जब तपाईंमा विषयबाट उत्पन्न हुने संवेदनालाई भोग गर्ने चित्तसंस्कार उत्पन्न हुन्छ यतिबेला तपाईंमा सुखद संवेदना प्रदान गर्ने विषयलाई भोग गर्ने इच्छा स्वतः उत्पन्न हुन्छ र तपाईं सुखद संवेदना प्रदान गर्ने विषयप्रति स्वतः आकर्षित हुनुहुन्छ । जब तपाईं विषयबाट प्राप्त हुने संवेदना सुखद भएका कारण बारम्बार विषयलाई भोग गर्नुहुन्छ यस स्थितिमा प्रकृतिको संस्कार वा बीज विस्तारको शाश्वत नियमले तपाईंको चित्तको संवेदना भोगको संस्कारलाई झन्झन् विस्तार गरी शक्तिशाली बनाउँदै लगेर तपाईंको ‘मूल गुण’ मा परिणत गरिदिन्छ । यसैका कारण तपाईंमा जगत्का विषयहरूप्रतिको आशक्ति झन्झन् झाँगिन थाल्छ । यसपछि तपाईंमा सुखद संवेदना प्रदान गर्ने विषयप्रतिको आशक्ति झन्झन् विस्तारित हुन थाल्छ भने तपाईंमा दुःखद संवेदना उत्पन्न गर्ने विषयप्रतिको वितृष्णा वा अनाशक्ति झन्झन् झाँगिन थाल्छ ।
जब प्रकृतिको संस्कार वा बीज विस्तार नियमका कारण तपाईंका संस्कारहरू विस्तार भई तपाईंको मूल गुणमा परिणत हुन्छ यस्तो स्थितिमा तपाईंमा छिपेको प्रकृतिको संस्कार वा गुण प्रकटीकरणको शाश्वत नियम क्रियाशील हुन थाल्छ । यसका कारण तपाईंको गुण प्रकट हुन थाल्छ । फलतः यसैका कारण तपाईंमा गुणअनुरूप विचार (विचार कर्म) उत्पन्न हुन थाल्छ भने विचारअनुरूप वाणी कर्म र शारीरिक कर्म घटित हुन थाल्छ । यी सम्पूर्ण प्रक्रियाका कारण तपाईंका गुण झन्झन् शक्तिशाली हुँदै जान्छ ।
जब तपाईंका संस्कार विस्तार भई गुणमा परिणत हुन्छ यतिबेला तपाईंमा संस्कार वा गुण आकर्षणका शाश्वत नियम क्रियाशील हुन थाल्छ । यसैका कारण तपाईंमा जुन गुण प्रकटीकरण भइरहको छ त्यही गुण वा प्रकृतिअनुरूपकै विषय, व्यक्ति आदिप्रति आकर्षित हुन थाल्नुहुन्छ । साथै तपाईं जस्तै सजातीय गुण भएका विषय वा व्यक्ति तपार्इँप्रति आकर्षित हुन थाल्छन् । यी सम्पूर्ण प्रक्रियाका कारण पुनः तपाईंका मूल गुण झन्झन् विस्तार हुन थाल्छ ।
जब यसरी प्रकृतिका शाश्वत नियमहरूका संयोजनबाट तपाईंमा संस्कार उत्पत्ति र विस्तार हुन थाल्छ त्यस स्थितिमा तपाईंमा छिपेको जस्तो बीज प्राप्त भयो सोहीअनुरूप फल दिने प्रतित्यसमुत्पादको शाश्वत नियमले संस्कार बीज प्रदान गर्छ । जब धम्मका अन्य नियम क्रियाशीलताका कारण प्रतित्यसमुत्पादको नियमले संवेदना भोग गर्ने चित्तले संस्कार बीज प्राप्त गर्छ त्यस क्षणमा यस नियमले एक संस्कार बीजको अनेक परिणाम दिँदै गएर तपाईंमा दुःखचक्र, भवचक्र, लोकचक्र उत्पन्न गर्छ । प्रतित्यसमुत्पादको नियमले संस्कार बीज प्राप्त हुँदा मानिसमा उत्पन्न हुने अनुलोमचक्र, जुन चक्रका कारण मानिसमा दुःखचक्र, भवचक्र र लोकचक्र उत्पन्न हुन्छ भन्ने कुराको व्याख्या अगाडिको अध्यायमा गरिसकिएको छ । तथापि विपश्यना साधनाका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएकाले यसको व्याख्यालाई यहाँ पुनः राखिएको छ ।
अविज्जा– पच्चया सङखारा (अविद्याका कारण संस्कार) उत्पन्न हुन्छ ।
सङखारा– पच्चया विञ्ञाणं (संस्कारका कारण विज्ञान वा चित्तको आहार) उत्पन्न हुन्छ ।
विञ्ञाणं– पच्चया नाम रूपं (विज्ञानका कारण नामरूप वा पुनर्जन्म) उत्पन्न हुन्छ ।
नामरुपं– पच्चया सलायतनं (नामरूपका कारण छवटा इन्द्रिय) उत्पन्न हुन्छ ।
सलायतनं– पच्चया फस्सो (छवटा इन्द्रियका कारण विषय स्पर्श) उत्पन्न हुन्छ ।
फस्स– पच्चया वेदना (विषय स्पर्शका कारण वेदना वा संवेदना) उत्पन्न हुन्छ ।
वेदना– पच्चया तप्हा (वेदना वा संवेदनाका कारण तृष्णा) उत्पन्न हुन्छ ।
तप्हा– पच्चया उपादानं (तृष्णाका कारण उपादान वा आशक्ति) उत्पन्न हुन्छ ।
उपादानं– पच्चया भवो– (आशक्तिका कारण भव वा पुनर्जन्म) प्राप्त हुन्छ ।
भव– पच्चया जाति (भवका कारण जन्म) प्राप्त हुन्छ ।
जाति पच्चया जरा परण– शोक–परिदेक–दुःख–दोमन स्सूपायासा
सम्मवन्ति– (जन्मका कारण वृद्धावस्था, मृत्यु, शोक, चिन्ता, दुःख) प्राप्त हुन्छ ।