मानिसको जीवनसत्तामा धम्म वा प्रकृतिका ६ वटाशाश्वत नियम क्रियाशिल छन् । धम्म वा प्रकृतिका यी ६ वटा शाश्वत नियमहरूका व्याख्या अर्को अध्यायमा गरिएको छ । मानिसको जीवनसत्तामा क्रियाशील प्रकृतिका शाश्वत नियममध्ये एउटाशाश्वत नियमको नाम हो प्रतित्यसमूत्पाद । मानिसले जीवनसत्तामा रोपेको एउटा संस्कार बीजले श्रृङ्खलाबद्धरूपमा अनेक परिणाम प्रदान गर्ने हुनाले यस नियमलाई “महानियम” पनि मान्न सकिन्छ ।
प्रतित्यसमुत्पाद तपाईंको जीवनसत्तामा क्रियाशील धम्म वा प्रकृतिको एउटा यस्तो शक्तिशाली शाश्वत नियम हो, जुन नियमका कारण तपाईंको जीवनसत्तामा रोपिएको एउटा कारण (बीज) एकपल्ट मात्र फल (परिणाम) प्रदान गरेर समाप्त हुँदैन । यस नियमद्वारा जब तपाईं प्रथम बीज (कारण)को प्रथम फल (परिणाम) प्राप्त गर्नुहुन्छ तत्क्षण यसनियमले त्यस फल (परिणाम) लाई (कारणं) मा परिवर्तन गर्दै तपाईंमा कारण (बीज)→परिणाम(फल)→कारण (बीज)→परिणाम (फल) को एउटा श्रृङ्खला वा चक्र उत्पन्न गरिदिन्छ, जसका कारण तपाईंले एउटा बीज (कारण) बाट अनेक फल (परिणाम) प्राप्त गर्नुहुन्छ । प्रतित्य (कारण) समुत्पाद (परिणाम) नियमलाई कारण–कार्य (परिणाम)—कारण नियम, कर्मफलको नियम, जस्तो बीज रोप्यो सोही अनुरूप फल प्राप्त हुने नियम आदि पनि भनिन्छ ।
प्रकृतिका शाश्वत नियम क्रियाशील रहेको तपाईंको जीवनसत्तामा जब तपाईंले ६ वटा इन्द्रियहरू र विषयहरूको मिलनबाट उत्पन्न हुने सुखद संवेदना (खुसी, हर्ष, आशा, सफलता) र जब दुःखद संवेदनाहरू (दुःखः, पिर, भय, निराशा, पश्चात्ताप आदि) लाई भोग गर्नुहुन्छ त्यस क्षणमा तपाईंको चित्तमा धम्मको शाश्वत नियमका कारण संस्कार (संवेदना भोग गर्ने स्वभाव) को जन्म हुन्छ ।