गीतामा भगवान कृष्णले मानिसलाई जड् (देह) र चेतन (आत्मा) को संयोजनबाट उत्पन्न (७–४,५) बताउँदै मानिसको दुई पक्षहरु मध्ये देहपक्ष विनाशी र चेतन पक्ष अविनाशी बताउनुभएको छ । यि दुई पक्षहरु मध्ये पनि मनुष्य रुपमा चेतन पक्ष मात्र भएकाले मृत्यूको अवस्थामा जड पक्ष छुटे पनि मूल आत्मा पक्ष सधैँ उपस्थित रहने भएकाले मानिस मूलरुप ‘अविनाशी’ मृत्यू नै अनुपस्थित अजर, अमर, शाश्वत तत्व हो भनी बताउनुभएको छ । अथवा – मृत्यू जस्तो त्यस्तो कुनै अवस्था जिवात्माको लागि ‘यथार्थतामा’ अनुपस्थित छ । भगवान भन्नुहुन्छः
न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः ।
न चैव न भविष्यामः सर्वे वयमतः परम् ।।२–१२।।
न त यस्तो हो कि कुनै कालमा म थिइन (अथवा) तिमी थिएनौ (अथवा) यी राजाहरु थिएनन् । फेरी यो पनि होइन कि भविष्यमा हामीहरु सम्पूर्ण रहँदैनौ ।
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।।२–१३।।
जसरी देहधारी (जीवात्मा) को यो देहमा बालकपन, यौवन र वृद्धावस्था प्राप्त हुन्छ, त्यसरी नै अन्य शरीरको पनि प्राप्ति हुन्छ । यो विषयमा धिर पुरुष मोहित हुँदैनन् ।
नासतो विद्यते भावो नाभावो विद्यते सतः ।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभिः ।।२–१६।।
हे अर्जुन ! असत् वस्तुको त सत्ता नै (उपस्थित) छैन । र सत् (वस्तु) को अभाव हुँदैन । यि दुबै स्थितिहरु तत्व ज्ञानी पुरुषहरुद्वारा देखिएका छन् ।
न जायते म्रियते वा कदाचिन् नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।२–२०।।
यो आत्मा कुनै कालमा न मर्छ, न जन्मिन्छ । न यो उत्पन्न भएर फेरी हुुनेवाला छ । किनभने यो अजन्मा, नित्य, शाश्वत र पुरातन छ । शरिरको नाश हुदा पनि यो नष्ट हुँदैन ।
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा– न्यन्यानि संयाति नवानि देही ।।२–२२।।
जसरी मनुष्य पुराना वस्त्र त्यागेर दोस्रो नयाँ वस्त्र ग्रहण गर्दछ । त्यस्तै जिवात्मा पुरानो शरीरलाई त्यागेर दोस्रो नयाँ शरिरलाई ग्रहण गर्दछ ।
अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः ।।२–२४।।
यो आत्मा अच्छेद्य (काट्न नसकिने) छ । अदाह्य (जलाउन नसकिने) छ । अक्लेध (गलाउन नसकिने) छ । अशोष्य (समाहित गर्न नसकिने) छ । तथा निसन्देह नित्य, सर्वव्यापक, अचल, स्थिर तथा सनातन छ ।
मानिसमा स्थूल देह समाप्तिको जुन भय छ, त्यो स्वस्वरुप ज्ञान प्राप्त नभएकोले उपस्थित रहेको बताउँदै जब मानिसले साधनाद्वारा स्वस्वरुप ज्ञान प्राप्त गर्दछ वा म आत्मा हुँ भन्ने ज्ञान प्राप्त गर्दछ । त्यो अवस्थामा मृत्यू नामक कुनै अवस्था नै उपस्थित नभएको अनुभूति स्वयंले वर्तमान जीवन अवस्थामा नै गर्न सक्ने बताउनुभएको छ ।