त्रिगुणीलाई नाघ्नु वा गुणातित अवस्था प्राप्त गर्नुको अर्थ हो – स्वयंको चित्त वा मनमा उपस्थित त्रिगुणी संस्कारहरुलाई पूर्णरुपमा नाश गरी शुद्ध चित्तको अवस्था प्राप्त गर्नु वा आत्मा साक्षात्कारको स्थिति प्राप्त गर्नु ।
जबसम्म मानिसमा त्रिगुणी संस्कारहरु उपस्थित रहन्छन् त्यो अवस्थासम्म चुम्बकीय ध्रुवहरु एक आपसमा आकर्षित भए झैँ वा ईश्वरीय आकर्षणको नियमको कारण नै मानिसको मन स्वतः विषय प्रति आकर्षित हुन पुग्दछ । यो अवस्थामा त्रिगुणको मायारुपी महासागरलाई नाघ्न सकिदैँन । विषयबाट उत्पन्न रागद्वेषपूर्ण मायाको महासागरलाई पार गर्न अत्यन्त दुरुह छ ।
यो त्रिगुणी मायाको सागरलाई त्यो अवस्थामा मात्र नाघ्न सकिन्छ, जब साधक गीतामा भगवान कृष्णले व्याख्या गर्नुभएको अनेकन् योग साधना विधिहरुद्वारा स्वयंमा छिपेको ईश्वरीय तत्वसँग एकाकार वा योग स्थिति प्राप्त गर्न सक्दछ । अनि यहि योग स्थितिमा ‘सतत’ स्थित रहन सक्दछ । जुन साधक यो योग स्थितमा सतत रुपमा रहन्छ, ‘ईश्वरीय उच्छेद’ को नियमानुसार जन्मजन्मान्तरका त्रिगुणी संस्कारहरु भष्म हुन पुग्दछ । जब यो साधना प्रक्रियाद्वारा सम्पूर्ण रुपमा त्रिगुणी संस्कारहरु नाश भई चित्त शुद्धि हुन्छ । यो अवस्थामा साधक यो त्रिगुणलाई नाघ्दछ । गुणातीत अवस्था प्राप्त गर्दछ । मोक्ष प्राप्त गर्दछ । गीतामा भगवान भन्नुहुन्छः
सततं कीर्तयन्तो मां यतन्तश्च दृढव्रताः ।
नमस्यन्तश्च मां भक्त्या नित्ययुक्ता उपासते ।।९–१४।।
ति दृढ निश्चयी भक्तजन सतत् मेरो कीर्तन (नाम र गुणहरुको चिन्तन) गर्दै तथा मेरो प्राप्तिको लागि यत्न (साधना) गर्दै मलाई नै बारम्बार नमस्कार (श्रद्धा) गर्दै, सधैँ मसँग संयुक्त भएर अनन्य भक्तिले मेरो उपासना गर्दछन् ।
दैवी ह्येषा गुणमयी मम माया दुरत्यया ।
मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते ।।७–१४।।
किन कि यो अद्भूत त्रिगुणमयी ‘मेरो माया’ दूरत्यय वा पार पाउन कठिन छ । तर जो केवल मलाई नै निरन्तर भज्दछन् । ति यो मायाबाट पार पाउँदछन् । (संसार मायाबाट तर्दछन् ।)