‘‘इदं खो पन, भिक्खवे, दुक्खं अरियसच्चं– जरापि दुक्खा, जातिपि दुक्खा, ब्याधिपि दुक्खो, मरणम्पि दुक्खं, अप्पियेहि सम्पयोगो दुक्खो, पियेहि विप्पयोगो दुक्खो, यम्पिच्छं न लभति तम्पि दुक्खं– संखित्तेन पञ्चुपादानक्खन्धा दुक्खा ।
अर्थात् हे भिक्षुहरू ! के हो ? दुःख आर्य सत्य ? जन्म पनि दुःख हो । वृद्धावस्था पनि दुःख हो । रोग पनि दुःख हो । मृत्यु पनि दुःख हो । अप्रियसँगको संयोग पनि दुःख हो । प्रियसँगको विछोड पनि दुःख हो । इच्छित वस्तु प्राप्त नहुनु पनि दुःख हो । संक्षेपमा पाँच उपादान स्कन्ध (रूप, विज्ञान, संज्ञा, वेदना, संस्कार) नै दुःख हुन् ।
दुःख संसारको सत्य हो, दुःख संसारका प्रत्येक मानिसको जीवनको सत्य हो । प्रकृतिका शाश्वत नियम क्रियाशील यस संसारका प्रत्येक मानिसले मनमा प्रतिक्षण दुःख (दुःखद संवेदना) उत्पन्न गरिरहेका छन्। जब तपाईं कुनै कारणवश दुःखी हुनुहुन्छ अथवा जब तपाईंको मनमा दुःखका अनुभूति (संवेदना) उत्पन्न हुन्छ, तपाईं चित्तको पूर्व संस्कारहरूका कारण ती संवेदनालाई भोग्नुहुन्छ । संवेदनाहरूलाई भोग गरेकै कारण तपाईं दुःखी, निराश, व्याकुल हुनुहुन्छ । जब तपाईंसंवेदनालाई भोग्नुहुन्छ त्यस क्षणमा जेजस्तो संस्कारबीज प्राप्त भएको हुन्छ त्यही संस्कारबीजलाई सङ्ग्रह, विस्तार र बीजअनुरूप फल दिने धम्मका शाश्वत नियमहरूका कारणले गर्दा तपाईंको संस्कार (चित्तको संवेदना भोग्ने स्वभाव) झ्नझन् विस्तार हुन पुग्छ । फलतः तपाईं झन्झन् दुःखी हुन पुग्नुहुन्छ, झन्झन् संस्कारयुक्त हुन पुग्छ र दुःखको चक्रमा फसिरहनुहुन्छ ।
जब दुःख (दुःखद संवेदना) को चर्चा गरिन्छ, सुख (सुखद संवेदना) को पनि प्रसङ्ग उठ्छ । सुखद संवेदनाह झट्ट हेर्दा दुःख जस्ता प्रतीत हुँदैनन्, सुखद नै लाग्छन् तर ती सुखद अनुभूति पनि क्षणिक वा अनित्य स्वभावका भएकाले अन्ततः विलाएरै जान्छन् । प्रियसँगको विछोड पनि दुःखमा परिणत भए जस्तै सुख (सुखद संवेदना) पनि अन्ततः दुःखमै परिणत हुन्छ । अनि त्यस क्षणमा मानिस दुःखी हुने (संवेदनाहरू भोग गर्ने) हुनाले सुखद संवेदनाहरूले पनि संस्कारै उत्पन्न गर्छन् र अन्ततः दुःखमै परिणत हुन पुग्छन् । साथै दुःखद संवेदनाका भोगले चित्तमा संस्कार उत्पन्न गरेजस्तै सुखद संवेदनाका भोगले पनि चित्तमा संस्कारै उत्पन्न गर्छ । तपाईं जतिजति सुखद संवेदना भोग्न थाल्नुहुन्छ उतिउति तपाईंमा यी संवेदनाप्रतिको भोगतृष्णा विस्तार हुन पुग्छ । फलतः तपाईं प्रतिक्षण यिनै सुखद संवेदना प्राप्त गर्ने प्रयास गरिरहनुहुन्छ, विषय प्राप्त गर्ने प्रयास गरिरहनुहुन्छ, कर्म भोग गर्ने प्रयास गरिरहनुहुन्छ, जुन क्षणमा धम्मको नियमानुसार संस्कारै बनिरहन्छ ।
