मानिसको चित्तमा कसरी संस्कार (संवेदना भोग गर्ने स्वभाव) उत्पन्न हुन्छ भन्ने प्रश्नलाई प्रष्टसँग बुझ्न तपार्इँले सर्वप्रथम आफ्नै जीवनसत्ताको संरचनाबारे थाहा पाउनु अत्यावश्यक हुन्छ । भगवान् बुद्धका अनुसार तपाईंको जीवनसत्ता काय र चित्तको संयोजनबाट निर्माण भएको छ । तपाईंको जीवनसत्ताका यी दुई पक्षमध्ये तपाईंको जुन चित्तको क्षेत्र छ त्यसका चार भाग वा खण्ड छन् । ती खण्डलाई विज्ञान, संज्ञा, वेदना र संस्कार भनिन्छ । चित्तका यी चार खण्डका भूमिका वा कार्य पृथकपृथक छ, जसलाई निम्नानुसार केलाउन सकिन्छ–
१, जब तपाईंका छवटा इन्द्रिय र जगत्का विषयहरूका बीचमा कारणवश मिलन हुन्छ त्यस क्षणमा तपाईंको चित्तको प्रथम खण्ड “विज्ञान” ले तपाईंलाई इन्द्रियको विषय (रूप, शब्द, गन्ध आदि) सँग मिलन भएको जानकारी दिन्छ ।
२, जब इन्द्रिय र विषय मिलनको जानकारी प्राप्त हुन्छ तत्काल तपाईंको चित्तको दोस्रो खण्ड “संज्ञा” सक्रिय हुन पुग्छ । यस खण्डले तपाईंको पूर्वसंस्कारहरूका आधारमा यी विषय (रूप, शब्द, गन्ध आदि) लाई राम्रो–नराम्रो, प्रशंसा–गाली, मीठो– नमीठो आदि गरी दुई भागमा विभाजन गरिदिन्छ ।
३, जब यसरी विषयलाई चित्तको दोस्रो खण्ड ‘संज्ञा’ले प्रिय र अप्रिय दुई भागमा विभाजित गरिदिन्छ तत्काल तपाईंको चित्तको तेस्रो खण्ड “वेदना” सक्रिय हुन थाल्छ । यसैका कारण तपाईंमा सुखद अनुभूति (संवेदना) र दुःखद अनुभूति (संवेदना) उत्पन्न हुन थाल्छ ।
४. जब यसरी तपाईंको देह र चित्तका क्षेत्रमा सुखद र दुखद संवेदना उत्पन्न हुन्छन् तत्काल तपाईंको चित्तको चौथो खण्ड “संस्कार” सक्रिय हुन थाल्छ । त्यस क्षणमा तपाईंको चित्तको यस चौथो खण्डले पूर्वसंस्कारअनुरूप संवेदना सुखद भए रागपूर्ण (खुसी) र संवेदना दुखद भए द्वेषपूर्ण (दुःखी) प्रतिक्रिया दिन थाल्छ । यही क्षण तपाईंमा छिपेको धम्म (प्रकृति) को संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियमले चित्तको यो संवेदना भोग गर्ने स्वभाव (संस्कार) लाई सङ्ग्रह गरिदिन्छ । यसरी तपाईंको चित्तमा संस्कार (विषयबाट उत्पन्न सुखद र दुःखद संवेदना भोग गर्ने स्वभाव) उत्पन्न हुन्छन् ।