विपश्यना साधनाले कसरी चित्तका संस्कार नाश गर्दछ र विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्छ भन्ने सम्बन्धमा भगवान् बुद्ध वा स्वयं सम्यक सम्बुद्धले गर्नुभएको व्याख्या माथि उल्लेख भइसकेको छ ।
जब विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्छ भन्ने सम्बन्धमा तपाईं स्पष्ट हुनुहुन्छ यस्तो स्थितिमा एउटा महत्वपूर्ण प्रश्न के उठ्न सक्छ भने विपश्यना साधनाले प्रदान गर्ने यस्तो निर्वाण प्रक्रियामा साधकले निर्वाणका केकस्तो अनुभूति वा चरणबाट गुज्रिनुपर्छ वा गुज्रेर निर्वाण प्राप्त गर्न सक्छ ? विपश्यना मात्र नभई संसारका सम्पूर्ण निर्वाण साधनासँग जोडिएको प्रश्न हो यो । विपश्यना साधनासँग जोडिएको यस प्रश्नलाई भगवान्ले महासतिपट्ठान सुत्तमा विस्तारपूर्वक व्याख्या गर्नुभएको छ । भगवान् बुद्धकाअनुसार जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ त्यतिबेला तपार्इँले साधनाको प्रथम विन्दुबाट अन्तिम विन्दुसम्म बाह्रवटा चरण र अनुभूतिबाट गुज्रिदैँ जानुपर्ने हुन्छ ।
स्मरणरहोस् विपश्यना साधनाको प्रारम्भिक कालमा साधकले विपश्यना साधनाका यी बाह्रवटा चरणका अनुभूतिलाई शतप्रतिशत अनुभूति गर्न नसके पनि वा एक चरणको अनुभूति अर्को चरणको अनुभूतिसँग मिसिए पनि जब तपार्इँ दीर्घकालसम्म विपश्यना साधना गर्नुहुन्छ तब स्पष्टरूपमा तपाईं भगवान्ले व्याख्या गर्नुभएका यी बाह्रवटा चरण र यी चरणका अनुभूतिप्रति स्पष्ट बन्नुहुन्छ र भगवान्का वचन सत्य हुन् भन्ने तथ्यप्रति विश्वस्त हुनुहुन्छ ।
महासतिपट्ठान सुत्तमा भगवान् बुद्धले व्याख्या गर्नुभएको विपश्यना साधनाका निर्वाणका बाह्र चरणहरु निम्न प्रकार छन् ।
इति अज्झत्तं वा काये कायानुपस्सी विहरति, बहिद्धा वा काये कायानुपस्सी विहरति । अज्झत्तबहिद्धा वा काये कायानुपस्सी विहरति । समुदयधम्मानुपस्सी वा कायस्ंिम विहरति, वयधम्मानुपस्सी वा कायस्मिं विहरति, समुदयवयधम्मानुपस्सी वा कायस्ंिम विहरति । ‘अत्थि कायो’ति वा पनस्स सति पच्चुपठ्ठिता होति । यावदेव ञाणमत्ताय, पटिस्सतिमत्ताय, अनिस्सितो च विहरति, न च किञ्चि लोके उपादियति । एवम्पि खो, भिक्खवे, भिक्खु काये कायानुपस्सी विहरति ।
अर्थात् उसले कायको भित्री भागमा कायानुपश्यी भएर विहार गर्छ, कायको बाहिरी भागमा कायानुपश्यी भएर विहार गर्छ, अथवा कायाको भित्री–बाहिरी भागहरू (सर्वत्र) कायानुपश्यी भएर विहार गर्छ, अथवा, कायमा समुदय धर्मानुपश्यी भएर विहार गर्छ, अथवा कायमा व्यय धर्मानुपस्श्यी भएर विहार गर्छ, अथवा कायमा समुदय व्यय धर्मानुपश्यी भएर विहार गर्छ । यसरी उसको स्मृति (यो यथार्थ) मा स्थापित हुन्छ कि यो काय हो । जबसम्म ज्ञान मात्र दर्शन बनिरहन्छ तबसम्म अनाश्रित भएर विहार गर्छ । उसले लोक (इन्द्रियको क्षेत्र) मा केही पनि ग्रहण गर्दैन । यस प्रकार केही भिक्षु कायमा कायानुपश्यी भएर विहार गर्छ ।
प्रथम चरण :– बहिद्धा वा काये कायानुपस्सी विहरती
अर्थात् विपश्यना साधनाको प्रथम चरणमा तपाईंले कायको बाहिरी क्षेत्रमा कायानुपश्यना साधना गर्नुहुन्छ अथवा तँपाईले कायको बाहिरी क्षेत्रमा सुखद र दुःखद संवेदनाका अनुभूति प्राप्त गर्नुहुन्छ ।
दोस्रो चरण :– अज्झतं वा काये कायानुपस्सी विहरति
