मानिस मूलतः मन र इन्द्रियका तृष्णाहरुको कारण नै कर्म गर्दछ । मान, सम्मान, प्रशंसा आदि जस्ता मनका तृष्णाहरु, प्रत्येक इन्द्रियका विषय भोगसँग जोडिएका तृष्णाबाट प्रेरित भएर नै उ कर्ममा प्रवेश गर्दछ । यहि कारण नै सकाम कर्ममा उ जीवन नै अर्पण गर्दछ । यहाँ स्मरणीय के छ भने यि मन र इन्द्रियका तृष्णाहरु मूलतः मानिसमा उपस्थित त्रिगुणी संस्कारहरुको कारण नै उत्पति हुन्छ । जुन मनुष्यमा त्रिगुण उपस्थित छ । त्यो मनुष्यमा विषय राग, द्वेष उत्पन्न हुन्छ । जुन अन्ततः कर्मको कारण बन्दछ ।
तर, भगवान कृष्ण जो शुद्ध परमात्मा तत्वको देहीक अवतरण हुनुहुन्छ । शुद्ध तत्वको अवतरण भएकाले गुणातीत हुनुहुन्छ । त्रिगुणी तत्व निरत हुनुुहुन्छ । उहाँ मन र इन्द्रिय तृष्णाका संस्कारहरु नै अनुपस्थित छन् । विषय तृष्णाहरु नै अनुपस्थित मन पूर्ण वैरागी छ । जीवन पूर्ण सन्यासमय छ । यस्तो सन्यासी जीवन, जहाँ मनमा कुनै विषय प्रतिको सुक्ष्म तृण्णा सम्म उपस्थित छैन । यस्तो जीवन स्थितिमा स्थित कृष्ण आखिर किन प्रत्येक क्षण कर्म गर्नुहुन्छ ? किन उहाँ कैयन अन्य मोक्ष पुरुष झैँ ब्रम्हानन्दको परम सागरमा तृप्त डुबेर बाँच्नुहुन्न ? किन उहाँ युद्ध भूमीमा शिष्यको रथ चलाइरहनुभएको छ ? उहाँ किन अर्जुनले युद्ध त्यागको घोषणा गरेर धनुषलाई विसाउँदा पनि शान्त समभावमा हुनुहुन्छ ? प्रतिक्रिया बिहीन हुनुहुन्छ ?
कृष्णको ‘सक्रिय कर्मपूर्ण’ जीवनलाई बुझ्न किन अवतारहरु धर्तीमा अवतरित हुन्छन् ? भन्ने तथ्यलाई अवलोकन गरिनु पर्दछ । जब कुनै अवतार कर्मयोगरुपी मोक्ष विद्याको पुनस्र्थापना गरी साधु (साधक) को रक्षा, अधर्म नाश र धर्मको स्थापनाको लागि पृथ्वीमा अवतरित हुन्छ, उ कर्मयोगको प्रवचनमा मात्र स्वयंलाई सिमित राख्दैन । उ गीताको सैद्धान्तिक वाचना मात्र गर्दैन । उ कर्मयोगलाई स्वयंको जीवनमा उतार्दछ । स्वयं कर्मयोगी बन्दछ । उसले बुझेको छ कि गुणहरुको कारण विषयमा मोहीत साधारण जनलाई धार्मिक प्रवचनद्वारा विचलित गर्नु व्यर्थ छ । उसले यो पनि बुझेको छ कि न्यून चेतनायुक्त साधारण जनहरुले उच्च चेतनायुक्त श्रेष्ठ पुरुषको जीवनलाई सधैँ पछ्याउछन् । उ अर्जुन झैँ प्रभू तत्व प्रति समर्मित साधकलाई गीता बाचन गर्दछ । तर
साधारण जनहरुले स्वयंका जीवनबाट कर्मयोगको प्रेरणा प्राप्त गरुन् भनी कर्मयोगलाई स्वयंको जीवनमा उतार्दछ । कर्मफल प्रति अनाशक्त, कर्मबाट फल प्राप्त हुँदा नहुँदा न हर्ष न विस्मातको जीवन प्रस्तुत गरेर साधारण जनलाई कर्मयोगमा प्रेरित गर्दछ । भगवान भन्नुहुन्छः
यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः ।
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ।।३–२१।।
श्रेष्ठ पुरुष जुन जुन आचरण गर्दछन्, अन्य पुरुषहरु पनि ति ति आचरण गर्दछन् । श्रेष्ठ पुरुषले जे प्रमाणित गर्दछ, समस्त मनुष्य समुदाय पनि त्यहि अनुरुप व्यवहार गर्दछ ।
न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किञ्चन ।
नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि ।।३–२२।।
हे अर्जुन ! यद्धपी तिनै लोकमा न त मेरो कुनै कर्तव्य छ, न त केहि प्राप्त गर्न योग्य वस्तु अप्राप्त छ, तर पनि म कर्म गरिरहन्छु ।
यदि ह्यहं न वर्तेयं जातु कर्मण्यतन्द्रितः ।
मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।३–२३।।
किनभने हे पार्थ ! यदि कदाचित म सावधान भएर कर्तव्य कर्म नगरुँ भने सम्पूर्ण मनुष्य मेरो मार्ग (आचरण) को अनुशरण गर्नेछन् ।
उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम् ।
सङ्करस्य च कर्ता स्यामुपहन्यामिमाः प्रजाः ।।३–२४।।
यदि मैले कर्म गरिन भने सम्पूर्ण मनुष्य नष्ट – भ्रष्ट हुनेछ । र (म) वर्णशंकरलाई सृजना गर्ने कारण बन्नेछु । सम्पूर्ण प्रजालाई नष्ट गर्ने बन्नेछु ।
सक्ताः कर्मण्यविद्वांसो यथा कुर्वन्ति भारत ।
कुर्याद्विद्वांस्तथासक्तश्चिकीर्षुर्लोकसङ्ग्रहम् ।।३–२५।।
हे भारत ! कर्म (फल) मा आशक्त अज्ञानीजन जसरी कर्म गर्दछन्, आशक्तिरहित विद्वान पनि लोकसंग्रहको चाहना गर्दै कर्म गरोस् ।
न बुद्धिभेदं जनयेदज्ञानां कर्मसङ्गिनाम् ।
जोषयेत्सर्वकर्माणि विद्वान्युक्तः समाचरन् ।।३–२६।।
तत्वयुक्तः विद्वान पुरुषले सकाम कर्ममा आशक्त अज्ञानीको बुद्धिमा भ्रम अर्थात् कर्महरुमा अश्रद्धा उत्पन्न नगरोस् । (तर स्वयं) सम्पूर्ण कर्महरुलाई कुशलता पूर्वक गर्दै उनिहरुबाट पनि त्यस्तै गराओस् ।