अन्ततः भगवान्ले राजदरवारलाई त्याग्नुभयो । उन्नतीस वर्षको चरम यौवनकालमा जून समयमा मानिसको मनमा सांसारिक विषयहरु प्रति एक गहन आर्कषण उठ्दछ ।
जून समयमा प्रायः सबै मानिस सांसारिक विषयहरूमा मोहित भई संसार सागरमा डुब्ने गर्छन् तर भगवान् बुद्ध (तत्कालीन युवराज सिद्धार्थ) ले यही उमेरमा सांसारिक विपुल भोग, वैभव र उच्च सामाजिक प्रतिष्ठायुक्त जीवनलाई त्याग्नुभयो ।
उहाँले वैभव, भोग, प्रतिष्ठामा डुब्नु र रमाउनुको अर्थ बुझ्न सक्नुभएन । ती असत् वस्तुका प्राप्तिमा अमूल्य जीवन अर्पण गर्नुको अर्थ पनि बुझ्न सक्नुभएन……….. । सांसारिक वस्तुबाट प्राप्त हुने सुख, आनन्द, तृप्ति आदि सबै झुटो हो, क्षणिक छ, अर्थहीन छ, मूलतत्व विहीन छ भन्ने कुरा आफ्नै जीवनका अनुभवले बुझ्नुभयो । अनि त्यस्ता व्यर्थ सांसारिक वस्तुमा रमाएर जीवन नष्ट नगर्ने निर्णय लिनुभयो र जीवनको मूल तत्व निर्वाणको खोजीमा एक दिन मध्यरातमा दरवार त्यागेर हिँड्नुभयो, निर्वाण प्राप्तिका दुरुह र रहश्यमय मार्गमा प्रवेश गर्नुभयो ।