त्यसपछि प्रथम धर्मचक्र प्रवर्तनका लागि योग्य पात्रको खोजी गर्ने क्रममा भगवान्ले पञ्चवर्गीय भिक्षुहरूलाई सम्झनुभयो । विद्वान् ब्राह्मण कौडिन्यसहित ती पाँच मोक्ष प्यासी भिक्षुहरूको स्मरण गर्नुभयो । भगवान्लाई जब निर्वाण प्राप्त हुनेछ अनि यो मोक्ष विद्या आफूहरूलाई पनि प्राप्त हुनेछ भन्ने आशाले यी भिक्षु लामो समयसम्म भगवान्सँगै साधनारत थिए तर जब भगवान्ले देहनाशक तपस्याको असफलता पश्चात् भोजन ग्रहण गर्न प्रारम्भ गर्नुभयो तब ती पञ्चवर्गीय भिक्षुहरूले भगवान्लाई साधना भ्रष्टको संज्ञा दिँदै उहाँलाई निर्वाण प्राप्त हुने छैन भन्ने निष्कर्ष निकाली उहाँलाई त्यागेर स्वसाधनाका लागि अज्ञात प्रदेशतर्फ लागेका थिए ।
जब भगवान्ले यी पञ्चवर्गीय भिक्षुहरूलाई अन्तदृष्र्टिले खोज्नुभयो तब देख्नुभयो कि यी पाँच भिक्षूहरु वाराणसी समीपको ऋषिपतन भन्ने स्थानको मृगदाय नामक वनमा मोक्ष प्राप्तिका लागि साधना गरिरहेका थिए । यी भिक्षुमा निर्वाण खोजको सत्य प्यास र ध्यान साधनाको दीर्घकालीन अभ्यासको इतिहास थियो । भगवान्लाई लाग्यो कि यी पञ्चवर्गीय भिक्षुहरूमा प्रतित्यसमुत्पादको नियममा आधारित यस सूक्ष्म धर्म विद्यालाई बुझ्ने, ग्रहण गर्ने र साधनामा उतार्ने क्षमता विकास भइसकेको छ । जब यिनीहरूले यस धर्म विद्यालाई प्राप्त गर्नेछन् तब उनीहरूको अवश्य कल्याण हुनेछ, यिनीहरूका मोक्षको प्यास सँधैका लागि समाप्त हुनेछ । त्यसैले भगवान्ले तिनै पञ्चवर्गीय भिक्षुहरूलाई प्रथम धर्म उपदेश दिने निर्णय गर्नुभयो, संसारमा लामो युगपश्चात् धर्मचक्र प्रवर्तन गर्ने निर्णय गर्नुभयो, समयको धारामा विविध कारणले लुप्त वा अपभ्रंश हुन पुगेको सत्य मोक्ष विद्यालाई पुनस्र्थापना गर्ने निश्चय गर्नुभयो र उनीहरूलाई खोज्दै वाराणसीतर्फ जानुभयो ।