दुःख (दुःखद संवेदना) माथिको साधनामा एक महत्वपूर्ण पक्ष के छ भने जब तपाईंको मनमा दुःखद संवेदना उत्पन्न हुन्छन्, तपाईं धेरै हदसम्म यी संवेदनाप्रति समभावी बन्न सफल हुनुहुन्छ तर जब तपाईंको मनमा सुखद संवेदना उत्पन्न हुन्छन् वा जब साधना गहिरिँदै जाँदा तपाईंमा भङ्ग (शरीरको स्थूलपना समाप्त भएर मधुर सूक्ष्म तरङ्ग उदय र व्ययको बोध रहने स्थिति), प्रिति प्रमोद (मनमा उत्पन्न हुने आनन्दका लहर), प्रश्रब्धि (कायको शान्तपना, आनन्दपना), अष्टकलाप (पृथिवी, अग्नि, वायु, जल चार भूतबाट उत्पन्न हुने सुखद तरङ्ग) आदि अवस्था प्राप्त हुन थाल्छ । यी अवस्थामा उत्पन्न हुने संवेदना सुखद प्रकृतिका हुने हुनाले यी सुखद सूक्ष्म संवेदनाप्रति समभावी बन्न तपाईंलाई कठिन हुन्छ । यी अवस्थामा मनलाई सूक्ष्म सुखद संवेदनाका उदय र व्ययरूपी सतत धारा वा अनित्य स्वभावलाई अनुभूति गर्न वा समात्न निकै कठिन हुन जान्छ । यस्तो अवस्थामा कैँयौँ साधक यिनै सुखद अनुभूतिलाई निर्वाणको अनुभूति मानेर भोग गर्न थाल्छन् । फलतः साधकको मनमा सुखद संवेदनाप्रति राग उत्पन्न हुन पुग्छ र त्यस स्थितिमा साधक साधनाको मूल मर्म समभावको स्थितिबाट च्यूत हुन पुग्छ ।
माथिको श्लोकको अन्त्यमा भगवान्ले दुःख आर्य सत्यको महत्वपूर्ण पक्षमा प्रकाश पार्दै भन्नुभएको छ कि मूलतः पाँच स्कन्ध (देह र चित्तका चार स्कन्ध, विज्ञान, संज्ञा, वेदना, संस्कारहरू) प्रतिको आशक्ति नै मुख्य दुःख हो । यहाँ प्रश्न उठ्छ कि आखिर किन पाँच स्कन्धप्रतिको आशक्ति नै मुख्य दुःख हो ? पाँच स्कन्धप्रतिको आशक्तिबाट म र मेरो रूपको मूल अविद्या भाव उत्पन्न हुन पुग्छ । यही अविद्याका कारण मानिसले आफूलाई देह मानेर संवेदनाहरू भोग गर्छ । यसै कारणले पाँच स्कन्धप्रतिको आशक्तिलाई दुःख मानिएको हो । जबसम्म अविद्या रहिरहन्छ तबसम्म तपाईं ‘म’ र ‘मेरो’ को परिधिबाट बाहिर निस्कन सक्नुहुन्न । तपाईं पाँच स्कन्धको क्षेत्रमै सीमित रहनुहुन्छ, सुखद–दुःखद अनुभूतिको क्षेत्रमै रहनुहुन्छ, बन्धन र विकारकै क्षेत्रमा रहनुहुन्छ । यसैले पञ्चस्कन्धप्रतिको आशक्ति दुःख हुन पुग्छ ।
दुख सत्यमाथि कसरी विपश्यना साधना गरिन्छ ?
तपाईंको मनमा उत्पन्न हुने दुख (पिर, निराशा, भय, व्याकुलता आदि) क्षणभङ्गुर संवेदना हुन् । जब तपाईं दुःख सत्यमाथि विपश्यना साधना गर्नुहुन्छ त्यस स्थितिमा तपाईं दुःख (दुःखद संवेदना) को गुण, धर्म, स्वभावप्रति जागरुक र साक्षीभावी बन्नुहुन्छ ।
जब तपाईं दुःखद संवेदनाप्रति जागरुक र प्रज्ञावान् बन्नुहुन्छ (स्मरणरहोस् संवेदनाप्रति जागरुक र समभावी प्रज्ञापूर्ण स्थिति नै आर्य अष्टाङ्गमार्ग साधना हो । यही नै विपश्यना हो) साधनाको यस क्षणमा धम्मका नियमहरूले यही समभाव बीजलाई विस्तार गरिदिँदा तपाईंको चित्तमा नयाँ संस्कार नबन्ने मात्र नभई जन्म–जन्मान्तरका संस्कार पनि क्रमशः नष्ट हँुदै जान्छन् । जब संस्कारहरू नष्ट हुन थाल्छन् त्यस स्थितिमा तपार्इँ निर्वाणको क्षेत्रतर्फ प्रवेश गर्नुहुन्छ । अन्ततः साधनाको सिद्धावस्था निर्वाण प्राप्त गर्नुहुन्छ ।
यसरी दुःखको साधना (दुःखद संवेदनाको समभाव र प्रज्ञापूर्ण अवलोकन) बाट तपाईं निर्वाण प्राप्त गर्नुहुन्छ । जब तपाईं दुःख सत्यमाथि साधना गरी निर्वाण प्राप्त गर्नुहुन्छ त्यस स्थितिमा दुःख सत्य दुःख आर्य सत्यमा परिणत हुन्छ ।