मानिसको जीवनमा धम्म वा प्रकृतिका अनेक नियम क्रियाशील छन् । यी नियममध्ये एउटा नियमको नाम हो प्रतित्यसमुत्पादको नियम । शक्तिशाली चक्रझैँ सृङ्खलाबद्धरूपमा क्रियाशील हुने भएकाले यसलाई महानियम पनि मान्न सकिन्छ ।
प्रतित्य (कारण) समुत्पाद (परिणाम) का नियमलाई कारण र कार्यको नियम, कर्मफलको नियम, जस्तो बीज रोप्यो त्यहीअनुरूप फल प्राप्त हुने नियम पनि भनिन्छ । प्रतित्यसमुत्पाद मानिसको जीवनमा क्रियाशील प्रकृतिको एउटा यस्तो शक्तिशाली नियम हो, जसका कारण जब मानिसको जीवनमा एउटा कारण (बीज) रोपिन्छ तब त्यो कारण (बीज) एकपल्ट मात्र फल (परिणाम) दिएर समाप्त हुँदैन । यस नियमले तत्काल त्यस फल (परिणाम) लाई बीज (कारण) मा परिवर्तन गरिदिन्छ । अनि त्यही बीजका कारण–परिणाम–कारण–परिणाम वा बीज–फल–बीज–फल हुँदै एउटा त्यस्तो श्रृङ्खला वा चक्र उत्पन्न हुन पुग्छ, जसले मानिसको जीवनसत्तामा अनेक परिणाम प्रदान गर्दै जाने गर्छ ।
प्रतित्यसमुत्पादको नियम क्रियाशील रहेको मानिसको जीवनसत्तामा जब मानिसले छ इन्द्रिय र विषयको मिलनबाट उत्पन्न हुने दुःखद संवेदना (दुःखः, पिर, भय, निराशा, पश्चात्ताप आदि) र सुखद संवेदना (खुसी, हर्ष, आशा, सफलता आदि) लाई भोग गर्छ त्यस क्षणमा चित्तमा धम्मको नियमका कारण मानिसमा संवेदनाहरूलाई भोग गर्ने स्वभाव उत्पन्न हुन्छ । यस स्वभावलाई संस्कार वा विकार भनिन्छ । यही चित्तमा जब सुखद, दुःखद संस्कारबीज उत्पत्ति हुन्छ त्यस क्षणमा चित्तमा छिपेको प्रतित्यसमुत्पादको नियमले यस संस्कारबीजलाई प्राप्त गर्छ । यसरी जब यस नियमले संस्कारबीज प्राप्त गर्छ त्यस संस्कारबीजका अनेक परिणाम चक्रीयरूपमा प्रदान गर्दै जान्छ । यही एक संस्कारबीजको चक्रीयरूपमा परिणाम प्रदान गर्दै जाने नियमका कारण मानिस अन्त्यहीन वा कहिल्यै समाप्त नहुने दुःखचक्र, लोकचक्र र भवचक्रमा फसिरहन्छ । प्रतित्यसमुत्पादको नियमले कसरी मानिसमा एउटा बीजको अनेक परिणाम दिदै जान्छ ? भन्ने प्रश्नको व्याख्या भगवान्ले यसरी गर्नुभएका छ–
अविज्जा :– पच्चया सङखारा (अविद्याको कारण संस्कार)
सङखारा :– पच्चया विञ्ञाणं (संस्कारका कारण विज्ञान वा चित्तको आहार)
विञ्ञाणं :– पच्चया नाम रुपं (विज्ञानका कारण नामरूप वा पुनर्जन्म)
नामरुपं :– पच्चया सलायतनं (नामरूपका कारण छ इन्द्रिय)
सलायतनं :– पच्चया फस्सो (छ इन्द्रियका कारण विषय स्पर्श)
फस्स :– पच्चया वेदना (स्पर्शका कारण वेदना वा संवेदना)
वेदना :– पच्चया तप्हा (वेदना वा संवेदनाका कारण तृष्णा)
तप्हा :– पच्चया उपादानं (तृष्णाका कारण उपादान वा आशक्ति)
उपादानं :– पच्चया भवो (आशक्तिका कारण भव वा उत्पत्ति )
भव :– पच्चया जाति (भवका कारण जन्म)
जाति पच्चया जरा परण :– शोक– परिदेक– दुःख– दोमन स्सूपायासा
सम्मवन्ति :– (जन्मका कारण वृद्धावस्था, मृत्यु, शोक, चिन्ता, दुःख)
निर्वाण साधनाका गम्भीर साधकका निम्ति थप स्पष्ट पार्नका लागि प्रतित्यसमुत्पाद नियमको व्याख्या यही पुस्तकको परिशिष्टमा राखिएको छ ।