जब भगवान्ले भोजन ग्रहण गर्न प्रारम्भ गर्नुभएको दृश्य पञ्चवर्गीय भिक्षुहरूले देखे तब उनीहरू आश्चर्य चकित भए । यस्तो दृश्य उनीहरूका लागि कल्पना बाहिरको थियो । उनीहरूलाई लाग्यो भगवान् पुनः भोगको संसारमा फर्किनुभएको छ । निर्वाण साधना पथबाट भ्रष्ट हुनुभएको छ । बुद्धत्व प्राप्त गर्ने सम्भावनाबाट टाढा पुग्नुभएको छ । निर्वाण प्राप्तिको जुन अभिलाषाले उनीहरूले भगवान्लाई पछ्याइरहेका थिए त्यसमाथि निराशाको कालो बादल उठिरहेको थिए, आफ्नो मधुर प्रतिक्षा खेर गइरहेको जस्तो भइरहेको थियो ।
तत्पश्चात् पञ्चवर्गीय भिक्षुहरूले स्नान गर्न इच्छुक व्यक्तिले शीतका थोपामाथि भर पर्नु र भगवान्लाई निर्वाण प्राप्त होला र हामीले निर्वाणको सत्य साधना विधि पाउन सकौँला भन्ने आशा गर्नु उस्तै हो भन्ने निष्कर्षमा पुगे । त्यसपछि उनीहरूले भगवान्लाई त्याग गर्ने निश्चय गरी उहाँलाई त्यागेर मोक्षको स्व–साधना गर्ने उदेश्यले ऋषिपतन नामक स्थानतर्फ लागे ।
भोजनपश्चात् भगवान्को शरीर पूर्व अवस्थामा फर्किन थाल्यो । शरीरमा स्वास्थ्यका लक्षण शनैःशनैः प्रकट हुन थाले । भगवान् क्रमशः स्वस्थ हुँदै गइरहनुभएको थियो । ती अन्योलका दिनमा भगवान् भिक्षाटन गरेर फर्केपछि बोधिवृक्षको शीतल छायाँमा शान्त बसिरहनुहुन्थ्यो । लामो असफल निर्वाण साधना यात्रा, जुन यात्रामा उहाँको झण्डै छवर्षको समय व्यतीत भइसकेको थियो, झण्डै मृत्युको मुखमा पुग्नुभएको थियो त्यो निर्वाण साधना यात्रामाथि चिन्तन गरिरहनुहुन्थ्यो ।
उहाँको मनमा एक प्रश्न बारम्बार उठिरहन्थ्यो कि आखिर किन यी अनेक साधनाविधि वहाँलाई निर्वाण प्रदान गर्न असमर्थ रहे ? ती दिनमा भगवान्को जीवन स्थिरझैँ थियो । उहाँसँग न त अगाडि बढ्ने साधनामार्ग थियो न पुनः भोगको सारहीन संसारमा फर्कन मनले स्वीकार गरिरहेको थियो । संसारप्रतिको वैराग्य उहाँका मनमा ज्यूँकात्यूँ थियो । निर्वाण खोजको असफलतापश्चात् पछि पनि उहाँको मनको एक कुनामा आशाको यस्तो आवाज उठिरहन्थ्यो कि जीवनमा सार वस्तु छ, सार तत्व छ, निर्वाण छ । तथापि सत्य निर्वाणमार्ग अदृष्य थियो । आफ्नै जीवनभित्र सार तत्वसम्म पुग्ने मार्ग पहिल्याउन अत्यन्त दुरुह थियो ।