अर्थात् विपश्यना साधनाको दोस्रो चरणमा तपाईंले कायको भित्री क्षेत्रमा कायानुपश्यना साधना गर्नुहुन्छ अथवा तपाईंले कायको भित्री क्षेत्रहरूमा सुखद र दुःखद संवेदनाका अनुभूति प्राप्त गर्नुहुन्छ ।
तेस्रो चरण :– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति
अर्थात् विपश्यना साधनाको तेस्रो चरणमा तपाईंले कायको भित्री–बाहिरी क्षेत्रमा कायानुपश्यना साधना गर्नुहुन्छ अथवा तपाईंले कायको भित्री–बाहिरी क्षेत्रमा सुखद र दुःखद संवेदनाका अनुभूति प्राप्त गर्नुहुन्छ ।
चौथो चरण :– समुदय धम्मानुपस्सी वा कायस्ंिम विहरति
अर्थात् विपश्यना साधनाको चौथो चरणमा तपाईंले संवेदनाको समुदय धर्ममा अनुपश्यना साधना गर्नुहुन्छ अथवा तपाईले संवेदनाका समुदय (उत्पत्ति) को अनुभूति प्राप्त गर्नुहुन्छ ।
पाँचौँ चरण :– वय धम्मानुपस्सी वा कायस्मिं विहरति
अर्थात् विपश्यना साधनाको पाँचौ चरणमा तपाईंले संवेदनाको व्यय धर्ममा अनुपश्यना साधना गर्नुहुन्छ अथवा तपाईंले संवेदना व्ययको अनुभूति प्राप्त गर्नुहुन्छ ।
छैठौँ चरण :– समुदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति
अर्थात् विपश्यना साधनाको छैठौँ चरणमा तपाईंले संवेदनाको समुदय व्यय धर्ममा अनुपश्यना साधना गर्नुहुन्छ अथवा तपाईंले संवेदनाहरूको समुदय र व्ययको अनुभूति प्राप्त गर्नुहुन्छ ।
सातौँ चरण :– सब्वकायपटि संवेदी
अर्थात् विपश्यना साधनाको सातौँ चरणमा तपाईले सम्पूर्ण शरीरमा संवेदनाका स्पष्ट अनुभूति प्राप्त गर्नुहुन्छ अथवा तपाईंले स्वयंको काय संवेदनाले पूर्ण हुँदै गएको अनुभूति प्राप्त गर्नुहुन्छ ।
आठौँ चरण :– पस्सम्भयं कायरसङ्खार
अर्थात् विपश्यना साधनाको आठौँ चरणमा तपाईंले आफ्नै कायको चञ्चल स्वभाव नाश भई प्रश्रब्धि वा शान्तिको अनुभूति प्राप्त गर्नुहुन्छ अथवा तपाईं घण्टौँसम्म सहजतापूर्वक साधना गर्न समर्थ रहनुहुन्छ ।
नवौँ चरण :– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति
अर्थात् विपश्यना साधनाको नवौँ चरणमा तपाईं चित्तको स्मृतिमा यो काय तरङ्गैतरङ्गको पुञ्ज हो भन्ने सत्य स्थापित हुन्छ ।
दसौँ चरण :– विपश्यना साधनाको दसौँ चरणमा तपाईंलाई तरङ्गैतरङ्गको पुञ्ज स्वरूप काय र चित्तको क्षेत्र अनित्य हो भन्ने प्रामाणिक अनुभूति प्राप्त हुन्छ अथवा तपाईंमा अनित्य भावको बोध पुष्ट हुन्छ ।
एघारौँ चरण :– विपश्यना साधनाको एघारौँ चरणमा तपाईंको मूल अज्ञान वा ‘म’ भाव नाश हुन थाल्छ अथवा तपाईंको मनमा अनात्म भाव पुष्ट हुन्छ ।
बाह्रौँ चरण :– विपश्यना साधनाको यस अन्तिम चरणमा तपाईंलाई निर्वाण वा इन्द्रियातीत क्षेत्रको प्रामाणिक अनुभूति प्राप्त हुन्छ अथवा तपाईंमा ‘म’ अनुपस्थित दर्शन (द्रष्टा होइन) शेष रहन्छ ।
यसरी विपश्यना साधनामा प्रवेश गरेका साधकले प्रामाणिकरूपमा निर्वाणका बाह्रवटा चरणलाई पार गर्दै निर्वाण प्राप्त गर्न सफल हुन्छ । विपश्यनाका निर्वाणाभीलाषी साधकलाई विपश्यना साधनाका यी बाह्रवटा चरणप्रति थप स्पष्ट जानकारी प्राप्त होस् भन्ने उद्देश्यले यी सम्पूर्ण चरणका व्याख्या परिशिष्टमा राखिएको छ । यदि तपाईं निर्वाण प्यासी साधक हुनुहुन्छ वा तपाईं वर्षौँदेखि विपश्यना साधनामा साधनारत हुनुहुन्छ भने पनि विपश्यना साधनाका यी बाह्रवटा चरणलाई सूक्ष्मतापूर्वक अध्ययन गर्नुहुन अनुरोध छ ।