‘‘इदं दुक्खनिरोधं अरियसच्च’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि । ‘तं खो पनिदं दुक्खनिरोधं अरियसच्चं सच्छिकातब्ब’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि । ‘तं खो पनिदं दुक्खनिरोधं अरियसच्चं सच्छिकत’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’
अर्थात् भिक्षुहरू ! यो जुन पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो । यही नै दुःख निरोध आर्य सत्य हो । यस आर्य सत्यलाई साक्षात्कार गर्नुपर्छ । भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो । यो दुःख निरोध आर्य सत्य साक्षात्कार भयो । भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।
दुःख निरोध (निर्वाण) आर्यसत्य त्यो अवस्था हो, जुन अवस्थामा साधकमा दुःख पूर्णरूपमा अनुपस्थित रहन्छ । यस्तो स्थितिमा चित्त पूर्णरूपमा शुद्ध हुने भएकाले मनमा संवेदनाप्रति तृष्णा उत्पन्नै हुँदैन । यदि कतै इन्द्रिय र विषयको मिलनको कारण संवेदना उत्पन्न भयो भने पनि निरोध वा निर्वाणको स्थिति प्राप्त गरेकाले त्यस्ता पुरुषका समभावी मनले यी संवेदनामाथि रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया गर्दैन ।
दुःख निरोध आर्यसत्य
प्रथमआवृति :– यो दुःख निरोध आर्य सत्य हो ।
दुःख निरोध आर्य सत्यको प्रथम आवृत्ति हो दुःख निरोध वा निर्वाणको स्थिति छ भन्ने श्रुतज्ञानलाई सत्य मानेर स्वीकार गर्नु । आफ्नै जीवनको सम्पूर्ण दुःख निरोध हुन सक्छ भन्ने तथ्यलाई स्वीकार्नु । दुःख निरोध आर्य सत्यको प्रथम आवृत्ति (श्रुतज्ञानमा) साधकले मानव जीवनमा दुःख सत्य भए जस्तै निर्वाणको स्थिति पनि सत्य हो भनेर स्वीकार गर्छ । आफ्नै जीवनमा पनि बुद्ध, कृष्ण जस्तै दुःख नभएको समभावी निर्वाणको स्थिति प्राप्त गर्न सम्भव छ भनी स्वीकार गर्छ ।
निर्वाण (मोक्ष, मुक्ति) कुनै मिथ्या वा भ्रमपूर्ण कल्पना होइन अपितु शुद्ध चित्तरूप जीवन स्थिति हो भनी स्वीकार गर्छ । जब साधनाद्वारा तृष्णा (मनको संवेदना भोग्ने स्वभाव) नाश हुन्छ तब अवश्य दुख निरोधको अवस्था प्राप्त हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्छ तर केही मानिस यस्ता छन्, जो मनको विषय संवेदनाप्रतिको तृष्णालाई दुःखको कारणको रूपमा स्वीकारै गर्दैनन् । जो मनको तृष्णालाई पूर्णरूपमा नाश गर्न सकिन्छ भन्ने तथ्यलाई नै स्वीकार गर्दैन र आफ्नै दार्शनिक मान्यताका आधारमा गुरु कृपा, ईश्वर कृपा आदिका कारण निर्वाण प्राप्त हुन्छ भन्ने धारणा राख्छन् ।
फेरि अन्य मानिस छन्, जसको चेतना यति न्यून छ कि आध्यात्मिक विकास प्रक्रियाद्वारा निर्वाणरूपी अमृत पद प्राप्त गर्न सकिन्छ भन्ने सत्यमाथि विश्वासै गर्दैनन् र निर्वाणको जीवन स्थितिलाई भ्रम मिथ्या कल्पना मात्र ठान्छन् । यस्ता मानिस दुःख निरोधको प्रथम आवृत्तिमै प्रवेश गर्दैनन् वा साधनामै प्रवेश गर्दैनन् तर जो साधक निर्वाण वा मोक्षको अवस्था पनि छ र मनको तृष्णालाई साधनाद्वारा परिवर्तन गरेर त्यस्तो स्थिति प्राप्त गर्न सकिन्छ भन्ने श्रुतज्ञानलाई स्वीकार गर्छ ऊ भने दुःख निरोध आर्य सत्य साधनाको प्रथम आवृत्तिमा प्रवेश गर्छ ।
दोस्रो आवृत्ति :– यो दुःख निरोध आर्य सत्यलाई साक्षात्कार गर्नु पर्छ
दुःख निरोध आर्य सत्यको दोस्रो आवृत्ति हो– बुद्धिद्वारा दुःख निरोध निर्वाणको अवस्थालाई साक्षात्कार गर्नुपर्छ भनेर स्वीकार गर्नु । दुःख निरोध आर्य सत्यको दोस्रो आवृत्तिमा साधक मनको संवेदनाप्रतिको तृष्णालाई पूर्णरूपमा नाश गरेर निर्वाणको अवस्थालाई साक्षात्कार गर्नुपर्छ भन्ने तथ्यलाई बुद्धिको स्तरमा स्वीकार गर्छ । साधनाको यस आवृत्तिमा साधकले श्रुतज्ञानमाथि चिन्तन, मनन, बौद्धिक विश्लेषण गर्छ । साधनाविधिप्रति सैद्धान्तिक स्पष्टता प्राप्त गर्छ तर बुद्धिको स्तरमा गरिएको स्वीकार वा चिन्तनबाट मात्र निर्वाण प्राप्ति सम्भव हुँदैन । त्यसैले साधक साधनाको तेस्रो आवृतिमा प्रवेश गर्छ ।
तेस्रो आवृत्ति :– यो दुःख निरोध आर्य सत्य साक्षात्कार भयो
दुःख निरोध आर्य सत्यको तेस्रो आवृत्ति हो– साधनाको अनुभूतिद्वारा निरोध अवस्थाको साक्षात्कार । यस आवृत्तिमा साधक आर्य अष्टाङ्ग साधनामा प्रवेश गर्छ, देह र चित्तको सत्यको अनुसन्धान गर्छ, देह र चित्तको क्षेत्रमा सतत उत्पन्न संवेदनाको उदय–व्यय धारालाई समभावी बनेर अवलोकन गर्छ । यसरी तटस्थ भावले संवेदनालाई अवलोकन गर्दै मनको संवेदनालाई भोग्ने स्वभावलाई परिवर्तन गर्छ, जन्म–जन्मान्तरदेखि सञ्चित विकारलाई क्षय गर्छ र यही साधना प्रक्रियाद्वारा देह र चित्तको क्षेत्रभन्दा बाहिरको शाश्वत, ध्रुव, अमृत पदको अनुभूति प्राप्त गर्छ । यसरी क्रमशः सोतापन्न, सकृतागामी, अनागामी हुँदै अन्ततः अरहत स्थिति प्राप्त गर्छ । यही अनुभवका आधारमा प्रामाणिकरूपमा उसले भन्छ कि दुःख निरोध अवस्थाको साक्षात्कार भयो ।