परमार्थ सत्य के हो ?
न निरोधो न चोत्पत्तिर्न बद्धो न च साधकः ।
न मुमुक्षुर्न वै मुक्त इत्येषा परमार्थता ।।५७५।।
परमार्थसत्य वा वास्तविकता यो छ कि न कसैको नाश छ । न उत्पत्ति छ । न बन्धन छ न कोही साधक छ । त्यस्तै न कोही मुमुक्षु छ । न मुक्त छ । ।।५७५।।
सृष्टिको वास्तविकता वा सत्य छ यो कि यहाँ मात्र ब्रह्म छ । मात्र अद्वैत सत्ता छ । ब्रह्म वा अद्वैत सत्ता भएकोले यहाँ न उत्पत्ति छ । न नाश छ । न बन्धन छ, न मोक्ष छ, न कोही साधक छ, न कोही मुमुक्षु छ, न कोही मुक्त छ । सम्पूर्ण सृष्टि वा जगत्को परमार्थिक सत्य यही हो ।
गुरु–उपदेशका कारण
सकलनिगमचूडास्वान्तसिद्धान्तरूपं परमिदमतिगुह्यं दर्शितं ते मयाद्य । अपगतकलिदोषं कामनिर्मुक्तबुद्धिं
स्वसुतवदसकृत्त्वां भावयित्वा मुमुक्षुम् ।।५७६।।
हे वत्स ! कलिको दोषबाट रहित, कामनासुन्य तिमी मुमुक्षुलाई आफ्नो पुत्र समान सम्झेर मैंले वारम्वार सम्पूर्ण शास्त्रहरूको सार (निष्कर्ष) यो उत्कृष्ट र अत्यन्त गुप्त ब्रह्म ज्ञान आज तिम्रो सामु प्रकट गरको छु वा राखेको छु । ।।५७६।।
हे वत्स । कलिको दोष (धर्मप्रतिको विकर्षण) बाट रहित, जगत् वासनाबाट शून्य, मोक्षकाप्रति तीव्र प्यासी तिमी मुमुक्षुलाई मैंंले स्वयं आफ्नो पुत्र समान अत्यन्त निकट प्रिय सम्झिएर वेद, उपनिषद, गीता आदि सम्पूर्ण वेदान्त शास्त्रहरूको निष्कर्षरूपी उत्कृष्ट गुप्त परम सिद्धान्त तिम्रो सामु राखेको छु । तिमी परमशास्त्रहरूले निर्देशित मार्गमा मुक्त भएर जीवन यापन गर । मृत्युलेस्पर्शसम्म पनि गर्न नसक्ने त्यो परम ब्रह्मपद जुन तिमीले प्राप्त गरेका छौ । त्यही पदमा स्थिर रहि तिमी नित्य परम शान्तीको अनुभूति गर । तिमी अमर, अजर वन । तिम्रो सँधैं कल्याण होस् ।