जब तपाईँमा विपश्यना साधनाको दीर्घकालीन साधनाद्वारा अथवा कायको बाह्य क्षेत्रमा संवेदना उत्पन्न भएको प्रथम चरणबाट साधनाका एघार चरणबाट गुज्रिँदै अन्ततः म भाव नाश हुन्छ, यही नै निर्वाणको स्थिति हो ।
यस अवस्थामा तपाईँमा ‘म’ अनुपस्थित भई मात्र दर्शन, मात्र ज्ञान, मात्र बोध शेष रहन्छ । यस निर्वाण अवस्थामा तपाईँको स्मृति (चेतना, जागरुकता) यही स्वयंको यो (दर्शन) वा स्वरूपमा प्रतिष्ठापित (स्थिर) हुन पुग्छ । यस्तो स्थितिमा द्रष्टा रहँदैन मात्र दर्शन रहन्छ । यस स्थितिमा तपाईँ इन्द्रियातीत क्षेत्रमा प्रवेश गर्नुहुन्छ । इन्द्रियका क्षेत्रभन्दा बाहिरको क्षेत्र भएकाले यस इन्द्रियातीत अनुभूतिलाई शब्दमा व्याख्या गर्न सकिन्न । जब निर्वाणको स्थिति प्राप्त हुन्छ तब तपाईँ लोक (काय) मा अनाश्रित भएर वा आश्रय नलिइकन विचरण गर्न थाल्नुहुन्छ । यस्तो निर्वाणको स्थितिमा तपाईँ लोक (काय) मा केही ग्रहण गर्नुहुन्न । दीर्घसाधनाद्वारा चित्त समभावी भएकाले चित्तले प्राकृतिकरूपमा संवेदनाहरूलाई भोग गर्दैन ।
तपाईँ पञ्चस्कन्धभन्दा बाहिरको शाश्वत, सत्य, ध्रुव, इन्द्रियातीत क्षेत्रको परम अनुभूति, परमशान्ति, परमआनन्द, परमतृप्तिले ओतप्रोत रहनुहुन्छ । संसारका सम्पूर्ण विषय छुटेकाले परमस्वतन्त्र स्थितिमा रहनुहुन्छ । मात्र एक द्रष्टा वा चेतन तत्वको रूपमा रहनुहुन्छ । यही नै दुःख निरोध वा निर्वाणको स्थिति हो ।
स्मरणरहोस् साधनाद्वारा निर्वाणको यस स्थितिमा पुगेका पुरुष स्पष्टरूपमा पञ्चस्कन्धप्रतिको आशक्ति (‘म’ प्रति आशक्ति) नै दुःख हो भन्ने तथ्यप्रति पूर्णतः जानकार हुन्छ, जसलाई ‘दुःखको दर्शन’ पनि भनिन्छ ।