्वान् अनि तर्क–वितर्कमा प्रवीणलाई चतुर भनिन्छ । तमोगुणको प्रबल शक्तिको व्याख्या गर्दै यो श्लोकमा भनिएको छ – तमोगुणको आवरण शक्ति यति तीव्र र शक्तिशाली छ कि यसले साधारण बुद्धि भएर देह र वासनाको तहमा बाँचिरहेका मनुष्यलाई त के प्रज्ञावान्, विद्वान्, चतुर, सूक्ष्म शास्त्रवेत्तालाई समेत ग्रसित गर्दछ । तमोगुणले ग्रसित विद्वान् आदिलाई शास्त्रवेत्ता नानाप्रकारले सम्झाउँदा पनि तिनीहरूले आत्मालाई ठीकसँग
जान्न बुझ्न सक्दैनन् । जीवनपर्यन्त मोक्षशास्त्र अध्ययन अनि व्याख्या गर्ने विशिष्ट विद्वान्हरूले पनि यही तमोगुणको आवरण शक्तिका कारण विषयवस्तु बुझ्न असमर्थ भएर स्व–स्वरूपको ज्ञान प्राप्त गर्न नसकी व्यर्थ समय नष्ट गरेका छन् । हे साधकहरू हो ! त्यसैले मोक्ष सहज छैन ।
अभावना वा विपरीतभावना सम्भावना विप्रतिपत्तिरस्याः ।
संसर्गयुक्तं न विमुञ्चति ध्रुवं विक्षेपशक्तिः क्षपयत्यजस्रम् ।।११७।।
यो आवरण शक्तिको संसर्गयुक्त पुरुषलाई अभावना, विरूद्ध ज्ञान दिने विपरीत भावना, र असम्भावनाले निश्चित रूपमा छोड्दैन । यस्तो पुरुषलाई विक्षेपशक्तिले सधैं व्यथित गरिरहन्छ । ।।११७।।
आत्मा छैन, जीव र ब्रह्मामा एकङ्खव सम्भव छैन, जस्ता नास्तिक विचारहरूलाई ‘अभावना’ भनिन्छ । मनुष्य स्वयं आत्मा हुँदाहुँदै देहलाई नै ‘म’ वा ‘आत्मा’ मान्नुलाई ‘विपरीत भावना’ भनिन्छ । शय वा शंकाको भावनालाई असम्भावना भनिन्छ । जब तमोगुणको आवरण शक्तिले मनुष्यल(ाई छोपदिन्छ तब अभावना, विपरीत भावना र असम्भावनाको जन्म हुन्छ । यस्ता मनुष्यहरूलाई रजोगुणको विक्षेपशक्तिरूपी काम, क्रोध, लोभ, दम्भ, अभिमान, ईष्र्या, डाह आदिले अस्थिर र व्यथित गरिरहन्छ ।
अज्ञानमालस्यजडत्वनिद्राप्रमादमूढत्वमुखास्तमोगुणाः ।
एतैः प्रयुक्तो न हि वेत्ति किञ्चिन्निद्रालुवत्स्तम्भवदेव तिष्ठति ।।११८।।
अज्ञान, आलस्य, जडता, निद्रा, प्रमाद, मूठ्ठता आदि तमका गुणहरू हुन् । यी गुण (स्वभाव, धर्म) धर्मयुक्त पुरुष कुनै कुरा बुझ्नै सक्दैन । ऊ निद्रालु वा स्तम्भजस्तै (जडवत्) रहन्छ । ।।११८।।
सत्–असत् छुट्याउन नसक्नुलाई अज्ञान, साधनामा अनिक्षा वा अग्रसर हुन नसक्नुलाई आलस्य, स्व–तर्कमा अडीग हुनुलाई जडता, चेतनाको अभाव हुनुलाई निद्रा, असावधानी वा कर्तव्य कर्म नगर्नुलाई प्रमाद, भनिन्छ । यी सम्पूण तमोगुणका धर्म वा स्वभावहरू हुन् । जब तमोगुणको आवरणशक्तिले पुरुषलाई छोपिदिन्छ । त्यो पुरुषमा अज्ञान, आलस्य, निद्रा प्रमाद, जडता, मुढता आदि स्वभावहरू देखिन्छ । यस्तो मूढ मानिसमा अभावना, विपरीत भावना, नकारात्मक सोच–विचार र असम्भावनाले नछोड्ने हुनाले ऊ कुनै पनि कुरा बुझ्न असमर्थ रहन्छ । यस्ता मूढ पुरुषलाई मोक्ष असम्भव छ ।