जब भगवान्ले निर्वाण प्राप्त गर्नुभयो, तत्पश्चात भगवान्ले बन्धन र निर्वाणको केन्द्रमा धम्म वा प्रकृतिको प्रतीत्य समूत्पाद नामक श्वाशत नियम छिपेको स्पष्ट बोध गर्नुभयो । प्रतीत्य समूत्पादको यो श्वाशत नियमले कसरी संस्कार (संवेदना भोग गर्ने स्वभाव) विज प्राप्त गर्दा बन्धन (वा दुखचक्र, लोकचक्र र भवचक्र) र प्रकृतिको यही श्वाशत नियमले सम वा शुद्ध चित्त (संवेदना भोग नगर्ने स्वभाव) को विज प्राप्त गर्दा धर्मचक्र वा निर्वाण चक्र उत्पन्न गर्दछ ? को स्पष्ट बोध प्राप्त गर्नुभयो । जून प्रतीत्य समूत्पादको अनुलोम सत्य र प्रतिलोम सत्यको रुपमा प्रसिद्ध छ । यसको व्याख्या अध्याय दुईमा गरिसकिएको छ ।
भगवान् स्वयंले यसरी संस्कार (बन्धन) र निर्वाण सम्पूर्ण रुपमा प्रकृतिको ‘प्रतित्य समूत्पाद’ नामक श्वाशत नियमको को कारण उत्पन्न हुने परिणामहरु हुन् भनेर स्पष्ट रुपमा व्याख्या गर्दा पनि वर्तमान समयमा कैयन निर्वाण साधनाका साधकहरु प्रतित्य समूत्पाद भन्ने ‘शब्द’ सँग नै परिचित छैनन । अन्य कैयन साधकहरु छन्, जो प्रतित्य समूत्पाद शब्द सँग त परिचीत छन्, तर ति साधकहरु पनि प्रतित्य समूत्पाद भनेको प्रकृतिको श्वाशत नियम हो भनेर बुझ्न असमर्थ छन् ।
प्रतित्य समूत्पाद के हो ? भनेर बुझ्न असमर्थ भएको कारण वा प्रतित्य समूत्पाद प्रकृतिको श्वाशत नियम हो भनेर बुझ्न असमर्थ भएको कारण नै कैयन बुद्ध साहित्यमा प्रतीत्य समूत्पादलाई ‘दर्शन’ पनि भनिएको पाइन्छ । जून नितान्त भ्रामक छ । भगवान् बुद्ध सम्यक सम्बुद्ध हुनुहुन्छ । यो जगतमा जति पनि सम्यक सम्बुद्धहरु जन्मीन्छन्, ति सत्यज्ञाता सम्यक सम्बुद्धहरु कुनै काल्पनिक सिद्धान्त, दर्शन, मत आदिहरु प्रतिपादन गर्दैनन् । सम्यक सम्बुद्धहरु मात्र सत्यहरुलाई पहिल्याएर तिनै सत्यहरुलाई प्रकाश पार्दछन् । भगवान्ले प्रतीत्य समूत्पाद वा धम्मका नियमहरुको व्याख्यामा भगवान्ले मानिसमा छिपेको प्रकृतिका यिनै सत्य नियमहरु माथि प्रकाश गर्नुभएको छ । भगवान्ले कुनै काल्पनिक दर्शनको प्रतिपादन गर्नुभएको छैन ।



