‘‘इदं खो पन, भिक्खवे, दुक्खसमुदयं अरियसच्चं– यायं तण्हा पोनोब्भविका नन्दिरागसहगता तत्रतत्राभिनन्दिनी, सेय्यथिदं कामतण्हा, भवतण्हा, विभवतण्हा ।’’
अर्थात् भिक्षुहरू ! नन्दीरागसँग जोडिएको, जुनसुकै विषयको अभिनन्दन गर्ने, पटकपटक उत्पन्न हुने जुन तृष्णा छ (जस्तै कामतृष्णा, भवतृष्णा, विभवतृष्णा आदि) त्यही नै दुःख समुदय आर्य सत्य हो ।
दोस्रो आर्य सत्य हो– दुःख समुदय वा दुःख उत्पत्तिका कारण रूपतृष्णा । यहाँ के प्रश्न उठ्छ भने यो तृष्णा भनेको के हो ? जन्म–जन्मान्तरदेखि प्रकृतिको शाश्वत नियम क्रियाशीलताका कारण तपाईंको चित्तमा एउटा यस्तो प्राकृतिक स्वभाव विकास भएको छ कि जुन स्वभावका कारण तपाईंको चित्तले काय र चित्तमा प्रतिक्षण उत्पन्न हुने सुखद र दुःखद संवेदनालाई स्वत भोग गर्न थालिहाल्छ । चित्तको यो संवेदना भोग गर्ने तृष्णा वा स्वभाव नै दुःख समुदय सत्य हो । चित्तको यो संवेदना भोग गर्ने स्वभावका कारण नै तपाईंमा दुःखको समुदय उत्पत्ति भइरहेको छ ।
मानिसको जीवनमा तीन प्रकारका तृष्णा छन् । कामतृष्णा, भवतृष्णा र विभवतृष्णा ।
कामतृष्णा :– कामवासनासहित छ इन्द्रिय (नाक, कान, आँखा, जिब्रो, छाला र मन) सँग जोडिएका विषयबाट उत्पन्न हुने सुखद संवेदना भोग गर्ने चित्तको तृष्णा कामतृष्णा हो । कामतृष्णा अनन्त छन्, असङ्ख्य छन् । ६ इन्द्रियसँग जोडिएका यी असङ्ख्य इच्छा, कामना, तृष्णा तपाईंको चित्तमा प्रतिपल उत्पन्न भएर तपाईंलाई व्याकुल बनाइरहेका हुन्छन् । चित्तका यिनै अनेक रागपूर्ण र द्वेषपूर्ण तृष्णाका कारण तपाईं जन्मदेखि मृत्युपर्यन्त दौडिरहनुहुन्छ, दुःख पाइरहनुहुन्छ । यसरी यही कामतृष्णा नै दुःखको कारण बन्छ ।
भवतृष्णा :– ‘म’ प्रतिको तृष्णा भवतृष्णा हो । ‘म’ सधैँ जुनसुकै अवस्थामा पनि बाँचिरहूँ भन्ने तृष्णा नै भवतृष्णा हो । यस तृष्णामा साधकले बाह्यरूपमा भन्छ कि यस संसारमा दुःख छ र यसबाट छुटकारा पाउनुपर्छ तर उसले मनमा भने ‘म’ कुनै न कुनैरूपमा रहनुपर्छ भन्ने तृष्णा राख्छ । मृत्युपश्चात् पनि चाहे त्यो स्वर्गलोक, ब्रह्मलोक, निर्वाण जेजस्तो स्थिति भए पनि ‘म’ आत्मा वा अन्य कुनै न कुनैरूपमा रहनैपर्छ भन्ने तृष्णा मनमा राखिरहन्छ । उसले ‘म’ नष्ट भएको कल्पनै गर्न सक्दैन । यही तृष्णा नै भवतृष्णा हो । यो ‘म’ प्रतिको एक गहन आशक्ति हो । जबसम्म ‘म’ प्रति आशक्ति रहन्छ तबसम्म साधकमा कर्ताभाव, भोक्ताभाव नष्ट हुँदैन, ‘म’ रूपी मूल अविद्या नष्ट हुँदैन । जबसम्म ‘म’ रूपी तृष्णा नष्ट हुँदैन तबसम्म संवेदनाका भोग चलिरहन्छ । यस्तो स्थितिमा साधकले अनात्मबोधको स्थिति प्राप्त गर्न सक्दैन । फलतः दुःखचक्र, भवचक्र, लोकचक्र प्राप्त भइरहन्छ ।
विभवतृष्णा :– एउटा अति छ भवतृष्णा वा जुनसुकै स्थितिमा ‘म’ बाँच्नुप¥यो, म रहनुप¥यो भन्ने तृष्णा । दोस्रो अति छ विभवतृष्णा, जुन तृष्णामा साधकको मलाई मुक्त हुनुछ, मलाई यस भवचक्रबाट छुट्नुछ जस्ता भाव मनमा रहन्छ । यस विभवतृष्णामा ‘म’ भावलाई प्रत्यक्षरूपमा बचाउन नखोजिएको जस्तो देखिए पनि यस विभवतृष्णाको केन्द्रमा पनि ‘म’ नै छ । यो अदृष्य जस्तो छ तर म मुक्त हुन चाहन्छु भन्ने तृष्णामा ‘म’ उपस्थित छ । जबसम्म ‘म’ उपस्थित छ तबसम्म साधकमा मूल अज्ञान वा मूल अविद्या उपस्थित रहन्छ । जबसम्म अज्ञान उपस्थित रहन्छ तबसम्म मनमा उठेका संवेदनाप्रति भोक्ताभाव उपस्थित रहन्छ । यसरी ‘म’ बाँचिरहेको स्थितिमा अनात्म बोधको अवस्था प्राप्त हुँदैन, निर्वाण स्थिति प्राप्त हुँदैन ।