धर्मचक्र पवर्तन सुत्त प्रारम्भ हुन गइरहेको छ । झण्डै छ वर्षको निर्वाण साधनापश्चात् भगवान्ले आफ्नै प्रयासले जुन मध्यमार्गी सत्य मोक्ष साधनाविधि पहिल्याउनु भयो, जुन साधनाविधिद्वारा निर्वाण प्राप्त गर्नुभयो, त्यही प्रामाणिक निर्वाण विद्याको व्याख्या प्रारम्भ हुन गइरहेको छ ।
धर्मचक्रको मूल अर्थ हो आन्तरिक वा आध्यात्मिक रूपान्तरण । मानव जीवनसत्तामा क्रियाशील धम्म (प्रकृति) का जुन शाश्वत नियमले संस्कार विज (चित्तको संवेदना भोग गर्ने स्वभाव)हरु प्राप्त गर्दा मानिसमा जुन दुःखचक्र (प्रतिक्षण मनमा उत्पन्न हुने दुःख, निराशा, भय, अशान्ति, व्याकुलता आदि) लोकचक्र (जन्ममृत्युका कारण विभिन्न लोकमा घुमिरहनु आदि) र भवचक्र (पुनर्जन्म) उत्पन्न गरीरहेको छ । धम्मको तीनै शाश्वत नियमहरूमा आर्य अष्टाङ्गमार्ग साधनाको माध्यमद्वारा चित्तको समभावरूपी (संवेदनासँग नगर्ने संस्कार) विज छरेर प्रकृति वा धम्मको तिनै शाश्वत नियमलाई निर्वाणको पक्षमा क्रियाशील गराउँदै निर्वाण लक्ष्यतर्फ विचरण गर्नु नै धर्मचक्र हो । स्मरणरहोस् धम्म वा प्रकृतिका शाश्वत नियमहरूका व्याख्या परिशिष्टमा राखिएको छ ।
धर्मचक्र प्रवर्तन (उत्पति) चित्तका संस्कार विनाश गर्ने आध्यात्मिक रूपान्तरण हो । जब तपार्इँमा चित्तका संस्कार वा (इन्द्रिय र विषयहरूका मिलनबाट उत्पन्न हुने संवेदनालाई भोग गर्ने चित्तको स्वभाव ) नाश गर्ने प्रक्रिया प्रारम्भ हुन्छ तब तपाईँमा धर्मचक्र प्रवर्तन प्रारम्भ हुन्छ वा धर्मचक्र उत्पन्न हुन्छ ।
संसारमा जति पनि धर्महरू, आध्यात्मिक शास्त्रहरू, गुरुहरू, सम्प्रदायहरू, दर्शनहरू छन् अनि ती सबै धर्म, शास्त्र, गुरु, सम्प्रदायसँग जोडिएका जति पनि प्रचलित मोक्ष साधनाविधिहरू छन् ती सबैका लक्ष्य मानिसमा धर्मचक्र उत्पन्न गर्नु नै हो, चित्तमा सङ्ग्रहित संस्कार (संवेदनालाई भोग गर्ने स्वभाव) लाई नाश गरी मोक्ष प्रदान गर्नु नै हो ।
फेरि मानिसको जीवन सत्ताको अदृश्य चित्तक्षेत्रमा संवेदना भोग गर्ने स्वभावको रुपमा उपस्थित जून संस्कार छ, धम्म (प्रकृति) को नियमको कारण जसको उत्पत्ति र विस्तार भइरहेको छ, जो धम्मकै नियमका कारण क्रियाशील छ चित्तका तिनै संस्कार वा संवेदनालाई भोग गर्ने स्वभाव नाश गरी आफैँमा धर्मचक्र उत्पन्न गर्नु, तिनलाई सम्पादन गरी निर्वाण प्राप्त गर्नु अति कठिन साधना हो ।
करोडौँ निर्माणाभिलाषी साधकमा एकदुई साधकले मात्र यसलाई सिद्ध गर्न सफल भएबाट पनि यो कति दुरुह वा कठिन साधना हो भन्ने स्पष्ट हुन्छ । विरलै साधकहरुले यो साधना सिद्ध गर्न सक्षम हुनुको पछाडि धेरै कारण छन् । तिनमा मुख्य कारण सत्य मोक्ष साधनाविधि प्राप्त नहुनु नै हो ।
भगवान् बुद्धका समयमा जति पनि निर्वाण साधनाविधि प्रचलनमा थिए ती सबै अपूर्ण, आंशिक, मिथ्या, भ्रमपूर्ण प्रकृतिका नै थिए, जसले चित्तको क्षेत्रमा गढेका संस्कारलाई नष्ट गरी साधकलाई निर्वाण प्रदान गर्न सक्दैनथे । यसैले गर्दा बुद्ध जस्तो सांसारिक विषयबाट पूर्ण वैराग्य प्राप्त पुरुषलाई पनि झण्डै छ वर्षसम्म अनेक साधना सङ्घर्षमा फस्नुपर्यो, झण्डै मृत्युको समीप पुग्नुप¥यो ।
हाल जति पनि मोक्ष साधनाका विधि प्रचलनमा छन् अधिकांश सतही, आंशिक र भ्रमपूर्ण प्रकृतिका छन्, साधकका चित्तको विकार (संवेदनालाई भोग गर्ने स्वभाव) लाई नाश गरी निर्वाण प्रदान गर्न असमर्थ छन्, साधकमा धर्मचक्र उत्पन्न गर्न असमर्थ छन् । अझ कति साधना विधि त विपरीत परिणामदायी पनि छन् । यसैले गर्दा मोक्षको अभिलाषाले साधनामा प्रवेश गरेका कैँयौँ साधकले वर्षौँ साधना गर्दा पनि उल्लेखनीय प्रगति हासिल गर्न सकिरहेका छैनन्, चित्तका विकारलाई क्षय गर्न नसकी दुःखचक्र भोगिरहेका छन् । त्यस्तै कैँयौँ साधक साधनाको विपरीत फल प्राप्त गरी शारीरिक, मानसिक र आध्यात्मिकरूपमा विक्षिप्त बन्न पुगेका छन् ।
त्यसैले निर्वाण अभिलाषी साधकले भगवान् बुद्धको प्रथम धर्म देशना वा धर्मचक्र प्रवर्तन सुत्तमा प्रवेश गर्नुपूर्व उहाँको निर्वाण साधना सङ्घर्षप्रति स्पष्ट हुनु आवश्यक छ, आफ्नो साधनालाई बुद्धका सङ्घर्ष साधनासँग तुलना गर्नु आवश्यक छ । भगवान् बुद्धले निर्वाण प्राप्तिका लागि केकस्ता साधना गर्नुभयो, केकस्ता सङ्घर्ष भोग्नुभयो, केकस्ता शारीरिक र मानसिक अवस्था प्राप्त गर्नुभयो र कसरी मध्यमार्गी साधनाविधि पहिल्याएर आफैँमा धर्मचक्र उत्पन्न गरी निर्वाण लक्ष्य प्राप्त गर्नुभयो भन्ने जस्ता तथ्यप्रति स्पष्ट हुन साधनाका दृष्टिले अत्यन्त आवश्यक छ । यसैले यहाँ धर्मचक्र प्रवर्तन सुत्तको व्याख्यामा प्रवेश गर्नुपूर्व भगवान् बुद्धको दरवार त्यागदेखि धर्मचक्र प्रवर्तनसम्मको साधना यात्रालाई सारांशमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।