अर्थात् व्यय धर्मको अनुपश्यना ।
विपश्यना साधनाको यस अवस्थाको अनुभूति हो संवेदनाहरूको व्ययको अनुभूति प्राप्त हुनु । विपश्यना साधनामा जब तपाईँ शिरदेखि पैतलासम्म संवेदना उत्पन्न गरी ती संवेदनाहरूमाथि साधना प्रारम्भ गर्नुहुन्छ तब साधनाका प्रारम्भिक दिनमा तपाईँ कायमा स्थूल संवेदना उत्पन्न भएको र ती संवेदना केही क्षणसम्म स्थिरझैँ रहेको र पुनः स्पष्टरूपमा विस्तारै व्यय हुँदै गएको अनुभूति प्राप्त गर्नुहुन्छ ।
अर्थात् तपाईँ संवेदनाहरूको समुदय र व्ययको बीचमा समय स्पष्टरूपमा उपस्थित भएकोे अनुभूति प्राप्त गर्नुहुन्छ तर जब तपाईँ कायानुपश्यना साधनालाई निरन्तरता दिँदै जानुहुन्छ तब यी स्थूल प्रकृतिका संवेदना सूक्ष्मरूपमा टुक्रिँदै जान्छन्, व्यय हुँदै जान्छन् । यस अवस्थामा तपाईँ स्पष्टरूपमा सूक्ष्म संवेदनाका सतत व्ययको अनुभूति गर्नुहुन्छ । यस स्थितिमा तपाईँ कायका संवेदनाहरूप्रति जागरुक र समभावी बन्दै व्यय धर्मानुपश्यी भएर विहार गर्नुहुन्छ ।