गीताको प्रथम श्लोकका प्रथम पात्र हुन् राजा धृतराष्ट्र । तिनी विशाल साम्राज्यका सम्राट हुन् । सर्वत्र सम्मानित छन् । अतूल वैभवशाली छन् । विशाल सुन्दर दरवार छ । सुनका कक्षहरु छन् । सुनको सिंहासनमा आसिन छन् । अमूल्य रत्नहरु जडित श्रीपेच धारण गरेका छन् । तिनी सय पुत्ररत्नहरुको पिता हुन् । यस्तो असाधारण पतिव्रता पत्निका पति हुन् । जो जब मेरो श्रीमान नै यो संसारलाई देख्दैनन् भने यो संसारलाई मैले देख्नुको के सार छ ? भनी पति प्रेममा विह्वल भई आँखामा पट्टी बाँधेर बसेकी छिन् । सम्मान, वैभव, सुन्दरी, पतिव्रता पत्नी, पुत्र आदि संसारको लक्ष्य हो । यहि नै संसारका प्रत्येक मानिसको प्राप्तिको केन्द्रिय प्रयास हो । यहि नै प्रत्येक जीवनको प्रेरणा हो ।
धृतराष्ट्र सांसारिक प्राप्तिको शिखरमा छन् । सर्वोच्च स्थानमा छन् । वाह्य रुपमा पूर्ण सफल छन् । सफलताको चरम सिमामा छन् । फेरि तिनको आँखामा आँसु छ । तिनका प्रत्येक श्वासमा सुस्केराहरु छन् । पिडाहरु छन् । व्यथाहरु छन् । मन आन्तरिक रुपमा शान्ति निरत छ । मन धृष्टा, ईष्र्या, जलन, प्रतिशोध, क्रोध आदि वासनाहरुद्वारा भरिएका छन् । ति विकारहरुले स्वयंलाई प्रतिपल यातना दिइरहेको छ । जीवन सतत् आन्तरिक यातनाको पर्याय बनेको छ ।
नियमहरुले मानिसको प्रत्येक विचार र कर्मलाई अकाट्य जीवनमा प्राप्ति वाह्य भौतिक रुपमा मात्र प्राप्त हुँदैन ।
ईश्वरीय शाश्वत आन्तरिक क्षेत्रमा पनि परिणामहरु प्रदान गर्दछन् । भौतिक वस्तुहरु (मूलतः भाइहरुको राज्य) प्रतिको आशक्ति, अनि कुनै मूल्यमा ति भौतिक वस्तुहरु प्राप्त गर्न उद्यत स्वयंका पुत्रहरु प्रतिको मोह, अनि यहि मोहको कारण तिनिहरुको अधर्मपूर्ण कार्यहरु प्रति समर्थन र सहयोग गरेको कारण शनैः शनैः स्वयंको जीवनमा प्रवेश गरेका अधर्म वा पापपूर्ण विचारहरुले आज धृतराष्ट्रको आन्तरिक जीवन नष्ट भएको छ । तहसनहस भएको छ । क्षत विक्षत भएको छ । ………………………….
फेरि तिनको जीवनमा उपस्थित यो अधर्म तिनीमा मात्र सिमित छैन । यो अधर्मको प्रभाव सर्वत्र छ । हस्तिनापूर दरबार, राज्य अधर्मको प्रतिक बनेको छ । तिनी स्वयं अधर्मका प्रतिनिधि पात्र बनेका छन् । अधर्मको मूल लक्ष्य हो – कुनै मूल्यमा भौतिक वस्तू प्राप्ति अनि भोग । अधर्मको अन्तिम परिणाम हो – हिँसा, हत्या, अकाल मृत्यू आदि । आज यहि अधर्मको परिणाम स्वरुप दाजुभाइका पुत्रहरु सम्पूर्ण मातृत्व प्रेम, परिवार आदि विस्मृत गरी एक अर्कालाई मार्न हतियारहरुले सुसज्जित भएर युद्ध भुमीमा आइपुगेका छन् ।
धृतराष्ट्रको जीवनको अर्को मर्मस्पर्शी पक्ष हो – जगत मायाको असाधारण शक्ति । राजा धृतराष्ट्र अन्धा छन् । तिनी जगतका मायावी दृश्यहरु देख्न असमर्थ छन् । जगत कस्तो छ ? जगतका विषयहरु कस्ता छन् ? गान्धारी कस्ती छिन् ? तिनको सुन्दरता कस्तो छ ? स्वयंका पुत्रहरु कस्ता छन् ? आदि देख्न असमर्थ छन् । जगतका विषयहरुबाट प्राप्त हुने माया वा आकर्षणलाई ग्रहण गर्ने प्रमुख चक्षु इन्द्रिय नै तिनमा बन्द छ । अक्रिय छ । फेरि तिनी पनि जगतको मायाले बाँधिएका छन् । राज्य, पुत्र आदिका बन्धनहरु प्राप्त गरिरहेका छन् । यहि कारण व्यथित छन् । दुःखित छन् । छटपटिएका छन् । यो जगतको असाधारण भयावह दृश्य झैँ प्रतित हुन्छ । जब अन्धा मानिसहरु पनि संसारका विषयहरुद्वारा बाँधिन्छन् भने जीवनमा मोक्ष कति दुरुह होला ? अनि लाखौँमा मात्र किन एक दुई साधकहरुमा मात्र यो जगत मायाको भासलाई पार गरी परमात्मा जगतमा प्रवेश गर्न सकेका होलान् ? भन्ने तथ्यलाई प्रकाश पार्दछ ।
धृतराष्ट्रको जीवनमा प्रतिविम्वित एक अर्को मर्म हो वाह्य भौतिक प्राप्तिका व्यर्थता, मिथ्यता । सांसारिक सफलताको शिखरमा आँखा भरी आँसु पारेर आसिन राजा धृतराष्ट्रको जीवन अत्यन्त प्रतिकात्मक छ । अनि यो दृश्यले सांसारिक प्राप्तिको सिमा, व्यर्थता र मिथ्यतालाई प्रदर्शित गर्दछ । धृतराष्ट्रसँग ति सम्पूर्ण प्राप्तिहरु छन् । जुन प्राप्तिहरु प्राप्त गर्न संसार दौडिरहेको छ । संसारका प्रत्येक मानिस दौडिरहेका छन् । फेरि तिनका जीवनका उच्च प्राप्तिहरु, सम्राट पद, अतुलनीय वैभव आदि तिनको जीवनमा व्यर्थ सावित भएका छन् । यि प्राप्तिहरु न तिनको दुःखलाई, न शोकलाई हटाउन सक्दछन् । न आँसुलाई पुछ्न नै सक्दछन् । न त पुत्रहरुको मृत्यूलाई नै रोक्न सक्दछन् । एक विवश असफल मानिस झैँ अतुलनीय सफलताको माझमा पनि रोइरहेको तिनको जीवनको दृश्यले मात्र भन्दछ कि बाह्य प्राप्ति व्यर्थ हो । मीथ्या हो । अर्थहीन हो मात्र एक भूलभूलैया हो । गीताको प्रथम श्लोकमा पुत्रहरुको सघन मोह, मृत्यूभय आदिले आक्रन्त र शोकाकुल तिनी सञ्जयलाई सोध्दछन्