ईश्वर तत्व के हो ? ईश्वर तत्वमा के के छिपेको छ ? त्रिगुण के हो ? त्रिगुण तत्वमा के के छिपेको छ ? जगतका त्रिगुणी विषयहरु, मानिसमा उपस्थित त्रिगुण र शाश्वत ईश्वरीय नियमहरुको संयोजनबाट कसरी बन्धन (संस्कार, पाप, विकार, कर्मविज, कर्म बन्धन आदि) हरु उत्पन्न हुन्छन् ? अनि यि बन्धनहरुले कसरी मानिसको जीवनमा प्रतिक्षण द्वन्द्व, अस्थिरता, अशान्ति, दुःख आदि उत्पन्न गरेर प्रताडित गर्दछन् ? कसरी सत्य, मोक्ष, ईश्वरत्व आदि प्राप्ति नै सम्भावना उपस्थित रहेको मानिसको अमूल्य जीवनलाई तुच्छ सांसारिक लक्ष्यहरु तर्फ डोर्याएर नाश गर्दछन् ? कसरी स्वयंलाई छोपिदिएर ‘म’ भाव, देह भाव आदिलाई झन् झन् सघन बनाएर ‘मूढता’ उत्पन्न गरेर संसारमा बाँधिदिन्छन् ? अनि कसरी मृत्यू पश्चात पनि यि बन्धनहरुले मानिसको जीवन गतिलाई प्रभावित पार्दछन् आदि प्रश्नहरुको व्याख्या गरियो ।
यो अध्यायमा मूलतः साधना वा मोक्ष साधनाको बारेमा व्याख्या गरिन्छ । भगवान स्वयं मनुष्यहरुको वर्तमान जीवन र मृत्यू पश्चातका जीवनहरुको अन्तहीन दुःख देखेर साधू (साधक) हरुको संस्कार (वा पाप) हरुलाई नाश गर्ने सत्य मोक्ष साधना विधिहरुको व्याख्या गर्न पृथ्वीमा अवतरित हुनुभएको छ (४–८) । यो अध्यायमा भगवानद्वारा व्याख्या गरिएका मोक्ष साधनाका विभिन्न पक्षहरुको बारेमा प्रकाश पारिनेछ ।
सर्वप्रथम साधना वा मोक्ष साधना के हो ?
सरल अर्थमा साधनाको अर्थ हो – मनका त्रिगुणी संस्कारहरुलाई पूर्णरुपमा भष्म वा विनाश गरी ‘स्वस्वरुप’ लाई प्राप्त गर्ने आध्यात्मिक प्रक्रिया मोक्ष, आत्मा साक्षत्कार, आत्मज्ञान, आत्मप्राप्ति, परमात्मा साक्षात्कार, प्रभू प्राप्ति आदि यहि मन र चित्तका संस्कारहरु पूर्णरुपमा नष्ट भएको स्वस्वरुप अवस्था जुन अवस्थामा मानिसले स्वयंलाई ‘म’ विहीन मात्र तत्वको रुपमा बोध गर्दछ । त्यो स्थितिलाई दिइएका नामहरु हुन् । जब मोक्ष साधना भनिन्छ, यो साधनाले मूलभूत रुपमा बन्धन जनित यि तीन मूल समस्याहरुलाई समाधान गर्नुपर्दछ । वा यि तीन मूल समस्याहरुलाई समाधान गर्ने दिशामा कुनै न कुनै परिणाममा योगदान दिन सक्नुपर्दछ । स्मरण रहोस् – यि तीन मूल समस्याहरु एक आपसमा जोडिएका छन् । परिपूरक छन् ।
प्रथम – मन वा चित्तमा संग्रहित संस्कारहरुको नाश
मोक्ष साधनाले जन्मजन्मान्तर देखि मनमा संग्रहित त्रिगुणी संस्कारहरुलाई ‘पूर्ण’ रुपमा नाश गर्न सक्नु पर्दछ । वा त्रिगुणी विनाशको प्रक्रियामा योगदान गर्नुपर्दछ । यदि कुनै मोक्ष साधनाले त्रिगुणी संस्कारहरु नाश गर्ने दिशामा कुनै योगदान दिन सक्दैनन् । मोक्ष साधनाको नाममा कुनै विषय प्रति रागपूर्ण, द्वेषपूर्ण संस्कारहरु नै उत्पन्न गर्दछन् भने ति साधनाहरुलाई मोक्ष साधना भनिदैन ।
दोस्रो – मनमा समभाव वा समआयामको विकास
स्वयंमा छिपेका तत्वसँग एकाकार वा योग स्थिति प्राप्त भएको स्थितिमा मात्र तत्वमा छिपेका ‘विज उच्छेदको नियम’ को नियम क्रियाशीलताले गर्दा चित्तमा जरा गाडेका संस्कारहरु भष्म हुन प्रारम्भ गर्दछन् । तर यो स्थिति सहज छैन । परम तत्वमा योग स्थिति प्राप्त गर्नु धेरै टाढा स्पर्शसम्म गर्न पनि सजिलो छैन । जबसम्म मनले विषयबाट प्राप्त रागद्वेषपूर्ण भाव (अनुभूति) लाई भोग्दछ, त्यो क्षणसम्म योग स्थिति प्राप्त नै हुँदैन । यसैले मोक्ष साधनाले विषयबाट प्राप्त हुने रागपूर्ण, द्वेषपूर्ण अनुभूतिहरु प्रति मनमा ‘समभाव’ को विकास गर्न सक्नु पर्दछ । समआयामको विकास गर्न सक्नु पर्दछ । एक दीर्घ साधना प्रक्रियाद्वारा मनलाई विषयबाट उत्पन्न राग द्वेष अनुभूतिहरुलाई नभोग्ने वा ‘सम्यक’ समस्थिति सम्म पु¥याउन सक्नु पर्दछ । यदि कुनै मोक्ष साधनाले विषयबाट उत्पन्न हुने रागद्वेषपूर्ण अनुभूतिहरु प्रति मनमा समभावको विकास गर्न योगदान गर्दैन भने यस्तो साधनालाई मोक्ष साधना भनिदैन ।
तेस्रो – ‘म’ भाव नाश युक्त स्वस्वरुपको दर्शन
साधनाको अन्तिम लक्ष्य हो मोक्ष । जब मोक्ष प्राप्तिको लागि संस्कार क्षय र मनमा समभावको विकासको साधना प्रारम्भ हुन्छ, मोक्ष साधना प्रक्रियाहरुलाई त्यो गहिराइसम्म लैजान सक्नु पर्दछ, जहाँ चित्त ‘पूर्ण’ रुपमा शुद्ध हुन्छ । मन पूर्ण रुपमा समभावी बन्दछ । अनि साधक तत्वसँग एकीभाव वा स्थितप्रज्ञ स्थिति प्राप्त गर्दछ । वा स्वयंको यथार्थ स्वरुपको सत्य दर्शन गर्दछ । मोक्ष प्रामाणिक रुपमा नै अनुभूति गर्दछ ।



